प्रिय रघुजी,

तपाईँले सम्पूर्ण देशवासीका नाममा जारी गर्नु भएको पत्रमा म पनि समेटिएको महसुस गरेर जवाफ होइन तपाईँको पत्रको पूरकको रूपमा यो पत्र पठाएको छु।  

अरू बेला पनि तपाईँ लगायत अन्य साथीभाइले नघच्घच्याएसम्म एक हरफ लेख्न काँडा उम्रिने मान्छे म। यो बन्दाबन्दीमा ‘हात जहाँ पायो त्यहीँ नलग्नू, पटक पटक धोइ राख्नू’ भनेको सुन्दा–सुन्दा होला, अत्यन्त जरूरी कामबाहेक हात पनि थन्क्याएर बसेको थिएँ। तर कुनै न कुनै बेला तपाईँको झटारो आइपुग्छ भन्ने त थियो नै। फोनको घण्टी बज्यो, बजेरै छोड्यो। अरू बेला त दशचोटि नचिमोटी एउटा लेखोट तयार पार्न सक्ने मानिस यो लकडाउनमा पूरै पेनडाउन गरेर बसेको छ भन्ने जानेरै फोन गर्नु भएको थियो होला। तर न त तपाईँको फोन अघि, न पछि, यो दिमागमा लेख्न र पढ्न दिन लायक केही कुरा फुरेको भए त मरिजाऊँ। फोन पाएपछि एकपल्ट सोचेँ पनि, ‘लकडाउनमा चूपचाप नसुतेर कति ल्याङ् गरिराख्या हो बूढा’ भनेर निहुँ खोजौँ। तर लाग्यो,ओहो, यस्तो बेला लेखक-संचारकर्मीहरू नै सुते भने मजस्ता मौसमी लण्ठूहरू त कहिल्यै उठ्दैनन्। अनि अरू केही गर्न नसके पनि बाँचुञ्जेल साथीभाइको मन भाँच्नु हुँदैन नि भनेर लेख्न बसेँ।   

अस्ति एकजना विद्वान् मित्रले दर्शन छाँटिहाले फोन मै, “के गर्ने महोदय, यस्तो लाग्न थाल्यो कि, जिन्दगी लकडाउनमा शुरू भयो, लकडाउनमै अन्त्य हुँदैछ“। ‘कसैलाई घरमा आउन नदेऊ, कसैकामा नजाऊ’ भनेर उपल्लो उर्दी आएको बेलामा मेरो लागि त घुमाई फिराई ‘फोन नउठाऊ, फोन नगर’ भनेजस्तो भा’को छ। मान्छे आए भने कोरोना भाइरसको डर, फोन आयो भने करूणा भाइरसको। मानिसहरू कि त आफ्नै गनगन सुनाउँछन्, कि त नेता-मन्त्रीको सत्तोसराप। 

तर म कोरोनाको बारेमा बोल्दिनँ। नेताको बारेमा पनि बोल्दिनँ। म न त भाइरस विशेषज्ञ,न कोरोना वैज्ञानिक, न राजनीतिक विश्लेषक, न विपक्षी दलको कार्यकर्ता। अहिलेलाई आफ्नै फुर्सदको विशेषज्ञ भएको छु, त्यसैमा उब्जेका गन्थनहरू लेख्छु। मलाई कसैसँग गुनासो गर्नु पनि छैन, उपदेश झाड्नु पनि छैन। मजस्ता चालीसेले गाँजेका मानिसहरू खासै अर्ती उपदेशमा उत्रिएको देख्तिनँ आजकल। विचराहरूलाई आफ्नै धोती सम्हाल्न धौ धौ छ। आफूभन्दा तल र माथिका पुस्ता सम्हाल्न हम्मे हम्मे छ, कताबाट अरूलाई सम्हाल्ने समय मिल्नु र! 

