प्रिय जनप्रतिनिधि मित्र,

उहिले गाउँमा सँगसँगै हुर्किँदा तँ-तँ को साइनो भएको कारण अहिले अधबैँसे हुँदा कम्तीमा ‘तिमी’ भनेर सम्बोधन गर्ने हक मिल्छ होला । यही सानो अनौपचारिकताका साथ कुराको पोको खोलौँ है । मसँग भेट हुँदा पनि मलाई कति न ठूलो मानिस जस्तो ठानिरहनु पर्दैन । सकेसम्म पुरानै आत्मीयतामा रहौँ ।

म तिमीलाई यो पत्र लेख्ने हक राख्छु । मैले तिमीलाई भोट दिएको छु, तिम्रो हरेक उम्मेद्वारीमा दिएको छु।  मेरो परिवार सहितको मतले तिमीले चुनाब जितेका हौ । हतारमा भएकोले न म तिम्रो घरदैलो कार्यक्रममा सरिक हुन पाएँ न विजय जुलुशमा । तर तिमी नै उम्मेद्वार छौ भन्ने खुसीमा मतदान गरेँ, ता कि एक प्रतिबद्ध, प्रगतिशील मित्र गाउँको विकासमा संलग्न हुन पाओस्।

तिमीलाई थाहै छ, मैले किशोरावस्थाको उत्तरार्धमा गाउ छोडेँ आफ्नो पढाइका लागि ।  उच्चशिक्षा र अनुभवको एक तहको परिपक्वता महसुस गरिसक्दा लाग्दैछ म कुनै न कुनै दिन कुनै न कुनै रूपले जन्मथलो फर्किनै पर्छ। 

गाउँतिर मन बिस्तारै तानिएको छ ।  नतानियोस् पनि कसरी !  शरीरका विभिन्न ठाउँमा गाउँको चिनोको रूपमा अनगिन्ती खतहरू बोकेको छु ।  चोकेले घोचेका र ठेस लागेर नङ्ग फेरिएका पैतालाहरू, हँसियाले काटेर बांगिएका देब्रे हातका औँलाहरू, ढिकीको मुस्लीले किचेर थेप्चिएका दाहिने औँलाहरू, यी कुनैले मेरो बाल्यकालको परिवेश बिर्सन दिने छैनन् ।  रोटे, ब्यांगे, सातचोटे, खजुरोले टोकेको र अरिंगाल वा खागोले लखेटेका अनि अजिंगरले तर्साएका क्षणहरू विस्मृतिमा गएका छैनन् ।  घण्टौँको तिर्खामा फोहोरी दहको पानी पिएको, भोक लाग्दा मुर्छा पर्ने गरी कोक्याउने कन्दमुल वा उलिक-उलिक आउने गरी जंगली फल खाएको, बर्खाको बाढीमा होमिएर खोलानाला पार गरेको,  खेतबारीमा असिनपसिन भएर खनजोत गरेको, गाईबाख्रा टाढा टाढा लगेर चराएको, बडाको गाली खाएको, छुल्याहरूको अपमान भोगेको, उमेरजन्य प्रतिश्पर्धा अनि द्वन्द्व  गरेको  त्यही ठाउँमा हो । अधुरा सपना र प्रेमभावहरूमा रमाएको, अनि जति दुःख पाए पनि हरेक चोटि फर्केर छोड्दा छोडनै मन नलागेको त्यही गाउँ हो । जीवनमा सबैभन्दा बढी भोक र शोक महसुस गरेको, सबैभन्दा बढी रोएको र हाँसेको, कराएको र डराएको त्यहाँ नै हो । तीस वर्षभन्दा बढी त्यहाँबाट पर बसिसक्दा पनि अझै त्यही ठाउँको मात्र हुँ जस्तो लाग्दोरहेछ ।

