“माध्यमिक तहको भाइस प्रिन्सिपल छोडेर टिचिङ् असिष्टेण्ट हुन आउनु एक प्रकारको घटुवा भएको परिस्थिति होइन र? तपाईँ यसरी आफूलाई घटाएर विश्वविद्यालय प्रवेश गर्न तयार हुनुहुन्छ?” म विश्वविद्यालय सेवा प्रवेश गर्नलाग्दा लिइएको अन्तर्वार्ताको एउटा प्रश्न यो पनि थियो।

त्यसमा मेरो निर्दोष जवाफ थियो, “म त विश्वविद्यालय बोर्डिङ्ग स्कूलभन्दा ठूलो लागेरै अन्तर्वार्ता दिन आएको हुँ”।

अनि त्यो कुनै विश्वविद्यालयप्रतिको मेरो सोचको विनिर्माण भएको पहिलो क्षण थियो।

“तपाईँको थेसिसको शीर्षक र अर्थ दुबै बताइदिनुस् न।” त्यही अन्तर्वार्ताको क्रममा तेर्स्याइएको यो प्रश्नले त्यही सोचको पक्षपोषण पनि नगरेको होइन। मेरो सोझो जवाफ रहेको थियो, “मेरो शीर्षक ‘एडभोकेसी अफ द लिबर्टी अफ द न्याचरल म्यान,’ अथवा नेपालीमा ‘प्राकृतिक मानवको स्वतन्त्रताको लागि वकालत’। मैले हेनरी मिलरको किताब ट्रपिक अफ क्यान्सरमा काम गरेको हुँ”।

सुन्दा सानो तर अतिशयोक्तिपूर्ण लाग्ने यो शिर्षकले कम्तीमा एक जना सज्जनको ध्यान तानिएको थियो त्यो दिन। अन्तर्वार्ताको समय थेसिसको मूल विषयभन्दा बढी कुरा गर्ने मौका त मिलेन, तर प्राज्ञिक संस्कारको झल्को चाहिँ मिल्यो। म विश्वविद्यालय प्रवेश गरेको केही महिनासम्म रसायनशाष्त्रका ती सज्जनसँग थेसिसको विषयमा भलाकुसारी भइ नै रह्यो। मेरो काम उनले पढे। मैले अध्ययन गरेका कृति र सन्दर्भ सामग्रीहरू पनि उनले पढे। उनीसँगको यो साहित्यिक र दार्शनिक भलाकुसारी उनले विश्वविद्यालय नछोडुञ्जेलसम्म चल्यो।

सुरू सुरूमा नयाँ मानिससँग चिनजान हुने बित्तिकै सोधिन्थ्यो, “तपाईँको विशेषज्ञता के मा हो?” अथवा “थेसिस कुन विषयमा गर्नुभएको हो”? प्राज्ञिक वार्तालापको सुरूवात नै यसरी हुँदोरहेछ। उसबेला अधिकांश अध्यापकहरू स्नातकोत्तरमात्र गरेका पाइन्थे। एमफील वा पीएचडी गरेका सिमित मानिसहरूसँग खासै भलाकुसारी हुन पाउँदैनथ्यो। हामी ‘जुनियर’हरू वास्तवमै धक मान्थ्यौँ उपल्ला उपाधीधारीहरूसँग।