जति बेला ‘चालीस कटेसि रमाउँला’ भन्ने गीत खूब चल्दैथियो, मलाई चालीसेले लपेट्न शुरू गरेको थियो। सोच्थेँ, यो गीतले चालीस नपुगेकालाई ढाडस दिनुभन्दा बढी मलाई जिस्क्याइरहेको छ। बहत्तर सालको भुइँचालोपछि त झन् धेरै समय मलाई लागेको थियो, म पचास पनि काट्दिनँ। कम से कम मेरो ठूलो छोराको इन्जिनियर बन्ने ईच्छामात्र पूरा गर्दिन पाए मेरो छोटो जीवन धन्य हुनेथियो। यही सोच्दै छट्पटाएको थिएँ। 

त्यही समय आमाको फोक्सोको समस्यामा पटक पटक हस्पिटलतिरको दौड्धूप बाबजुद आमा बित्दा लाग्यो मृत्यु सर्वथा अस्वीकार्य परिस्थिति नै होइन। धान्न नसक्ने जीवन त अर्थहीन हुँदो रहेछ है। आमाको मुहारमा अन्तिम श्वास लिएपछिको शान्ति र आराम देखिसक्दा मलाई एक प्रकारको ज्ञान प्राप्त भयो। ‘साला, मृत्युपछिको आफ्नो अवस्था केही सेकेण्डमात्र भए पनि महसुस गर्न सक्ने शक्ति थपेर जीवन बनाइ दिएको भए मर्छु भन्ने डर कम हुन्थ्यो होला मानिसलाई।’ मानिसले धेरै कुरा लडेर लिन सक्ला, त्यो अनुभव लिनचाहिँ सक्दैन। 

अहिले पनि धेरै मानिसहरू जीवन बचाउने बारेमा सोच्दैछन्। म त आइपरे मृत्युसँग लड्ने मनोवल कसरी जुटाउने, वा यो अकाट्य सत्यलाई कसरी वरण गर्ने भन्ने विषयमा पनि चिन्तन गर्नु पर्छ भन्दैछु। हो, यस बारेमा पनि बोलौँ न, लेखौँ न। चारैतिर कालरूपी अँध्यारो मडराएको भान गराउने होहल्ला छ। मचाहिँ बाँचेका मानिसहरूको खुसीबाट उज्यालो महसुस गर्ने प्रयास पनि गर्दैछु। प्रसिद्ध भारतीय कलाकार राजेश खन्नाको आनंद भन्ने सिनेमाको एक लाइन जीवन बुझ्न मेरा लागि काफी रहेको छः “बाबू मुशाय,जिन्दगी बडी होनी चाहिए, लंबी नहीं”। अरूलाई काम नलागेको तर कष्टै कष्टले भरिएको लामो जीवनको लोभमा डराएर पलपल जिउनुको पनि कुनै अर्थ छ र?

हुन त यो सबै लकडाउनमा खाली बस्दाको तर्कना नै हो। धेरैले मजस्तै सोचिरहेका होलान्। हिजोआज अलि अलि पढे लेखेको, सामाजिक सञ्जालमा सक्रीय, संचारमाध्यमबाट प्रक्षेपित समाचारहरूलाई निरन्तर हेरिरहने, सुनिरहने मान्छेको दिमागमा कति कुरा खेलिराखेको होला! सबैले लेख्न वा बोल्न थालेमा कोरोनाभन्दा ठूलो महाव्याधी मानिसहरूको विचारले ल्याउने पक्का छ। हामी आफूलाई भाग्यमानी ठानौँ, सामाजिक सञ्जालमा पोखिने एकदुई हरफ बाहेक हरेक मान्छे लेख्न र बोल्न बसेको छैन र लेख्‍ने हैसियत पनि राख्दैन। यसबेला बोल्नु नपर्नेले नबोले पुग्छ, लेख्‍नु नपर्नेले नलेखे। विचारको संक्रमण भोक र रोगको भन्दा खतरनाक हुन्छ। आम मानिसको मन भाँडियो भने सम्हाल्न सक्ने ज्ञानी गुरू मैदानमा उतार्न गाह्रो छ अहिले।

