रातिको यात्रा कहिलेकाहीँ फाइदाजनक नै हुन्छ। मुख्य कुरा यात्रामा दिन जाँदैन। यात्रा अघि तयारीको र यात्रा पछि थकानको निहुँबाहेक दिनभर काम गर्न सकिन्छ। यही एक कारण म प्राय: रातिको यात्रा गर्न रुचाउँछु। झन गर्मी याममा त राति हिँड्नुको मज्जै अर्को हुने भो। जाडोमा पनि लुगा टन्नै पुर्‍याएर लाइने हुनाले खासै चिन्ता लाग्दैन।

बनेपा-सिन्धुली सडकको रात्री यात्रा चाहीँ मलाई खासै फापेको छैन। धुलिखेलबाट पूर्व जाँदा बिहान साढे-दुई बजे नै उर्लाबारीमा फालिदिन्छ। एकघन्टाभन्दा बढी सडकछेउमा कुकुरसँग कुरा गरेर बिताएपछि मात्र दक्षिण तर्फको मोटी बहिनीको चिया पसल खुल्छ। चिया खाने निहुँमा एकघण्टा बिताएपछि फाट्टफुट्ट सफारी देखा पर्छन्। घरसम्म पुग्ने भाडा धुलिखेलबाट त्यहाँ पुग्दाको भाडाको ठ्याक्कै एक आधा लाग्छ। सफारी चढ्न खासै जाँगर चल्दैन। यस्तै उल्झनमै के कसो गरेर घर पुगिन्छ। उताबाट फर्किँदा बेलैमा बोलाउँछ माइक्रोले। खूब छिटो पुग्ने भइयो भनेर मख्ख पर्दापर्दै बर्दिबासमै पाचघण्टाको बास हुन्छ, जंगली लामखुट्टेसँग।

मैले दुईपटक यताबाट र तीनपटक उताबाट रात्री माइक्रोमा यात्रा गरेको छु। यीमध्ये चार यात्राहरूमा बाटो र समयजन्य स्वाभाविक तनावबाहेक पात्रजन्य इरिटेशनहरू पनि भोगेको छु। चारपटकको अनुभवबाट लाग्न थालेको छ, रात्रीको यात्रा झमेलामुक्त हुँदैन। यी चारैपटक हिँड्दा फेला परेका कोही न कोहीपात्र चाहिँ सम्झिन लायक पाएको छु।

२०७३ माघको पहिलो हप्ता। दमकको लाइफलाइन अस्पतालमा आमा सञ्‍च भएपछि रातीको माइक्रो चढेर तुरुन्त फर्किनु थियो। अघिल्लो दिन नै टिकट लिएको थिएँ। हिँड्ने दिन दिउसो ३:३० मै गाडी चढिन्छ भनेर काउन्टर पुगेको भए पनि राती नौबजे मात्र चढ्ने सौभाग्य मिल्यो। हिँडिसकेको गाडीले अर्को गाडीलाई ठोकेको रे। पुलिसले पक्रेको रे। कम्पनीले अर्को गाडी पठाउन र यात्रुहरू व्यबस्थापन गर्न समय लागेको रे, र त्यही कारण त्यति ढिलो भएको रे। कथै कथा। टिकट पाउनु, गाडी चल्नु अनि टिकट अनुसारको खाली सिट लिएर गाडी आइपुग्‍नु नै ठूलो कुरा हुँदो रहेछ रातीको यात्रामा।

काउन्टरमा पर्खिरहँदा एउटी महिला हो कि केटीमान्छे हो, एउटा भुस्तिघ्रेको साथमा आएपुगी। हाम्रै गाडीकी यात्री रैछे। त्यसको हाउभाउ देख्दै आफूले खासै विश्‍वास नमान्ने गरेका भगवानलाई पुकार्न थालेँ – प्रभू, यो केटीसँग बस्नु नपरोस्। तपाईँ ठान्दै हुनुहोला, तरूनीसँग रातभर यात्रा गर्न पाउने हुँदा पनि किन यस्तो रूवाबासी। तर ऊ तपाईँले सोचेको भन्दा फरक नश्‍लकी थिई। काउन्टरमा झोला फालेर त्यो भुस्तिघ्रेसँग चिया खान गएकी गाडी आउनुभन्दा आधा घण्टा अघि मातेर हल्लिँदै आई। आउनासाथ झोलाबाट दुईवटा मोबाइल फोन निकाली। एउटामा नयाँ हिन्दी गीतहरू लगाएर राखी अनि अर्कोको मिरर अन गरी। झोलाबाट मेक अपको सामान निकालेर मेकअप शुरू गरेपछि ‘आफन्त र साथीभाइ’सँग फोनमा कुरा सुरू गरी। अरू काम नभएपछि त्यो दृश्य हेर्नु पर्ने वाध्यता नै थियो मलाई।