अहिले त्यहाँ जाँदा नयाँ पुस्ताकाले चिन्दा पनि चिन्दैनन्  । तर माटोको त पुस्ता हुँदैन रहेछ ।  ढुंगाको पनि पुस्ता बनिसकेको रहेनछ । अझ त्यो हाम्रो घर छेउको खोलाको त झन्  नहुने नै रहेछ ।  बाटोघाटोको चोला फेरियो होला, घरहरूको फेरियो होला ।  तर आफूले महसुस गर्ने अपनत्व उस्तै लाग्दो रहेछ । अहिले पनि त्यहाँ पुग्दा भोका पेटहरूमा हामीले मिलेर गाएका सुरिला जनवादी गीतहरू कानमा गुञ्जिञ्छन्, बरन्डामा बसेर हजुरबाले गाएका श्लोकहरू दोहोरिन्छन् ।  यति धेरै सम्झनाहरू र यति धेरै बिम्बहरू मनमा फर्किन्छन् कि  त्यो ठाउँ छोडेपछि लिएका सबै अनुभवहरू विस्मृतिमा  धकेलिन्छन्। 

अनगिन्ती दु:खहरूबाट गुज्रेर गाउँ छोडेपछि शहरका अवसरहरूबाट पाएको नयाँपनको मातमा कुनै बखत लागेको थियो, अब बिर्सेर पनि त्यो गाउँ फर्किनु नपरोस् ।  तर अहिले आफूले खोजेको सफलता लगमग हाँसिल गरिसक्दा लाग्दैछ, मेरो धरातल त्यही दुःख र समस्याहरूले जकडिएको बाल्यकाल र किशोरावस्था नै रहेछ । त्यो दुःखले मनमा ठोसिदिएको एकाग्रताले नै जीवनमा विचलन आउन नदिएको रहेछ । अब धरातलतिर फेरि मन तानिएको छ ।  

म सम्झिन्छु, त्यस समय त्यही ठाउँले मेरो परिवारलाई होच्याएको थियो, अत्यन्तै निरीह बनाएको थियो ।  त्यहाँ अभाव थियो, अन्याय थियो र निमुखालाई सिध्याउने फोहोरी राजनीति थियो । त्यो इतिहास कोट्याएर म तिमीलाई समेत खल्लो महसुस गराउन चाहन्नँ ।  एक जुझारू परिवारको सदस्यको रूपमा, खासगरी हितैषीहरूको मप्रतिको विश्वासको सम्मानमा, आफूले प्रगति गरेको प्रमाण त्यो ठाउँलाई देखाउने एक प्रकारको इख धेरै वर्षसम्म बोकेर हिडेँ ।  तर अहिले त्यस्तो इख पटक्कै छैन मभित्र ।  केवल ठाउँको माया उम्लिएर आएको छ ।  कुनै तरिकाले त्यस ठाउँलाइ काम लाग्ने बनेर मेरो परिवारको निरीहताको मिथक सम्झेर बसेका आफन्त र छिमेकीहरूको पुरानो भ्रमसम्म टुटाउने इच्छा छ ।   

यी नितान्त व्यक्तिगत तथ्यहरू म यसकारण लेखिरहेको छु कि तिमीले पनि यस्तै-यस्तै जीवन भोगेर आएका हौ र त्यो ठाउँप्रतिको मेरो लगाव आफ्नै अनुभूतिबाट बुझ्नेछौ ।  जनप्रतिनिधिको रूपमा पहिले गाउँ छोडेका तर अहिले फर्किन चाहनेहरूको मनस्थिति तिमीले बुझ्‍नु जरूरी छ। पुरानो साथी भएको नाताले यो सल्लाह दिने हक माग्दछु।

धेरैले ठानेका थिए, सयौँ गाउँले युवाहरू जस्तै म शहरतिर पलायन भएँ ।  यी हरफहरू पढिरहँदा तिमीलाई समेत लाग्ला म उल्टो गति लिँदैछु ।  लाग्नु स्वाभाविकै हो ।  उसबेला मसँग शहर छिरेकाहरू अहिले अमेरिका, अष्ट्रेलिया वा युरोपतिर छन् ।  गाउँका धेरैले ठानेका होलान् म पनि उतैतिर छु ।  तर म पलायन भएकाहरूमध्येमा पर्दिनँ । पलायन हुने विचार पनि छैन ।  गाउँतर्फ बाटो मोड्दा कसैले पछौटे भन्छन् भने पनि भनून ।  तत्कालका लागि मेरा दुई सन्तानलाई म हुर्केको ठाउँको र उनीहरूले बाँच्दै गरेको भन्दा फरक परिवेशको झल्को दिनैपर्छ भन्ने मान्यता राखेको छु ।  शहरकेन्द्रित लालनपालनले परिवारको वास्तविक इतिहासको परिचयसम्म नपाउलान्, अनि उनीहरूलाई पुर्ख्यौली विरासतको महत्व समेत थाहा नहोला भन्ने पिरलो छ ।  त्यसकारण कमसे कम अहिलेलाई कुनै न कुनै रूपले गाउँ फर्किन र उनीहरूलाई त्यहाँको जीवनमा सहभागी गराउन चाहन्छु ।  माटोको गन्ध सुँघाउन चाहन्छु । 