हिजोआज धेरै साथीभाइहरू पुराना फोटा फेसबुकमा टाँसेर टिप्पणी बटुल्न ब्यस्त छन्। समय कटाउने ठिकै तरिका होला यो। के गर्ने, भविष्य सोचेर बसौँ भन्दा कोभिडले भविष्यै अनिश्चित बनाएको छ। मलाई पनि यो विचारले नतानेको त होइन। तर पुराना एल्बम खोजेर, फोटो छानेर, फोटोको फोटो खिचेर फेसबुकसम्म पुग्नु थोरै काम हो र?बरू ज्यानमा थोरै जोश् भरियोस् भनेर उहिले नै सिकेका जोशिला गीतहरू गाउँदै बसेको छु।  तीसवर्ष अघि नै गाउन छोडेका गीतहरू भटाभट सम्झिँदा लाग्यो, हैट खुट्टा तन्काउने बेला त कहाँ भा’को रैछ र! म अहिले जोड जोडले कोठामा एक्लै गाउँदै बस्या छु, यस्ता गीतहरूः

मर्नैपर्छ एकदिन सबैले, हामी पनि मर्छौँ, 

हामी मर्दा जनताको शिर उठाई मर्छौं”

“रोक्ने को हो दूरदर्शी विचारका धारा

को हो नयाँ नेपालको बोक्ने अभिभारा”

“फाँशीमा गाँठो सुर्केका पुर्खाका हामी चेला हौँ

बाँझो उझिन्ने वर्खाका हातका हामी ठेला हौँ

पुर्खाको साटो फेर्नलाई आजै बोल नेपाली ‘जिन्दावाद!’”

यस्तो बेला मजस्ता उपबुज्रुगहरूले थुतुनो नै चलाएर बस्ने त रै’छ नि। केही दिन अघिसम्म सोचिरहेको थिएँ थुतुनो चलाएर भाइरस भगाउन सक्ने भए अहिले मजस्ता मान्छे कति मैदानमा हुन्थे होलान्। यस्तो सर्वत्र संकट परेको बेला सबैभन्दा नाकाम नै मजस्तो मान्छेमात्र हो रै’छ भनेर दिक्दार मान्दा मान्दै माथिबाट निर्देशन आयोः “अनलाइन कक्षा शुरू गर”! फलस्वरूप, सूचनाप्रविधि मर्त्यलोकका सम्पूर्ण कष्टहरूबाट मुक्ति दिने संजीवनी हो भन्ने अमिट विश्वास बोकेका नयाँ जोशका युवाहरू वरपर आउँछन् र साहित्य तथा संचारकलाको आस्वादनमा सरीक हुन्छन्। यसले केही राहत मिलेको छ।

तर अरूबेला मिलिक्क बित्ने समय शिलशिलेबर काम नहुँदा कति ढिलो बितेको होला। आजकल घाम झुल्केर अस्ताउँदा एक जुग पार गरेजस्तो हुन्छ। 

मनमा आउँछ, सजिलो समयमा मात्र काम लाग्ने कस्तो विद्या पढिएछ। तर गर्ने के! डाक्टर बन्ने गच्छे थिएन। पुलिस र आर्मीमा जाने लक्ष्य थिएन। राजनीति अलिकतिमात्र बुझियो,गरिएन। नेता, जनप्रतिनिधी वा मन्त्री बनिएन। न त निजामती सेवाले तान्यो,न व्यापारले। यीमध्ये कोही न कोही भएको भएमात्र अहिलेको जस्तो समयमा काम लागिने रहेछ। मैले गर्न नसक्ने काम गर्न सक्नेहरूमात्र अहिले मैदानमा छन्। मजस्ताहरूको भागमा भने केवल अर्ती, उपदेश, गुनासो, गाली, बकबक अनि गुप्तबास छ। दिमाग अलिक गहन विषयहरूमा समेत चल्ने भएको भए आफूलाई दार्शनिक जनाउने बेला पनि यही हुन्थ्यो होला। एकहप्ता नकाटेको फुली सक्न लागेको दाह्री लिएर ऐनाको अगाडि अचानक उभिँदामात्र लाग्छ, बिना काम थन्किएपछि मान्छे दार्शनिक नबने पनि दार्शनिकजस्तो चाहिँ देखिने रहेछ।  