उसको मेकअप नसकिँदै गाडी आइपुग्यो। उसलाई ‘वासरूम’ जानु थियो, सिगरेट पिउनु थियो, सिट कुन हो कन्फर्म गर्नुथियो। पहिल्यै मातिसकेकी भए पनि सुरमै भएको देखाउनु थियो। माघको जाडोमा पाँचघण्टा कुर्दा बल्ल आइपुगेको गाडी उसकै कारण अरू बीस मिनेट रोकियो। स्टाफ ‘बुद्धिमान्’ नै रहेछ। लास्टको तेर्सो सिटमा झ्यालतिर लगेर कोचिदियो। ‘म आगाडि नै बस्छु नि, मलाई भमिट हुन्छ के’ भन्दा पनि उसले मानेन। ‘कति दर्जन प्लाष्टिकको झोला चाहिन्छ दिउँला, अगाडि सिट छैन’ भनेर टार्‍यो।

बाटोमा उसले ‘भमिट’ त गरिन। हल्लाखल्ला डिस्टर्ब पनि गरिन। तर गाडी रोकिँदैपिच्छेको ‘वासरूम’ र ‘सिगरेट’ले चाहिँ आधाघण्टाभन्दा बढी पर्खायो। साथीहरूसँग ट्रेकिङ्ग जान भनेर सिमा पारिबाट छिरेकी एक्ली त्यो केटीको बिन्दास जिन्दगी त गजब नै लाग्यो। जस्ती होस् वा जुन रूपमा होस्, ऊ एक ‘इम्पावर्ड’ पात्र थिई। मैले चाहिँ गत दशैँमा दार्जिलिङ्ग घुम्दै गर्दा ट्याक्सी ड्राइभरले भनेको सम्झिरहेँ – ‘अन्त, यहाँ त केटाभन्दा पनि केटीहरू खतरा छ हौ, सर’।

माघको अन्त्यमा आसाम यात्रामा निस्किएँ, अट्ठाइस किलोमा गाडी पक्रेर। साथमा थिए एकजना सहकर्मी। दुईजना हुँदा यात्राको रौनक नै अर्कै हुन्छ। त्यसमाथि टाढाको यात्रा। हो त्यही यात्रामा भेटिए दुईजना स्याम्पलहरू। एउटा थियो, सर्वज्ञ।  ऊ ड्राइभरसँगको सिटमा ढोकापट्टि बसेको थियो। धुलिखेलबाट अघि बढ्दा ऊ नेपाली उत्पादनको प्रवर्धनको बारेमा बोल्दै थियो – साबुन, सेम्पो, जडीबुटी इत्यादि। ऊ भन्दैथियो, जोडसित – मैले हाम्रा उत्पादन प्रयोग गर्न राष्ट्रपति र उपराष्ट्रपतिलाई भनिसकेको छु। केही दिनमै उनीहरूका घर-अफिस दुबैतिर हाम्रा सामान पुग्दैछन्। प्रधानमन्त्रीले पनि आस्वासन दिइसकेका छन्। प्रधानसेनापतिले त धेरै ब्यारेकहरूमा सामान पुग्न सक्ने कुरा गरेका छन्। मैले प्रमुख दलका नेताहरू सबैलाई सल्लाह दिइसकेको छु।’ ऊ फेरि अर्को मानिससँग भन्दैथियो, “सिंगापुर, मलेशिया लगायतका देशहरूमा नेटवर्किङ भ्रमणमा जाँदैछु। साथमा केही नेता र सचिवहरू पनि हुनेछन्। बरू हजुरले एकपटक श्रम मन्त्रालयमा कुरा पुर्‍याइदिए बेस हुन्थ्यो, उताको व्यवस्था राम्रो हुन्थ्यो। फर्किँदा हजूरका लागि पनि विशेष केही ल्याउँला भन्ने योजना छ।’

त्यो सहयात्रीले देउता र भूत चढ्ने समस्या ठिक पार्नेदेखि लिएर देश र नेताहरूको राजनीतिक भविष्यावाणीसम्मका सम्पूर्ण वृत्तान्त हामीलाई सुनायो फोनमै। गाडीका अरू मानिसले के सुने के सोचे भन्‍ने उसलाई मतलव थिएन। आफ्नो वहुमुखी व्यक्तित्वको बयान सुनाउन पाउनु नै उसको लागि ठूलो कुरा थियो शायद। उसले कसैले नगरेको एउटा कामचाहिँ गर्‍यो। चियाबारी भन्ने ठाउँमा गाडीबाट उत्रेपछि हामी सबै यात्रुसँग विदा माग्दै शुभयात्रा भन्यो। सकुशल गन्तव्य पुर्‍याइदिएकोमा ड्राइभरलाई धन्यवाद टक्र्यायो। यात्राभरि झर्को नमानी बसिदिएकोमा सँगै बसेकी महिलाप्रति आभार व्यक्त गर्‍यो।