धेरैले भन्छन्, नेपालमै त छस् नि किन गाउँ फर्किनु पर्‍यो ? तर नेपालभित्रै रहे पनि, नेपालीमाझ नै भए पनि, ‘मेरो देश मेरो कर्मथलो’ भनेर ढुक्क हुन खोजे पनि, मेरो नाङ्गो हात-खुट्टाले नछोएको शहरीया माटोले नै चाहिँ मप्रति अपनत्व देखाए जस्तो लाग्दैन ।  वास्तवमा, जागिरेको माटोसँगको सम्बन्ध विशुद्ध लेनदेनको मात्र हुँदो रहेछ ।  जति कोशिश गरे पनि फैलिने भनेको केही सय कदमको परिधिभित्र मात्रै त हो ।  आङ् तानेर, खुट्टा पसारेर बस्न समेत नमिल्ने शहरमा भाग्य खोज्दा खोज्दै आफूलाई चिन्ने माटोले नै बिर्सेला कि भन्ने डर पो लाग्न थालेछ ।

मेरो जनप्रतिनिधी साथी,

तिमीलाई यहाँसम्म डोर्‍याउने राजनीतिक तथा सामाजिक शिक्षा लिने चरणमा पनि हामी दुबै सँगसँगै थियौँ । अहिले तिमी जनप्रतिनिधिको रूपमा कार्यरत डाँडापाखामा सँगसँगै नाच्दै गाउँदै हिँडेका थियौँ ।  एउटा कुरा नि, अहिलेका बच्चाहरू सानो दुःखमा विचलित भएर डिप्रेसन वा आत्महत्यासम्मको स्थितिमा पुगेको देख्दा सोच्ने गर्छु, उसबेला त्यति धेरै दुःख र चुनौतीका बावजुद हामीमा कुनै प्रकारको मानसिक विचलन किन भएन होला । अनिकाल लाग्दा हुनेखाने छिमेकीको बगैँचाको फलफूल  वा बारीको अन्न चोर्नेसम्म सोचियो होला, तर आँट गरिएन । दुःखले झन् दुःख भोग्ने बल थपिदियो ।  त्यही बलले तिमीलाई स्थानीय राजनीतिमा जुझारू बनायो, मलाई विश्वविद्यालयसम्म पुर्‍यायो ।

मैले पाएको राजनीतिक-सामाजिक ज्ञानले मलाई तिम्रो बाटो पछ्याउने अनुभव र कला दिएको छैन ।  त्यसैले तिमीसँग प्रतिश्पर्धा गर्न होइन, तिम्रो कामको परिपूरक काम गर्न म फर्किन चाहन्छु । राजनीतिमा त्याग र साहस चाहिन्छ ।  त्यो तिमीले देखाएका छौ ।  मैले उच्चशिक्षाका लागि नै आफूसँग भएको त्याग देखाइसकेँ । सक्रिय राजनीतिमा लागेर जीवनमा नयाँ चुनौती  लिने मन छँदै छैन । हामी एक अर्काका पूरक भएर कसरी काम गर्न सक्छौँ, त्यसबारे समय मिलाएर छलफल शुरू गरौँ ।