घरीघरी टेलिभिजन खोल्दा भएभरका संवेगहरू सक्रिय हुन पाउने गरी रिमोट थिच्ने गरेको छु। शक्ति राष्ट्रका राजनेता, ठुटेनेता, व्यापारका प्रणेतादेखि अभिनेतासम्म कोरोनाको वरिपरि घुमेका छन्। चीनको चमेरो, त्यही चमेराको आलोचनामा तल्लीन अर्को महादेशवासी राष्ट्रप्रमुख, अन्तर्राष्ट्रिय उडानबाट फर्केको स्वदेशी, घण्टौँ हिँडेर सीमानासम्म आइपुगेको गाउँले परदेशी, भिड जम्मा गरेर प्रवचन दिने धर्मगुरू, भोकको डरले लकडाउन उलंघन गर्ने मजदुरदेखि लकडाउनको बारेमा राजनीति नगर्न चेतावनी दिने राजनीतिज्ञ र पक्ष–प्रतिपक्षहरूले सिर्जेको कोलाहल पनि कोरोना भाइरसभन्दा कम त्रासद छैन अहिले। 

विदेशी संचार माध्यमहरूले शक्तिराष्ट्रकै सरकारहरू निरीह भएको चित्रण गरिरहँदा कताकता लागिरहेको छ, हिजोआज त सरकार नै नदेखेका हाम्रा गाउँघरहरूको सान्दर्भिकता पो बढी रहेछ।

यो देशमा बसेर उँभो लागिन्न भनेर विदेश पसेकाहरू अरू बेलाको संकटमा जस्तो सामाजिक सञ्जालमा अर्ती–उपदेशमा उत्रेका छैनन्। सपनाको संसारमै ज्यान जोगाउन हम्मेहम्मे परेको छ उनीहरूलाई। गाउँ बँझ्याएर सहर पसेकाहरू केही गाउँ फर्केका छन् वा गाउँ फर्किन पाए हुन्थ्यो भनेर सहरमै गनगनाइ रहेका छन्। त्यही गनगनलाई ‘खुच्चिङ् पर्‍यो’ भन्नेहरूको संख्या पनि उत्तिकै छ। त्यो सञ्जालको संसारमा एकछिन अल्झियो भने त नोभेल कोरोनाभन्दा ठूलो भाइरसले गाँज्लाजस्तो लाग्छ। 

यसैबीच कोरोना छल्न गाउँ छिरेको मेरो कान्छो छोराले फोनमा गुनासो गर्‍यो, “बाबा, यहाँ त गर्ने कुरा केही छैन। कस्तो बोर लागेको छ।” विचरा, वाईफाईयुक्त मोबाइल र ल्यापटपमा टाँसिइरहने बच्चो अहिले गाउँ पुग्दा जुकेटोको मारमा रन्थनिएर भुइँमा पछारिएको बर्खे जुकोजस्तै भएको छ। “माछा वा फट्याङ्ग्रो मारेर एउटा कमिलालाई सुँघ्न दे, अनि त्यो कमिलाले अरू धेरैलाई बोलाएर आफ्नो शिकार लिएर गएको हेर्। होइन भने बाँस काट्न, चिर्न, भाटो तास्न,डोरी बाट्न सिकेर, धनु–वाँण बनाएर शिकार खेल्न जा। मोबाइल, ल्यापटप र वाइफाइ नहुने बेला बच्चा यसरी नै रमाइलो गर्थे, लम्फू। यस्तो गरेपछि हरेक दिन एउटा निबन्ध लेख्।“ म दिनै पिच्छे उसलाई यस्तै उपाय बताइरहेको छु। 