हामीलाई चाहिँ बर्दिबास पुगुञ्‍जेल उसको खिल्ली उडाउँदै रमाइलो गर्ने विषय मिलेको थियो।

त्यसपछिको यात्रामा दोश्रो पात्रले ध्यान तान्यो।  एउटा बाइस-तेइसको पट्ठो मसँगै परेको थियो। माथि उल्लेखित भलाद्‍मीले सम्पूर्ण वातावरण ओगटेको बेला ऊ लगभग चूपचाप नै बसेको थियो। कुनै एक ठाउँमा मेरो सहयात्री र मैले राजनीतिक विषयमा कुरा गर्दाचाहिँ “राप्रपा” भनेको सुन्नेवित्तिकै ठूल्ठूलो स्वरमा उच्छिनेको थियो – “ए… राप्रपा? त्यो त मेरो पाटी हो नि। मेरो बाउ त ठूलै नेता थ्यो, पोहोर मर्‍यो। म पनि एक खालको नेतै हो। हिजो मात्रै कुन्नि केको लागि हो सूर्यबिनायकमा गएर भोट हालेको नि। ताल पर्‍यो भने भोलिपर्सी चुनाव लड्न बेर लाइन्नँ”। मलाई लागेको थियो बोलीचाली जस्तोसुकै भए पनि अलि अलि राजनीतिक संस्कार त पाएकै रहेछ।

तर त्यसले के चाहिँ गरेन यात्राभरि। पछाडिबाट साइड माग्ने गाडीलाई साइड नदिन, अगाडिका सबै गाडीलाई ओभरटेक गर्न, हेडलाइट निभाएर गाडी चलाउन, ठाउँठाउँमा रोकेर गाँजा तान्न ड्राइभरलाई उक्साउन थाल्यो। लालगढमा खानासँगै टन्न रक्सी खायो। दुबइबाट फर्केको एउटा सोझो केटालाई खाना र रक्सीको पैसा तिरायो। मातेपछि त झनै उग्र भैहाल्यो। उसको कसैले वास्ता नगेरपछि गाँजा तानेर सुत्छु गाडी रोक् भनेर ड्राइभरसँग किचकिच गरिरह्यो। जमिन्दारको छोरा रे, बाउले जोडेको उडाएरै जिन्दगी चलाउँछ रे। फटाहा, गँजडी, भित्ती, जँड्याहा, नालायक, बौलाहा, गैरजिम्मेवार, असभ्य, विकृत जे विशेषण दिए पनि नपुग्ने जन्तु रहेछ त्यो त। त्यसलाई देखेर आफ्ना हुर्कँदै गरेका छोरा सम्झिँदा आङ्ग जिरिंग अनि रिंगटै चल्लाजस्तो भयो मलाई। छोरो बिग्रिँदा जे बन्छ नि, त्यसको पराकाष्ठा थियो त्यो।

म उर्लाबारी मै उत्रिएँ। मेरा सहकर्मीका अनुसार ड्राइभरले त्यसलाई दमकमै छोडेर गाडी हुईँक्यायो रे।

चैतमा जेठो छोरासँग मोरंग जाँदाको माइक्रोमा पनि फेला परे अधकल्चा ‘अरबे’ केटाहरू। पहाडका कुनाबाट खाडी मुलुक भासिएका, विकसित ठाउँको हावापानी चाखिसकेका भए पनि सभ्यताको न्यूनतम झल्को तिनीहरूमा थिएन। मात्तिएका पट्ठाहरू थिए ती, छाडापनको पराकाष्ठा प्रस्तुत गर्न सक्ने र परिवेश अनुसार बोल्न मिल्ने र नमिल्ने शब्दहरू हुन्छन् भन्ने कुराको थोरैमात्र पनि हेक्का नभएका । हल्ला नगरौँ अरूलाई सुत्न दिऔँ भनिसक्दा चुप लाग्थे, चुप लागिसक्दा कराउन थाल्थे। छोरासँग बस्न पनि असहज लाग्ने भाषा र टिका टिप्पणी सुन्दै सुत्नै नपाई इटहरी पुगियो। अति सभ्य वातावरणमा हुर्केको मेरो बच्चाले अति असभ्य वातावरणको अनुभव पनि पाओस् भनी चुपचाप बसेँ। ड्राइभरले इटहरीमा छोडेर तितरबितर पार्‍यो, जुन ठिकै लाग्यो। त्यसपछि कम्तीमा मिठा मिठा नेपाली गीत सुन्दै नाइट बसबाट उर्लाबारी पुग्न पाइयो।