तिमी यत्ति बुझ, म गाउँ फर्किन चाहन्छु ।  फर्काइ तीन प्रकारका हुन्छन् ।  हल्लाखल्ला गर्दै आएर बसोबास शुरू गर्ने, सामाजिक जीवनमा बिल्कुल सहभागी नहुने र शहरमुखी प्रवृत्ति देखाइराख्ने ।  भौतिक रूपमा बसोबास सार्ने अनि सामाजिक जीवनमा सक्रिय सहभागिता देखाउने । भौतिक रूपमा नसरे पनि सामाजिक जीवनमा सक्रिय सहभागिता देखाई आफ्नो ठाउँको विकासमा सहयोग पुर्‍याउने ।  मेरो फर्काइ दोस्रो र तेश्रो खालको हुनेछ ।

मैले पाएको शिक्षा र लिएको अनुभवबाट कुन कुन क्षेत्रमा योगदान हुनसक्छ, त्यो म भन्न सक्छु ।  तर, म कुनै एनजीओ वा आइएनजीओको प्रतिनिधिको रूपमा डलर, युरो र ठुल्ठुला सपनाहरूको राहत अनुदान लिएर आउने कुरा गरिरहेको छैन ।  विश्वविद्यालय स्तरको शिक्षण र प्रशासनमा यथेष्ट अनुभव बटुलिसकेको, र राम्रो प्राज्ञिक-व्यवसायिक सञ्जालको सदस्य रहेको मजस्तो ब्यक्ति गाउँ फर्किनु वा गाउँको प्रगतिमा सहभागी हुन चाहनु दर्जनौंका लागि प्रेरणारूपी राहत हो भन्न सक्छु ।  खासगरी, म विद्यालय शिक्षाको स्तरोन्नतिमा सहयोग गर्न सक्छु ।  अझ गाउँमै कम्तीमा स्नातक तहसम्म पढाइ हुने क्याम्पस स्थापनामा सहभागी हुन सक्छु । कमसे कम केही विधाहरूमा स्नातक वा माथिसम्मको शिक्षा हाम्रो ठाउँमै दिने अगुवाइ म लिन्छु, तिमी गाउँमै पढाइ सक्नेहरूका लागि रोजगारीका अवसरहरू सिर्जना गर । यसरी मिलेर युवाहरू गाउँबाट शहर र शहरबाट विदेश जाने क्रम कम गरी गाउँ युवा विहीन हुने क्रमलाई रोकौँ ।  तर म निजी क्याम्पस स्थापनाको चर्चा गरिरहेको छैन ।  मसँग पैसा छैन, तर क्याम्पस चलाउने ज्ञान र अनुभव चाहिँ छ ।  निजी क्षेत्रबाट संचालित अधिकांश संस्थाहरूले युवाहरूलाई बढी शहर वा विदेशमुखी बनाइरहेको देख्दा त्यतातिरको सोच मैले लिएको छैन ।  स्थानीय सरकारको तदारुकतामा, अझ भनौँ कुनै एउटा सरकारी विद्यालयकै जगमा, उच्च शिक्षाको एउटा केन्द्र संचालन गरी गाउँकेन्द्रित जनशक्ति तयार गर्न सहभागी हुने इच्छा छ ।  यस लगायत एउटा प्राज्ञले समय र सामर्थ्य अनुसार गर्न सक्ने योगदान गर्न म तयार छु ।

अहिले गाउँमा भइरहेको प्रगति लोभलाग्दो छ ।  तर त्यसको सराहना गर्दै गाउँ फर्केर सहभागिता जनाउन चाहने मानिसहरूको संख्या भने शायद बढेको छैन ।  म अपवाद बन्न चाहन्छु ।  मैले भनिसकेँ नि, एक प्राज्ञले गर्न सक्ने काम धेरै हुन्छन् ।  तर मेरो शैली हस्तक्षेपकारी हुने छैन । अथवा अर्ति उपदेश दिएर जनप्रतिनिधिहरूले अहिलेसम्म गरेका प्रयासहरूलाई होच्याउने काम पनि गर्ने छैन ।

