म एउटा शिक्षक हुँ। सिक्‍नु सिकाउनु मेरो जीवनको मूल लक्ष्य बनेको छ।  त्यसैले म आफ्नो र अरूको भोगाइबाट सिक्दै जीवनका मान्यताहरू स्थापित गर्दै जानुपर्छ भन्‍ने विश्‍वास राख्छु । मलाई आफू जन्मे हुर्केको परिवेशले आत्मनिर्भर हुनै पर्ने अनिवार्यता सिकाएको छ । धेरै सानो हुँदा नै ममा यो घर मेरो पनि हो, यहाँ परेको फोहोर मैले पनि पन्छाउनु पर्छ, छरिएका भाँडाकुँडा र लत्ताकपडा ठीक ठाउँमा राख्‍नु पर्छ, भोका वस्तुभाउलाई समयमा खुवाउनु पर्छ, सुकेका तुलफूललाई पानी दिनु पर्छ, बाँझिएको जमिन खनजोत गर्नुपर्छ भन्‍ने चेतनाको विकास भएको हो । परिवारको कामलाई सजिलो पार्न आफूले सके जति गर्नुपर्छ भनेर बुबाआमासँगसँगै मेलापात गर्न हिँड्थेँ ।  भोक लागेपछि आमालाई पर्खिनुभन्दा खाना आफैँ तयार गर्न तम्सिन्थेँ। त्यतिबेला गरेको काम ठूलालाई चित्त बुझ्ने खालको हुन्‍नथ्यो । तर मेलापातबाट थाकेर फर्किएकी आमालाई पर्खनु ठीक लाग्दैनथ्यो । यो नपर्खिने बानी अहिलेसम्म छुटेको छैन ।

बित्‍न लागेको काम हतारमा गर्न खोज्दा म कहिलेकाहिँ आलोचनाको पात्र पनि बनिरहन्छु । अरूबाट काम गराउन बानी परेकाहरू मलाई मेरो स्थान र हैसियत सम्झाउन खोजिरहन्छन्। मेरो लागि कामको वर्गीकरण भइरहन्छ। तर घरमा होस् वा कार्यालयमा, आँखामुनिको कसिंगर र नाकमुनिको दुर्गन्ध म पन्छाउँछु । छेउको मानिसलाई मन परोस् कि नपरोस् म मतलब राख्दिनँ । फोहोरमा बस्न चाहनु उसको नैसर्गिक अधिकार होला ।  त्यो उसैले जानोस् ।  म त फोहर पन्छाउन पाउने आफ्नो अधिकारको नै बढी कदर गर्छु । जुन वस्तुले आफूलाई हानि पुर्‍याउँछ, त्यो अरूको बाटोमा रहन दिन्नँ।

शिक्षकको रूपमा जीवनका चार चरणहरू बिताइसक्दा यस्तै अनुभव संगालिसकेको छु । सुरुवातमा नर्सरी स्कुलमा काम गर्दा पढाउनुबाहेक बच्हरूको सिँगान पुछिदिने, आची धोइदिने, खाना खुवाउने र कक्षाकोठा सफा गर्ने काम गरेँ ।  पछि अर्को ठूलो बोर्डिङ्ग स्कुलमा होस्टेल वार्डेन भएर बच्चाका पछि पछि कुदेँ । घरभन्दा टाढा रहेका वालबच्चाहरूलाई कडा अनुशासनमा राखी घण्टीसँगै दैनिकीहरू गराउने कामले आफैँलाई अनुशासित बनायो । अर्को चरणमा कीर्तिपुरको केन्द्रमा रहेको एउटा माध्यामिक तहको बोर्डिङ्ग स्कुलमा Vice Principal भएर प्रशासनको अनुभव लिएँ । बेग्लै संस्कारमा हुर्किएका फितलो प्रशासनका कारण अनियन्त्रित केटाकेटीहरूलाई बोर्डिङ्गको संस्कारमा ल्याउने काम गाह्रो थियो । प्रशासनलाई कसिलो पार्दा स्वतन्त्रतामा पल्किएका शिक्षक साथीहरू पो असन्तुष्ट भए । बुझेँ, शत्रु बनाउन आफू खराब हुनु नपर्ने रहेछ । शत्रु बनाउन र मित्र गुमाउनमा अरू मानिस र परिश्थितिको पनि हात हुने, तर मित्र बनाउन र कायम राख्‍नमा मात्र आफ्नो भूमिका हुने रहेछ ।

मेरो चौथो चरणको यात्रा जारी छ, उच्‍च शिक्षाको शिक्षकको रूपमा । नयाँ अनुभूतिहरू लिने क्रममा नै छु । यी विभिन्‍न चरणहरूबाट सिकेका कुरा मेरो जीवनका लागि मार्गदर्शक रहेका छन् ।

मलाई कामचोर र वेइमान मानिसहरूसँग डर लाग्दैन । स्वाभिमानी र इमान्दारहरूसँग डराउँछु। असल मानिसहरूले दिएको चुनौती अर्थपूर्ण र कठीन लाग्छ, अनि त्यति नै गहन चुनौती वेइमानहरूलाई दिन चाहन्छु। ठान्दछु, नजिकका आफन्त र साथीहरू नै मसँग धेरै सजग रहन्छन्, जस्तो म उनीहरूसँग रहन्छु । चाहन्छु, मेरो वास्तविक बैचारिक प्रतिस्पर्धा असल मित्रहरूसँग होस् । आत्मीय समूहभित्र हुने स्वस्थ बैचारिक, सैद्धान्तिक द्वन्द्व नै मेरो दार्शनिक विकासको आधार हो। त्यसैले असल मित्रहरूलाई झन बढी सैद्धान्तिक पराजयको खतरामा राख्‍नु पर्छ भन्‍ने विश्‍वास राख्छु । यसरी उनीहरूको पनि दार्शनिक विकासमा सहयोग पुग्छ ।