उताबाट फर्किँदा दमकमा गाडीले ढिलो गर्‍यो। मैले स्वाभाविक ठानेँ। छिटो त प्राय: नै हुदैन। आइपुगेको गाडीलाई चोकमा पुलिसले समातेको रहेछ। कण्डक्टरले रक्सी खाएको हुनाले पक्रेको रे। काउन्टरको मानिस आफैँ गएर छुटाएर ल्यायो र नराम्ररी गाली गर्‍यो। त्यही कारण ड्राइभर पनि टेन्सनमा थियो। चढ्दा चढ्दै लाग्यो त्यो रातको यात्रा पनि उस्ताको उस्तै हुनेभो। कन्डक्टर साँच्चै महाझल्लु रहेछ। मात्‍नु र नमात्‍नुमा केही अन्तर नभएको।  ड्राइभर बोल्न चाहिरहेको थिएन, तर बोलाइरह्यो, पैसाको बारेमा किचकिच गरिरह्यो। हाम्रो पछाडिको सिटमा बसेको मानिस गाडी मालिकको साथी रहेछ। आफ्नो पोल नखुलोस् भनेर उसको चाकरी गरिरह्यो। मातेर हिँडेर यात्रुलाई टेन्सन दिएको भनी एउटी महिलाले मज्जाले थर्काई। काभ्रे भञ्ज्याङ्गमा माइती नेपाल लगाएर पक्राउँछु भनेर धम्की दियो।  श्रीमान बिर्तामोड र श्रीमती सुरूङ्गाबाट चढेका रहेछन् । केटी भगाएको आरोपमा पुलिस लगाउने सुर कसेको रहेछ रक्सी लागेको बेला। तर उनीहरू केही नबोली बसिरहे।  पैसावाल जमिन्दार वा व्यापारीजस्ता लाग्ने तिनीहरूलाई त्यो छुद्र मानवसँग पौँठेजोरी खेल्नु थिएन।  लालबन्दीमा ‘टन्न’ जग्गा छ, राजमार्गमा सटरवाला तीनतले घर छ भनेर फुर्ती लाउँथ्यो। कसैको गाडीमा किन कन्डक्टर भएर गाली खाँदै हिँडेको त भनेर मैले सोध्दा ‘आफ्नो लागि कमाउनु परेन? रमाइलो गर्ने, घुमफिर गर्ने पैसा बाउले दिँदैन’ भन्थ्यो।

आफूलाई प्रत्यक्ष हानी नपुर्‍याउञ्‍जेल यात्रामा अरूको वास्ता गर्नु हुँदैन भन्ने सबैजसो यात्रुमा हेक्‍का हुन्छ। यसकारण यात्रामा खराब पात्रहरू फेला परे पनि खासै अप्रिय स्थिति खडा हुँदैन। एक पटकको अर्ती उपदेश र गाली गलौजले बिग्रिसकेको वा बिग्रिन तयार रहेको कसैको सन्तान सुध्रिँदैन भन्ने कुरा सबैलाई थाहा हुन्छ र उसलाई सुधार्नु पर्ने जरूरी पनि यात्रुलाई हुँदैन। कुनै बुज्रुगले भनेको सम्झिन्छु, ‘घर-समाजले नसकेको मान्छेलाई सुधारगृहको टिकट यमराजले आफैँ पठाउँछन्।’ शायद यही कुरा सबैले मनन गरेका हुन्छन्।

जे होस्, दुनियाँ रंगीविरंगी पात्रहरूले बनेको छ। जति धेरै रंगहरू देख्‍न पायो उती आफूलाई  राम्रो-नराम्रोको चेतना हुन्छ।  कहिलेकाहिँ  आफ्नो काम र बासको परिवेशभन्दा साह्रै तल झरेर त्यहाँका वास्तविकताहरूमा समाहित हुनु पर्ने परिस्थिति आइपर्छ, त्यस्तै पात्रहरूसँग।  आफूजस्तै अरूलाई देख्‍न खोज्यो भने वेकारमा ब्लडप्रेसर बढ्छ। म धेरैलाई ज्ञानी बनाउन सक्ने क्षमता भएको ज्ञानी मान्छे हुँ भन्ने सुझले त अप्ठ्यारोसँग जुध्‍ने शक्ति नभएर सहने चेतनामात्र दिनेरहेछ। यही वास्ताविकता आत्मसात गरी म आफैँसँग सोध्‍ने गर्छु – यदि हरेक मान्छे सभ्य र ज्ञानी  भइदिने हो भने यो दुनियाँ कतिको चाखलाग्दो र रमाइलो हुन्थ्यो होला ? मलाई लाग्छ विग्रिएका मानिस नभएको संसार निरश हुन्छ।

Print Friendly, PDF & Email

By hkafle

I am a University teacher, with passion for literature and music.

Leave a Reply

Your email address will not be published.