शहरकेन्द्रित ‘शिक्षित’ मानिसहरूले देश राजनीतिले बिगार्‍यो भन्ने रटानमा राजनीतिबाट टाढिने वा सुधारका अगुवाइहरूमा संलग्न नहुने संस्कारले राजनीतिप्रति वितृष्णामात्र फैलिएको छ ।  स्थानीय प्रतिनिधिहरूले राजनीतिलाई विकृति ठान्ने आम सोचको विनिर्माण गरिरहेको वास्तविकता म देखिरहेको छु ।  स्थानीय राजनीति जनजीविकासँग प्रत्यक्ष जोडिएको हुनाले खिचातानी र प्रतिगामी संस्कारबाट क्रमशः मुक्त भइरहेको छ ।  एउटा गाउँपालिकाको अर्को गाउँपालिकासँग, वडाहरूको वडाहरूसँग, प्रतिनिधिहरूको प्रतिनिधिहरूसंगैको  स्वस्थ प्रतिश्पर्धाले व्यापक प्रगतिमुखी जागरण भैरहेको मैले देखेको छु ।

जागरणको यही उत्कर्षमा नै हो मजस्ताहरूले गाउँ फर्केर हातेमालो गर्ने ।  म वृद्धभत्ता थाप्‍ने बेलामा मात्र वडा कार्यालयमा देखा पर्न आउन चाहन्नँ । बरू चाहन्छु, मेरो नाममा आउने भत्ता मभन्दा कमजोर परिवारका वृद्ध वा बालकहरूको कल्याणमा प्रयोग हुने गरी आफूलाई स्थापित गर्न सकूँ ।  यो सम्भव छ, र कम्तीमा मेरा लागि सम्भव छ ।  उच्च-शिक्षाले मलाई यतिसम्म आत्मविश्वास दिएको छ ।  त्यसैले यो आत्मविश्वासको उत्कर्षमा तिमीसँग सहकार्य शुरू गर्न चाहन्छु । मेरा सन्तानहरू छिट्टैनै मसँग आश्रित हुन छोड्नेछन् ।  मेरी जीवनसंगिनी र म पनि आफ्नो मेहनतकै कारण उनीहरूसँग आश्रित रहने छैनौँ ।  त्यो स्वतन्त्र समय गाउँको प्रगतिका लागि उपयोग गर्न चाहन्छु ।  विश्वविद्यालयबाट सेवानिवृत्त हुँदा वा अवकाश लिँदा जीवनको नयाँ बाटो पनि खुलोस् र त्यो आफू जन्मेको माटोमै खुलोस् भन्ने चाहना छ ।  त्यसकै पूर्वतयारीका लागि पनि अहिले नै तिमीसँग सहकार्य शुरू गर्न चाहन्छु ।

तिमी नै भन मित्र, शुरूवात कहाँबाट गरौँ । यो म एक्लैको मात्र कुरा होइन । मेरी श्रीमती र मेरा दुई सन्तान यही पथमा छन् ।  मेरो सहभागिताले मेरो परिवारका अन्य सदस्यहरू सक्रिय हुनेछन् ।  तिम्रो र मेरो पुस्ताका अरू साथीभाइहरू पनि समाहित हुन सक्छन् ।  मजस्ता अरूलाई समेत गाउँ फर्किने प्रेरणा  मिल्न सक्छ । तिमी बुझ्छौ, यसबाट तिम्रो राजनीतिक धरातललाई असुरक्षा हुने छैन ।  मसँगको सहकार्यमा तिमीलाई पक्कै फाइदा हुनेछ ।  फेरि भन्न चाहन्छु, म तिमीसँग राजनीतिक प्रतिश्पर्धा गर्न आउँदै छैन ।  तिम्रो प्रगतिशील राजनीतिकर्मको पूरक सहयात्री मात्र बन्न खोज्दैछु ।

म विश्वस्त छु, तिमी तयार छौ । कदाचित् तयार नभए पनि आफ्नो जन्मभूमि फर्केर सामाजिक जीवनमा सहभागी हुने मेरो नैसर्गिक कदमलाई  म रोक्न सक्तिनँ । अनौपचारिक शुत्रहरू अनि आफन्तहरूको सहयोग सहित म कुनै न कुनै स्तरको योगदानको लागि प्रतिवद्ध छु ।  तिम्रो जवाफको प्रतिक्षा पनि गरिरहने छु ।

[परिसंवाद डट कम, ३ फेब्रुअरी २०२०]

Print Friendly, PDF & Email

By hkafle

I am a University teacher, with passion for literature and music.

Leave a Reply

Your email address will not be published.