तर जोसुकैसँग होस्, अध्ययनको विषय उठ्दा कुराकानीले दार्शनिक मोड लिन्थ्यो, उसबेला। मैले आफ्नो एमए थेसिसको बारेमा नै दर्जनौँपटक भलाकुसारी गरेँ होला, खासगरी विज्ञानका अध्यापक र विशेषज्ञहरूसँग। आफ्नो कामको सान्दर्भिकताको बारेमा कुरा हुँदा ‘तपाईँ पनि मेरो कामको विषय र पाठक दुबै हुनुहुन्छ’ भन्न रमाइलो लाग्थ्यो। हेनरी मिलरको कृति त एउटा माध्यममात्र थियो। मेले अध्ययन गरेको विषय रूसोको समाज विकासको अवधारणा, फ्रायडको मनोविष्लषणात्मक सिद्धान्त, र अतियथार्थवादनिहित प्रकृतिवादको उत्कर्षजनक अभिव्यक्ति स्वतन्त्रता थियो। भोक, यौन, समुदायमोह र स्वाधीनता यी चार संवेगहरूको अभिव्यक्तिको दृष्टिकोणमा हेनरी मिलरको ट्रपिक अफ क्यान्सरको सोध-समीक्षा गर्ने क्रममा मानव स्वाभाव, मनोविज्ञान र व्यक्ति चरित्रका विविध पक्षहरूको सामान्य ज्ञान भएको बेला पनि ‘तिम्रो थेसिसको सान्दर्भिकता के?’ भन्ने प्रश्नको झ्वाट्ट उत्तर दिन सहज थिएन। किनभने उसबेला सान्दर्भिकताको कुरा नै गरिन्नथ्यो। थेसिसको काम जेनतेन सक्यो, बुझायो, भाइभा दियो, नम्बर लियो, ट्रान्सकृप्ट निकाल्यो अनि हिँड्यो जागिर खोज्न।

शायद नेपालमा पनि विज्ञान र प्रविधिका विधाहरूमा सान्दर्भिकताको छलफल हुन सुरू भइसकेको थियो होला त्यसबेला नै। सान्दर्भिकता सोध्ने हरेकलाई हरेक पटक म भन्ने गर्थेँ, “मानिस स्वाभावत: नाङ्गै हिँडन रुचाउने प्राणी रहेछ भन्ने महसुस भयो। ऊ खासगरी शारीरिक भोक, यौन, साथीको खोजी र स्वतन्त्रताजस्ता आधारभूत संवेगहरूको परिपूर्तिपछि मात्र नयाँ कुराहरूको खोजीमा निस्किँदो रहेछ। यसमा तपाईँ पनि अपवाद हुनुहुन्न नि। यस दृष्टिकोणबाट समाजलाई हेरियो भने हरेक तडकभडक र सम्पन्नता खोज्ने कोशिश नाटकीय लाग्न थाल्दोरहेछ। जीवनमा सरलता र शालीनता अंगाल्न पनि यसैले प्रेरित गर्दोरहेछ”। मलाई हेनरी मिलर र रूसोका बिचारहरू बीचको अन्तर-सम्बन्ध केलाउने कामले अठारौँ शताब्दीबाट विकसित हुँदै बीसौँ शताब्दीमा उत्कर्ष चुमेको प्रकृतिवाद, यथार्थवाद र अतियथार्थवादका आयामहरूले मानव सभ्यतामा पारेका व्यापक प्रभावहरूको अवलोकन गर्ने अवसर मिलेको थियो।मेरो कामको सान्दर्भिकता त्यही अनुभवमा थियो भन्ने विश्वास थियो।

विश्वविद्यालयमा हुने दुर्लभ छलफल र प्राज्ञिक जमघटमा अरूका कुरा सुनिरहँदा आफ्नो अनुभव अरूको भन्दा अलग र नयाँ भएको भान हुन्थ्यो। त्यही एउटा समय थियो, बाटोमा वा चिया पसलमा वा गाडीमा संगै यात्रा गर्ने क्रममा पनि हामी एकार्कालाई सोध्ने गर्थ्यौँ, “हिजोआज कुन किताब पढ्दै हुनुहुन्छ?” हाम्रो विभागले ब्रिटिश काउन्सील र केन्द्रीय पुस्तकालयको सहयोगमा विभागीय पुस्तकालय संचालन गरेको थियो। हामीले पुस्तक अध्ययनको औपचारिक परम्परा बसालेका थियौँ। अमर कृतिहरूको अध्ययन अंग्रेजी र नेपाली भाषाका पाठ्यक्रमहरूको मूल अंश थियो। संचारकला शिक्षणअन्तर्गत हामी अनिवार्य एउटा पुस्तक पढ्न र सोबारे समीक्षा लेख्न लगाउथ्यौँ। त्यही क्रममा नियमित लेखनको अभ्यास र सिर्जनासँग कलाको संयोजनका लागि जर्नल तयार गराउन थाल्यौँ, जो आजसम्म कायम राखेका छौँ।

