सँगै उभिएका सहकर्मीले बढ्दै गएको भिडलाई देखाएर भने, “यो जमात अत्यन्तै स्वार्थी मानिसहरूको जमात हो। यिनीहरूले बुझून, सिकून, जीवन सपारून भनेर कति मिहेनत गरियो, घाँटी सुकाइयो, सकेजति गरियो। ऐले हेर्नुस् न, देखेर नि नदेखेझैँ गर्छन् मतलबीहरू”।

सन्दर्भ थियो दीक्षान्त समारोह सुरू हुनुअघिको चहलपहल। मङ्‍सिर अन्तिमको कलिलो चिसो विहानी घाममा अधिकांश परिचित स्नातकहरू मख्ख, गमक्‍क अनुहारमा आफ्‍ना फिँजिएका गाउनका फेरले हामीलाई छुँदै यताउता हिँडिरहेका थिए। मानौँ सबैको ध्यान सबैमा थियो। वा कसैलाई कसैको मतलब थिएन।

म पनि त्यो दिनको विशेष पोशाकमा सजिएर केही साथीहरूको समूहमा उभिएको थिएँ, थोरै मख्ख धेरै खुसी।

सँगै उभिएका अर्का साथीले फरक मत राखे, “सबै उस्तै हुँदैनन्, वर्षौंपछि सम्झिएर भेट गर्न, सम्मान गर्न आउनेहरू पनि त हुन्छन् नि। यो पनि बुझौँ कि आजकलको गुरू-चेला सम्बन्ध पनि लेनदेनको सम्बन्ध जस्तै भइसकेको छ, अत्यन्त औपचारिक। समयले मागे अनुसार। अझ भनौँ कथाले मागे अनुसार”।

“हो लगभग त्यस्तै,” मैले आफ्नो भनाइ राखेँ, “बिल्कुल लेनदेन, औपचारिक। शिक्षकको जीवनमा खातका खात नयाँ मानिसहरू आउँछन् अनि पुराना जान्छन्। आएका मध्ये केही प्रतिशत सम्झनामा रहन्छन् अनि केहीले सम्झिन्छन्। सबै सम्बन्धहरू सम्हाल्न र तिनलाई न्याय दिन शायद हामी पनि नसकुँला। यसरी पनि हेरौँ न, उसबेला तपाईँको वरपर रहने, तपाईँलाई गाँजेर वा तपाईँबाट भागेर दु:ख दिने त्यो ब्याकुल र काँतर प्राणी अहिले हुर्किएको छ, स्वाधीन भएको छ। तपाईँले पनि भन्नुभएको थियो होला – आँटी बन्, गरीखाने बन्, अहिलेकै तालले हो भने घरको न घाटको इन्जिनियर बन्लास्। ऊ त्यही बनेको छ, आँटी, ज्ञानी र गरीखाने इन्जिनियर। यसमा अलिकति भए पनि तपाईँको पनि देन छ भन्नेमा शङ्‍का छैन। अब लेनदेन सकेपछिको सम्बन्धलाई कसरी सम्हाल्ने भन्ने उसले सिकेकै छैन भनेर चित्त बुझाऔँ न”।

यो गन्थन गरिरहे लम्बिन्थ्यो होला, लम्बियो पनि होला। मलाई त्यो दिनको स्नातकको रूपमा मात्र गफिएर समय काट्न अधिकार थिएन। म त शिक्षक नै थिएँ, दीक्षान्त गाउनले केही अंशमात्र छोपिएको। आफ्नो जिम्मामा केही थियो। साथमा थिए कार्यक्रमको वर्णन गर्न तयार बसेका भविष्यमा हुनेवाला वैज्ञानिक र इन्जिनियरहरू।

केही समयपछि म डिग्री थापेर आफ्नो नाम लेखेको कुर्सीमा हलचल नगरी बसेको थिएँ। दायाँबायाँबाट विभिन्न विधा र तहका स्नातकहरू अगाडि बढिरहेका थिए। म लाइन, भिड, बूढा, तन्नेरी, क्यामेरा, लाउडस्पिकर, हाइहुइ र आधा दर्जन अरू फ्याक्टरहरूले गाँजिएको थिएँ। उठेर हिडौँ त सबैभन्दा अगाडि बसेको उपल्लो तहको स्नातक। बसौँ त भिड र धुलोले निल्ला कि जस्तो। यत्तिकैमा दायाँपट्टिको लाइनबाट कसैले कोट्यायो। म फर्केँ। एउटा हँसिलो अनुहारले हात लम्काएर भन्यो “वधाइ छ”। हात मिलाउँदै धन्यवाद दिएँ। फेरि अर्कोले त्यसै गर्‍यो। मैले पनि हार्दिकताका साथ धन्यवाद साथै वधाइ दिएँ।

मैले पहिलो व्यक्तिलाई केहीबेर पछिमात्र चिनेँ। लाममा पर पुगेर पनि ऊ मलाई हेरिरहेको थियो। दोश्रोलाई त देख्‍नेबित्तिकै चिनेँ। ती दुबै थिए कम्तीमा दसवर्ष अघि एक सेमेष्‍टर पढाएका पुराना विद्यार्थीहरू।

ती दुईबाहेक डिग्री थाप्न मञ्‍चमा पुगेका दर्जनौँ अनुहारहरूले मतिर हेरेर मुस्काउन छुटाएका थिएनन्। मेरो नाम पढिँदा र म मञ्‍चमा चढ्दा केहीले पछाडिबाट हुइया गर्न पनि भ्याएका थिए।

आफ्नो खुसीको त्यो क्षणमा केही समय पढाएको शिक्षकको खुसी पनि सम्झिन भ्याउनेहरू आम स्नातकहरूभन्दा फरक नै थिए जस्तो लाग्छ।

हो नि, सबैले कहाँ माया मार्छन्, वा वेवास्ता गर्छन र।

नचिने नदेखेको भए  नि, नहाँसे  नबोलेकै भए नि के नै फरक पर्थ्यो र!

मैले थोरै अघि सहकर्मीहरूबिच भएको कुराकानी भने सम्झिरहेँ।  अनि सम्झिरहेँ केही वर्षअघि भक्तपुरको सूर्यविनायकमा जम्काभेट भएको पत्रिका हकर, सन्तोष

Print Friendly, PDF & Email

By hkafle

I am a University teacher, with passion for literature and music.

Leave a Reply

Your email address will not be published.