जेठको अन्तिम दिन। शहरको होहल्लाबाट टाढा, गाउँको पुछार, धुलिखेलको बाँसघारी पुग्नु अगावै आउने घुम्तीमाथिको सानो जंगल, अलिकति खुटकिला चढेपछि भेटिने गाउँ पुछारको नीलकण्ठेश्‍वर मन्दिर, मन्दिरको छेउमा प्रकाशन गृह, नजिकै पाल टाँगेर बनाइएको कार्यक्रमस्थल। शहरभित्रका पार्टी प्यालेस वा होटलका भब्य सभाहलमा आयोजना हुने कार्यक्रम वा भोजभतेरमा बानी परेको मानिसलाई बिल्कुल अनौठो लाग्ने ठाउँ।

तलतिर एकोहोरो गाडी गुडिरहेको तर अवरोध नपुर्‍याउने आवाज, माथितिर ठाडो लाग्ने पाखामा छरपस्ट घरहरू, अलिक माथि डाँडाको टुप्पोमा नैमिषारण्य तीर्थ। गाउँघरका वृद्धवृद्धा, समाजसेवी, स्थानीय बुद्धिजिवी, केही युवा, केही महिला अनि केही आमन्त्रित व्यक्तित्वहरू। यस्तै माहोलमा अन्य नियमित कार्यक्रमहरूबीच तीनवटा किताबहरूको सार्वजनिकीकरण, जसमध्ये एउटा मेरो नयाँ कृति अक्षरहरूको बिस्कुन

मलाई कार्यक्रमको पृथकतामा नै पुस्तक विमोचनको सान्दर्भिकता मिलेको लाग्यो। साहित्यसेवी तथा अक्षरप्रेमीहरूको प्रतिबद्ध जमात, जसमा अधिकांश आफूले देखिरहेका मानिसहरूबीच आफूलाई कवि-लेखकको रूपमा चिनाउन पाउनुलाई मैले विशेष महत्वले लिएँ।

विमोचित पुस्तकका कृतिकारहरूको प्रतिनिधिको रूपमा बोल्ने जिम्मेवारी मेरो थियो। लामो कार्यक्रममा लामो मन्तब्य दिनु उपयुक्त थिएन। आयोजकले दिएको पाँच मिनेटको समयभन्दा थोरै बोलेर आफ्नो जिम्मेवारी पूरा गरेँ। त्यहाँ आफूले व्यक्त गर्न चाहेको अनुभूति र आफ्नो कामको बारेमा किताबमै लेखिसकेको बिचारलाई संगाल्दा यो स्तम्भ तयार भएको छ।

मेरो अघिल्लो किताब मिडलाइफ मोन्टाज को विमोचनमा निम्तो लिने क्रममा “जर्मनीमा छोरो मान्छेले जीवनभरमा आफ्नो कमाइले घर बनाउने, छोरो जन्माउने र किताब लेख्‍ने तीनवटा विशेष काम गरिसक्नु पर्छ भन्ने भनाइ छ। तिमीले के के गरिसक्यौ?” भनेर प्राध्यापक पद्म देबकोटाले मलाई सोध्नु भएको थियो। यसबाट किताब लेख्‍नु र छाप्नु निकै गतिलो काम रहेछ र मैले गरेको प्रयास पनि उल्लेख्य रहेछ भन्नेमा म विश्‍वस्त भएको थिएँ। मलाई कविता संग्रह विमोचित हुँदै गर्दा चाहिँ लागिरहेको थियो, मैले किताब हैन सन्तान नै जन्माएको हो। बिहे गरेर घरजम सुरु गर्दामात्रै घरजम पूर्ण भएको हुँदैन रे। खासगरी दुलहीले त पहिलो बच्चा जन्मेपछि मात्र शतप्रतिशत कर्मघरले स्विकारेको वा आफू पनि घरको अधिकारी भएको महसुस गर्न पाउँछिन् रे। काभ्रेमा कविता संग्रह सार्वजनिक हुँदै गर्दा म आफू पूर्णतः कर्मघर काभ्रेको भएको  भन्ने तर्कनामा थिएँ।