मैले ‘प्राज्ञ’को आवरण भिरेको पनि दुईदशक हुन लाग्यो। ‘न्याचरल म्यान’ बाट अघि बढेर ‘डायस्पोरा’ हुँदै ‘रेटोरिक’मा आइपुगेर म आफू पनि अडिएको छु। जति ‘न्याचरल म्यान’ को चर्चा प्रारम्भिक कालमा गरियो, त्यति त्यसपछाडिका विषयहरूमा भएकै छैन भने पनि हुन्छ। मेरो विद्यावारिधिको विषयमा त मैले एक पटकमात्र बोल्नु परेको छ, विगत चार वर्षमा। त्यो पनि सहप्राध्यापकको लागि अन्तर्वार्ता दिइरहँदा बाह्य मूल्याङ्कनकर्ताको प्रश्नको उत्तरको रूपमा। भित्रबाट कसैले चाख दिएर सोधेको सम्झना छैन। आफूले पनि हत्ते गरेर सुनाउने सोच बनाइनँ। स्वाभाविक नै हो, मैले पनि अरू सहकर्मीहरूलाई खासै धेरै चासो देखाएर उनीहरूको कामको बारेमा सोधेको छैन।

अहिले नामको अगाडि ‘डा.’ जोड्नेहरूको संख्याका आधारमा भन्ने हो भने हाम्रो प्राज्ञिक भिडले पनि गतिलो छलाङ्ग मारिसकेको छ। विश्वविद्यालयको प्रांगणमा भेटिने अधिकांश अध्यापकहरू यो उच्च उपाधीधारी छन्। तर यो परिवर्तन सँगसँगै त्यो अर्गानिक प्रश्न पनि बिस्तारै हराउँदैछ भन्न कुनै हिच्किचाहट छैन मलाई । यदाकदा, कुनै कोठाको कुनै कुनामा धिमा आवाजमा कसैले कसैलाई सोधिराखेको पनि हुनसक्छ, “हिजोआज के पढ्दै हुनुहुन्छ?” अथवा “तपाईँको विशेषज्ञता के हो”? तर कमसेकम यसलाई नियमित दिनचर्याको रूपमा लिइएको चाहिँ म मान्न सक्तिनँ। सार्वजनिक ठाउँमा त यी प्रश्नहरू दुर्लभ भइसके।

हाम्रो आफ्नो विभागले सुरूदेखि नै जोड दिएको छ कि एउटा यस्तो विषय पनि पढाइयोस् जसका माध्यमले विद्यार्थीहरूले भाषा, साहित्य, इतिहास लगायत मानविकी तथा सामाजिकशाष्त्र विधाहरूका आधारभूत पक्षहरूको ज्ञान लिन पाऊन्। हामी यस्तो संस्कार वा प्रणालीका पात्र बन्न सकौँ कि हाम्रा स्नातक र अलुम्नाईहरूले वर्षौंपछि पनि सम्झिऊन्: “कम्तीमा एउटा विषय पढेथ्यौँ, जसमा हामी खुलेर हाँस्न, बोल्न र समग्रमा मान्छे भएको महसुस गर्न पाउथ्यौँ”।