यसपाली हातको पनि ऐतिहासिक चर्चा भयो। हुँदा हुँदै दक्षिण कोरियाले त महामारीको बेला देब्रे हातको प्रयोगबारे नियम नै बनाएर तालिम पनि दियो भन्ने पढ्न पाइयो। मलाई यही बेला देब्रे हातप्रति मानिसले गरेको भेदभावको बारेमा निबन्ध वा संवाद लेख्न मन लाग्यो। तर केही लेख्न पुग्ने गरी बिचार नै फुरेन। यतिसम्म महसुस भयो कि कर्मशील र मिहेनती मानिसहरूले मात्र दाहिने र देब्रेलाई बराबर चलाउँदा रहेछन्। अथवा किसान, मजदुर हली, हजाम, दर्जी, सुनार, मिझार, डकर्मी, सिकर्मी, वाद्यवादक आदिका लागि देब्रे हात पनि अपरिहार्य रहेछ। मजस्ताहरूका लागि त पुच्छर सफा गर्ने, दाहिने बाहुलाको टाँक लगाउने, दाहिने हातको पछाडि कन्याउनेजस्ता आधा दर्जन कामभन्दा बाहेक देब्रे हात सजावटको सामानजस्तो मात्र पो रहेछ। दाहिनेले चाहिँ महानतम् कामहरू गरेको पुरूषार्थको जसमात्र होइन, देब्रे हातलाई पछि पार्ने वा चोट पुर्‍याउने अलावा अन्य बाहिरी घोर वदमाशीहरूको दोष पनि लिँदो रहेछ। अनि संकटको बेलामा मान्छेको हालत सहज बेलाको देब्रे हातको जस्तो हुँदो रहेछ। 

यो दुनियाँमा हामीले सिक्नुपर्ने धेरै कुरा बाँकी रहेछन्। हामीलाई ठिक लाउन केही न केही घटना घट्नै परेको थियो, घट्यो, घट्दैछ।  मृत्यू अपरिहार्य छ भनेर मृत्युको खासै वास्ता नगर्ने म आफैँ मृत्युबाट भाग्यो भने बाँचिन्छ भन्ने कुरा सिक्दैछु। हो रहेछ, कालसँग जोगिन असम्भव भए पनि अकालसँग केही हदसम्म सम्भव रहेछ। अरू बेला उकुशमुकुश लाग्ने मेरो घर र बौद्धिक प्रगतिको वाधक लागेको परिवार अहिले वरदान सावित भएका छन्। समस्या बानीमा रहेछ, सोचमा रहेछ। हुनसक्छ, अबका दिनमा मानिसबाट सिर्जित अर्को विपत्तिको कवचको रूपमा यही अनुभूतिले केही हदसम्म काम गर्नेछ।

रघुजी,

मेरो फुर्सदको दिनचर्या जस्तो छ त्यस्तै अन्धाधुन्ध गन्थन लेखेर झारो टारेको छु। दुनियाँलाई छोपेको यो विपत्तीका कारण विधि, विधाता, विधायक र विज्ञान समेतबाट मानिसको विश्‍वास उठेको बेला म नाथेको गन्थनले दुई–चार फुर्सदिला मानिसहरूको केही मिनेटसम्म कट्ला। भाग्यको बारेमा थाहा छैन, तर अहिलेको कर्म र अनुशासनले अकाल गमनको वाध्यता त पक्का टर्ला। म त कल्पना गर्दैछु, यो विपद् टरेपछिको दुनियाँले थोरै समयका लागिमात्र भएपनि आँधीपछिको खुलापन र स्वच्छता देख्नेछ । बाँचेका असल मानिसहरूले त्यो स्वच्छतालाई जोगाउन कोशिश गर्नेछन्। त्यसमा हामी पनि पर्‍यौ भने सहयात्रा जारी रहनेछ।

अहिलेका लागि आनंद  सिनेमाको यो वाक्य दोहोर्‍याएर बीट मार्न चाहन्छु, “बाबू मुशाय, जिन्दगी बडी होनी चाहिए, लंबी नहीं”। 

धन्यवाद !

[साभारः परिसम्बाद डट कम]

Print Friendly, PDF & Email

By hkafle

I am a University teacher, with passion for literature and music.

Leave a Reply

Your email address will not be published.