लेखिरहने मानिसलाई आफ्नो लेखन बाहिर ल्याउने रहर हुन्छ। तर थोरैमात्र लेखकहरू प्रकाशक पाउने भाग्य लिएर आएका हुन्छन्। अधिकांश कुनै गतिलो अवसर वा लगानीको अवसर पर्खेर बसेका हुन्छन्। आफू पनि यस्तै पर्खाइमा थिएँ। जीवनका अन्य प्राथमिकताहरूले कविता संग्रह प्रकाशनको रहर त्यत्तिकै थिचिएर रहेको बेला मेरो परिवारले झक्झक्याइरह्यो – किताब लेख्‍ने र छपाउने अहिले नै हो। अहिले भन्नाले रहर र उमेर हुँदै हो। पछि गरौँला भन्दा भन्दै मरिएला, लेख्‍नै नसक्ने बनिएला वा किताब छापिनै छोड्लान्। खास गरी मेरो दशवर्षे कान्छो छोराले मैले ट्याबलेटमा किताब पढेको देखेर, “बाबा, मैले बुक लेख्‍ने बेलामा त कागजका बुकहरूनै हराइसक्छन् होला हगि?” भनिदिँदा लाग्यो, अब ढिला गर्नु हुँदैन।

शब्दयात्रा प्रकाशनका लागि अक्षरहरूको बिस्कुन संयोग चाहिँ होइन,  साझेदारी नै हो। शब्दहरूको यात्रामा अक्षरहरूको लर्को लागेको भन्ने अर्थमा यो साझेदारी झन् सान्दर्भिक भएको होला। मेरा नेपाली लेखनप्रति म आफैँ विश्‍वस्त थिइनँ। हरि मञ्‍जुश्री नै मेरो कविता पढेर राम्रो लेख्‍नु हुँदो रहेछ भन्ने पहिलो ब्यक्ति पर्नुभयो। यसरी एउटा कवि र सम्पादकले राम्रो ठानिदिए पछि मैले कविता संग्रह निकाल्ने योजना बनाएँ। मैले चाहेको शीर्षक पनि हरिजीलाई मन पर्‍यो र यो सुखद सहकार्यको निर्णय भयो।

खास त म अंग्रेजी कविताहरू नै पहिले प्रकाशन गर्ने भनेर भूमिका लेखाउने काममा लागेको थिएँ। कवि मित्र केशव सिग्देलले अबको कृति नेपाली भन्ने उर्दी लाइदिनु भयो। मलाई उहाँको कुरा ठिक लाग्यो। केशवजीले मैले छाप्न चाहेका कविताहरू पढेर सुझाव पठाउनुभयो, र भूमिका लेखिदिने तत्परता पनि देखाउनुभयो। हरिजीले प्रकाशनका लागि उस्तै उत्साह देखाइदिनु भयो। यसरी अंग्रेजी संग्रह उच्छिनेर अक्षरहरूको बिस्कुन अगाडि आयो।

मैले आफ्नो काव्य प्रवृत्तिका बारेमा किताबको परिचयमा लेखेको छु, कविता मेरा लागि मनको कुरा व्यक्त गरेर अरूको मन हलुका पार्ने माध्यम हो। म त्यही कुरा यहाँ पनि भन्न उल्लेख गर्दछु। मेरो कविताजस्तो सशक्त माध्यमप्रति गहिरो आस्था छ। यद्यपि मसँग स-साना शब्दहरूको सानो भण्डार मात्र छ। तर ती शब्दहरूलाई चाखलाग्दो गरी जोडेर सामान्य सन्देश दिन कोशिश गर्ने स्वाभाव पनि छ। अनि आफू हुर्केको र बाँचिरहेको परिवेशलाई शब्दमा उतारेर अरूलाई सुनाइरहने हुट्हुटी छ। त्यो हुट्हुटीलाई मूर्त रूप नदिँदा जीवन अधुरो भएजस्तो लाग्छ। जीवनको सार्थकताका लागि  शब्दहरूको बिस्कुन फिँजाउँछु। यसरी मैले स-साना सयौँ टुक्राहरू आफ्नो ब्लगमा राखेको छु। मेरो शब्दप्रेम बुझ्नेहरू मेरा नियमित पाठक छन्।

म केही लेख्‍न भनेर दु:ख चाहिँ गर्दिनँ। लेख्छु भनेर कम्मर कसेर बस्दिनँ। फुरेका सबै भावनाहरू तुरून्त लेख्दिनँ, बरु तिनलाई केही समय मन-मस्तिष्कमा हुर्किन दिन्छु। जुन हरफहरू फुरेपछि विस्मृतिमा जाँदैनन्, तिनलाई समय मिलाएर शब्दहरूमा उतार्छु। बिर्सिसकेका भावनाहरू सम्झिने दु:ख पनि गर्दिनँ। तर भावनाहरू शब्दमा उत्रिसक्दा सुखको अनुभव हुनुपर्छ मलाई। मेरा ती शब्दहरू पढ्नेले पनि सुखको अनुभूति गर्नु पर्छ। मैले आफ्नो मनको कुरा सुनाइरहँदा पढ्नेले आफ्नै मनको कुरा सम्झी पढोस्, यही चाहन्छु। मेरा यस्तै सामान्य र छोटा अभिब्यक्तिहरूलाई कविताको रूपमा देख्‍नेहरूले कविता भनिदिएका छन्। मैले त्यसलाई स्विकारेको छु।