“विज्ञान, प्रविधि वा व्यवस्थापनका विद्यार्थीहरूलाई साहित्य किन पढाएको?” भनेर हामीलाई थर्काउने मानिसहरूको कमी कहिल्यै भएन। अब यस्तो प्रश्न सुनेर अमिलो मान्न पनि छोडियो। हामी कराइरहेका छौँ निरन्तर, “तपाईँ आफ्नो काम गर्नुस्, हामीलाई आफ्नो गर्न दिनुस्। तपाईँले दिने डिग्रीमा र तयार गर्ने स्नातकमा उच्च शिक्षाको नैसर्गिक संस्कार र विश्वव्यापी अभ्यासद्वारा निर्देशित केही हिस्सा हाम्रो विधाको पनि छ। तपाईँले मानेर वा नमानेर हाम्रो कामलाई फरक पर्दैन। तपाईँ उपाधिको प्राविधिक र वैज्ञानिक पक्षलाई सम्हाल्नुस्, हामी यसको मानवीय र सामाजिक वैधतालाई बलियो बनाउछौँ। हामीलाई भौतिक यन्त्रहरू बनाउने वा चलाउने विशेषज्ञमात्र होइन, समाज र समग्र मानवजगतलाई नजिकबाट बुझ्ने मार्गदर्शक पनि चाहिएको छ। हामीले ज्ञान, सूचना, सीप वा डाटा त दियौँ नै, अब विद्वता पनि दिनुपर्छ। समाज चलाउने वा इतिहास थेग्ने क्षमता आविश्कार र नवप्रवर्तनको योग्यतासँगै आओस्”।

विश्वविद्यालयमा यस्तो प्रकारको भद्र द्वन्द्व रहनुपर्छ। वैचारिक वा दार्शनिक द्वन्द्व प्राज्ञिक संस्कारको मुटु हो। सुन्दा अव्यवहारिक उपदेश जस्तो लाग्न सक्छ, तर कुनै विश्वविद्यालयमा अध्ययन, अनुसन्धान, ज्ञान सिर्जना, ज्ञानको प्रचार र समाज परिवर्तनका विषयमा नै बढी समय खर्च हुनुपर्छ। एकल, वहु वा अन्तर-विधात्मक छलफल र गोष्ठीहरू निरन्तर आयोजना हुनुपर्छ। प्राध्यापकहरू अध्ययन, अध्यापन, लेखन र प्रकाशनमा तल्लीन रहनुपर्छ। व्यवसायिक पहिचानमुखी अनुसन्धानात्मक लेखन वा विशेषज्ञताजनक खोजका साथै सर्वसाधारणले ग्रहण गर्नसक्ने विद्वता र ज्ञानमुखी कृतिहरू बाहिर ल्याउनुपर्छ।

मेरो आफ्नो थलोबाट, आफ्नै कमीहरूलाई स्वीकार गर्दै मैले भन्ने गरेको छु, “हामीले कथा धेरै सुनायौँ, उपदेश धेरै बाँड्यौँ, तर समाज र देशले सम्झिने कृतिहरू खोई? हाम्रा प्राध्यापकहरूको विरासत केमा र कतातिर संकलित र संग्रहित हुँदैछ? अरूका कुरै छोडौँ, हाम्रो आफ्नै पुस्तकालयमा हामी आफैँले लेखेका कृतिहरू के के छन्? एउटा सहकर्मीको काम विश्वस्त भएर अर्को सहकर्मीले आफनो पाठ्यक्रममा समावेश गरेको छ कि छैन? अथवा, निर्धक्क आफ्नै विश्वविद्यालयमा पढाउने गरी के के किताबहरू लेखिँदैछन् वा प्रकाशोन्मुख छन्?

तीन दशक बिताउन लागेको यो शैक्षिक धरोहरमा मेरो लागि खट्केको पक्ष यही हो। अबका दिनहरू कस्ता हुनेछन्, भन्न गाह्रो छ। समग्रमा, गैरप्राज्ञिक झमेलाहरूका कारण प्राज्ञिक संस्कारको विनिर्माण भइरहेको भान हुन्छ, यहाँ पनि अन्यत्र पनि। हाम्रा भेटघाट र चिया गफहरू, गुनासा र गालीगलौजहरूले भरिन थालेका छन्। प्राज्ञहरू गैरप्राज्ञिक जिम्मेवारीतिर आकर्षित छन्, वा त्यस्ता जिम्मेवारीहरू स्वीकार गर्न वाध्य छन्। कक्षाकोठा वा पुस्तकालय प्राथमिक गन्तब्य हुन छाडेको त वर्षौँ भयो। प्राध्यापक खारिएसँगै सबैभन्दा महत्वपूर्ण सरोकारवाला युवा विद्यार्थीहरूबाट टाढिएको वा विमुख भएको छ।