छापिएको आफ्नो किताब हात पर्दा जन्मिँदा जन्मिँदैको बच्चालाई काखमा राखेर नियाले झैँ लाग्छ मलाई। तर म किताबको भविष्यको बारेमा केही बोल्दिनँ। भरखर जन्मेको नानीको बारेमा के नै भन्न मिल्छ र। यत्ति भनौँ बच्चा जन्मिने बित्तिकै बच्चाको अनुहारले भन्दा बच्चा जन्मिएको सत्यले बढी उद्वेलित बनाउँदो रहेछ जन्मदातालाई। जन्मिने बित्तिकै त नानीको अनुहार आफूले चाहेको जस्तो सुन्दर कहाँ हुन्छ र। मेरो सन्तान हो भन्ने भाव नै ठूलो हो नि। त्यही महसुससँग गहिरिएर जाने मायाको आकार कसले नापेको हुन्छ र!

मानिसको भौतिक आवश्यकता र चाहनाको दाँजोमा साहित्य, कला, सिर्जनाजस्ता विषयहरू यदाकदा गौण ठानिन्छन्। यो एक हदसम्म स्वाभाविक पनि लाग्छ। तर, मानिस जतिसुकै असाहित्यिक भए पनि सोच्ने दिमाग र दुख्‍ने वा फुर्किने मन त लिएरै आएको हुन्छ नि। ऊ खुसी हुन चाहन्छ, दुःख साट्न चाहन्छ, जसका लागि चाहे उसले एक शब्द  नलेखोस्, एक हरफ नपढोस्। उसले नसकेको काम नै कवि वा लेखकले गरिदिने हो। कलाकार वा गायकले गरिदिने हो। त्यसैले म भन्छु, मानोस् नमानोस् दुनियाँले, लेखकले समाजलाई गुन लगाएकै हुन्छ। गैर आख्यान लेख्‍नेहरूले घटनाक्रमहरूको अभिलेख तयार गरिदिएर गुन लगाउँछ। आख्यानकारहरूले तिनै घटनाहरूमा सौन्दर्य र दर्शन भरिदिएर गुन लाउँछन्। कविहरूले अर्काको मनभित्रको  गुम्फन अभिब्यक्त गरिदिएर गुन लगाउँछन्।

शब्द लेखकको आबिश्कार होइन। लेखक त आफूले सिकेका शब्दहरूलाई बिम्ब र अलंकारको रूपमा अभिव्यक्तिमा उन्ने एउटा शिल्पी मात्र हो।  प्रकृतिबाट उपहार पाएको  त्यही शिल्पले ऊ आफ्ना र अरुका  संवेगहरू उतारिरहेको  हुन्छ शब्दमा। उसको सिर्जना त उपहार हो अरूका लागि। उसको भागमा पर्ने चाहिँ त्यही जस-अपजस।

लेखकभन्दा भाषा अझ बढी जब्बर र ढीट हुँदो रहेछ। त्यसैले लेखकले आफूलाई भाषाको वसमा परेको, अनि आफू अपुरो रहेको महसुस गरिरहन्छ। जति मेहेनत गरे पनि कहिँ न कहिँ केही न केही नपुगेको वा चिप्लिएको हुन्छ। सच्याएका गल्तीहरू पनि जादु-टुना लागेर ब्युँते जस्तो लाग्छ। म पनि बारम्बार यस्तो सिमित असफलताको शिकार भएका हुन्छु, र आफ्ना सिमाहरूलाई स्विकारिरहेको पनि हुन्छु। मलाई लाग्छ, असल पाठकहरूले बुझिदिन्छन्, भाषाको खोइरो खन्ने क्रममा यस्तो भएको हुँदैन। भाषालाई माया गर्दागर्दै भएको  हुन्छ।

आफ्नो किताबका बारेमा यत्ति भनौँ, फिँजाएको बिस्कुनमा टिप्न मिल्ने सिन्का वा धपाउन मिल्ने किरा फट्याङ्ग्रा पक्‍कै होलान्। पाठकहरूले तिनलाई आफैँ टिपेर फाली काम लाग्ने कुरा जति ग्रहण गरिदिनेछन्।

Print Friendly, PDF & Email

By hkafle

I am a University teacher, with passion for literature and music.

Leave a Reply

Your email address will not be published.