भन्न लाज नमानी भने हुन्छ, कक्षा नछिरेको अनि अनुसन्धान नगरेको र नगराएको प्राध्यापक, ज्ञानवर्धक र विद्वतामूलक कृति नछोडेको प्राज्ञ, वास्तविक प्राज्ञहरूको संगत नपाएको स्नातक हामीले परिकल्पना गरेको विश्वविद्यालयका सूचक होइनन्।

एउटा  प्राध्यापक अर्को विभागमा जाओस् र हेरोस् त्यो विधामा कस्तो मेहेनत भइरहेको छ। त्यहाँ के अनुसन्धान भइरहेको छ। मेन्टरिङ्ग को संस्कार कस्तो छ। कस्ता कस्ता लेख रचनाहरू प्रकाशोन्मुख छन्। हरेक व्यक्तिले बुझोस्, हरेक विधा र यसभित्रका विषयहरूको आफ्नै इतिहास छ, आफ्ने विरासत छ। एकार्काको इतिहास र सम्भावना बुझ्ने र आवश्यकता अनुसार ग्रहण गर्ने तत्परता र क्षमता पनि छ।

एउटा विषयमा उपाधि लिएर कोही पनि पूर्ण हुँदैन। ज्ञानका धेरै श्रोतहरू नदेखी, र अनगिन्ती बाटाहरू नहिँडी एउटा साँघुरो बाटोबाट सानो गन्तब्य पुग्नु हो आजको उच्च शिक्षा। उच्च शिक्षा उच्च त होला, तर यसलाई व्यापक शिक्षाचाहिँ भनिएको छैन, मान्न पनि सकिँदैन। विशेषज्ञता पूर्णता होइन। कुनै एउटा पेशा वा कामका लागि दक्षतामात्र हो। विद्वता वा ज्ञानमा सापेक्षित पूर्णता त दुनियाँ भोगेपछिमात्र अनुभव होला। यसका लागि आफ्नो विधाको साँघुरो परिधिबाट बाहिर आउन सक्नुपर्छ। कसैले आफ्ना नाकैमुनि भइरहेका प्रयासहरूलाई नदेख्नुलाई अनौठो नमानिएला, तर त्यस्ता प्रयासहरूको वेवास्ता गर्नु वा तिनको अस्तित्वलाई नकार्नु अत्यन्त अप्राज्ञिक हो। प्राज्ञहरू स्वाभाविकभन्दा अलिकति माथिको पहिचान दाबी गर्नसक्ने हैसियत राख्न सक्ने बन्नुपर्छ।

हिजोआज खासै कसैले सोध्दैन जुनसुकै विश्वविद्यालय पुगे पनि, “तपाईं के पढ्दैहुनुहुन्छ? के प्रकाशनको तयारीमा हुनुहुन्छ?” सर्वत्र, सामाजिक संजालमा भाइरल भइरहेका विवादहरू, राष्ट्रिय राजनीतिमा चलिरहेको रस्साकस्सी र तानातान लगायतका विषयहरूमा अधिकांश समय खर्च भएको देखिन्छ। अथवा हरेकले हरेकलाई बढुवा, भ्रमण अवसरको खोजी, कुनै प्रोजेक्ट हात पार्ने वा पद हत्याउने दाउपेच अनि आफ्नो संस्था इतरका मौकाहरूको पर्खाइमा रहेको मात्र देखेको वा देख्न चाहेको जस्तो भान हुन्छ। यस्तो लाग्छ, संस्थाको नेतृत्वमा रहेको व्यक्ति शक्ति र सुविधाको चाबी अनि तल भएको व्यक्ति अधिकारको दाबीमात्र लिएर बसेको छ। ‘सिनियर’ले म तिमीलाई यसरी गाइड गर्न सक्छु र ‘जुनियर’ले मलाई यो विषयमा सहयोग गरिदिनुहोस् भन्ने उद्देश्यले भेटेर कुराकानी गरेको विरलै सुनिन्छ, विरलै देखिन्छ।

विश्वविद्यालयको परिधिभित्र रहेको प्राज्ञले पृथ्वी, जल, हावा, बनस्पती, जीवजन्तु, आफ्नो शरीर, मन, समाज, राजनीति सबैलाई टुक्रा-टुक्रामा हेरिरहेको हुन्छ। मान्छेको क्षमताले भ्याउने काम सबै हुने गर्छ प्राज्ञिकस्थल भित्र, भौतिक यन्त्र र मानवीय संयन्त्र दुबैको माध्यमले। यो परम्परा चलेको छ, चल्ने नै छ। तर, अन्यत्रका विश्वविद्यालयहरूभित्र भने ‘So, what?’ भन्ने प्रश्न खरो र टड्कारो हुन थालेको छ, साथै प्रत्येक खोज वा अध्ययनको व्यापक प्रभाव हुनुपर्छ भन्ने दर्शन नै स्थापित भइरहेको छ। हरेक प्राज्ञिक प्रयास परिवर्तनको शूत्र बन्नुपर्ने साथै साधनाको घेराबाट सामाजिक उपयोगिताको व्यापकतामा जान सक्नुपर्ने तर्क त झन् प्राज्ञिक संस्कारको द्योतक नै बनेको छ। प्राज्ञले गरेको काम मानिसको मन, मस्तिष्क, भान्छा, ओछ्यान, यन्त्र, संयन्त्र वा कहीँ न कहीँ पुगेर समग्र समाजको जीवन छुन सक्ने हुनुपर्छ भन्ने विश्वासले अन्यत्रको प्राज्ञिक संस्कारलाई डोर्‍याएको छ।

हिजोआज हाम्रोमा पनि सामान्यतया: हरेक प्राज्ञ व्यस्त छ। कम्तीमा व्यस्त रहन अभ्यस्त छ। केवल ‘So, what?’ भन्ने प्रश्नले व्यापकता पाएको छैन। वा जवाफको खोजी नियमित छैन। प्राज्ञहरू जागिरे भिड बन्दै जाने हुन् कि भन्ने चिन्ता सामान्य भइरहँदा ज्ञानको यथोचित अनि यथेष्ट सिर्जना र प्रसारको अपेक्षा कोसँग राख्ने भन्ने प्रश्न अनुत्तरित रहने खतरा बढेको छ।  

धेरैले भन्ने गर्छन्, समाजले शिक्षक र प्राज्ञ भन्ने वर्गबाट चाहिँदोभन्दा बढी अपेक्षा राखिदिन्छ। यही अपेक्षाका कारण हामीले एक प्रकारको उकुसमुकुसमा बाँच्नु परेको छ। तर यो त उम्किने तर्कमात्र भयो नि। पढ्ने-पढाउने, लेख्ने-लेखाउने, हेर्ने-देखाउने, सुन्ने-सुनाउने जस्ता काम त शिक्षक वा प्राज्ञ हुनुको नैसर्गिकता हो। कि जान्ने मानिस बन्नु नै भएन, शिक्षित बन्नु नै भएन, ज्ञानी बन्नु नै भएन। होइन भने समाजलाई विश्वासघात गरेर भाग्ने कुरै छैन।

म त निर्धक्क भन्छु, शिक्षित र ज्ञानी प्रमाणित मानिसलाई केही नलेखी, नबोली, नसुनाई, नपढाई त्यत्तिकै धर्ती छोड्न दिनुहुँदैन। दुर्घटनाले लगिहाले दुर्भाग्यको कुरा, कुनै प्राज्ञलाई एक-दुईजना अरू व्यक्तिलाई आफूभन्दा गतिलो नबनाई कालगतिले मर्ने अधिकार छैन।

[परिसंवाद डटकम तथा नेपालभूमि साप्ताहिकमा प्रकाशित]

Print Friendly, PDF & Email

By hkafle

I am a University teacher, with passion for literature and music.

Leave a Reply

Your email address will not be published.