स्वस्थ चुनौती नचाहनेहरूले विस्तारै साथ छोड्न सक्छन् । तर यसबाट आफूलाई घाटा हुँदैन । चाकरी र झुटो प्रशंसामा झुण्डिएको मित्रता कुनै पनि बेला खसेर चकनाचुर हुनसक्छ ।

मैले सानाठूला धेरै संस्थाहरूमा काम गरिसकेको छु। प्राय: सबै ठाउँमा मैले नेतृत्वदाताहरूको नजिक रहेर काम गरेको छु। यो किन हुने गरेको छ, त्यसको ब्याख्यान आफैँले गर्नु गाह्रो मेरो लागि काम हो। ममा केही गुण होलान् जसको कारण मानिसहरू मलाई नजिक राखेर काम गर्न चाहन्छन्। कसैले शालीनता, कसैले प्रतिबद्धता, कसैले धैर्यता त कसैले योग्यताको पक्षलाई मूल मानेको पाएको छु। तर तपाईँ मलाई किन चाहनुहुन्छ भनेर मैले कसैसँग सोधेको छैन। सोध्‍नु जरूरी पनि छैन जस्तो लाग्छ।

यस्तो औपचारिक सामिप्यमा मलाई भौतिक, आर्थिक फाइदा कहिल्यै भएको छैन, र आफूले फाइदा लिन खोजेको पनि छैन। अरूले देख्दा खूबै लाभ लिएको, शक्तिमा रहेकोजस्तो लागे पनि ठूला मानिसको संगतमा बस्‍न पाएको, सफलता-असफलताका अनुभव, ज्ञानगुनका कुरा सुन्न पाएको सन्तुष्टिबाहेक केही मिलेको छैन।  मिलोस् भन्ने आशा पनि कहिल्यै गरेको छैन। अहिलेसम्म कसैसँग केही मागेको छु भने त्यो आफूले पाउनै पर्ने हक वा वञ्‍चित भएको सुविधामात्र हो।

मलाई लागिरहन्छ प्रत्येक मानिस, प्रत्येक सहयात्री वा सहकर्मी कुनै न कुनै रूपले तल परेको हुन्छ, पिडीत हुन्छ। कोही ब्यक्‍तिप्रति कुनै प्रकारको द्वेष वा पूर्वाग्रह राख्‍नु आफ्नै दु:ख र पिडाहरूको समुचित अनुभव र मूल्याङ्‍कन गर्न नसक्नुसरह हो भन्‍ने मेरो धारणा रहेको छ।  तर म सबै मानिसलाई एउटै नजरले हेर्न सक्दिनँ। यो सुन्दा व्यक्‍तिवादी लागे पनि नितान्त वस्तुवादी मूल्याङ्‍कन हो।

निस्पक्ष आँखाले हेर्दा मानिसहरूका बारेमा मनन् गर्नै पर्ने धेरै पक्षहरू देखिन्छन्।  परिचित मानिसहरूका विगत र वर्तमानका बारेमा आफ्नो दृष्‍टिकोण प्रस्तुत गर्दा यी पक्षहरूको चर्चा अनिवार्य हुने गर्छ।  मान्छेले आफ्नो विवेकले देखेको गर्छ, विवेक भए।  नभए संजोगवश राम्रो काम गरिदिए पनि पुग्छ।  केही नगर्ने र गर्न नसक्‍नेहरूका बारेमा केही भन्‍नु छैन।  यसो गर्नु कसैको अस्तित्वमा सिधै धावा बोलेको भनी परिभाषा हुनसक्छ।

कुनै चुनौतिबिना अरूको आडमा आफ्नो बर्चस्व कायम राख्‍न खोज्नेहरूका बारेमा पनि केही भन्‍नु छैन।  त्यस्ता मानिसहरूको मूल्य छैन वा कुनै संघर्षरत परिवेशमा स्थान छैन भन्‍ने पर्याप्‍त आधार र अधिकार पनि छैन। वास्तविकता भने यही हो, गर्न चाहने र सक्नेले गरेर नचाहने र नसक्नेलाई पनि घिसार्दे लिएर हिँड्नु पर्ने वाध्यता प्रगतिको प्रमुख वाधक भएता पनि हामी सबैले यसलाई आत्मसात गरेका छौँ।

मलाई लागिरहेको डर वा भइरहेको अनुभुति चाहिँ के हो भने हामी यो देशमा, या भनौँ आ-आफ्ना कार्यस्थलमै, कहिँ न कहिँ अल्मलिएका छौँ।  व्यक्‍तिगत स्वतन्त्रता र अधिकारका कुरा आफ्ना ठाउँमा छन्, तर घर संक्रमणवाट गुज्रिरहेको बेला आफ्नो कामभन्दा पनि सस्तो नाम अनि बाहिर फल्न सक्ने दामतिर ध्यान भएका मानिसहरूको सङ्‍ख्या बढ्दै जाला भन्‍ने चिन्ता बढेको छ।

दायीत्वको सूची कागजमा मात्र चेपेर त्यसको काममा अभिव्यक्‍ति दिन नचाहनेहरू, काम गर्नेहरूका खुट्टा तानी सधैँ आफू जिम्मेवार ठाउँ ओगट्ने तर कामलाई अगाडि बढ्न नदिनेहरू, अर्थात् प्रगतिमा हरदम रुकावट खडा गर्ने तत्वहरूबाट होसियार रहन मेरो आग्रह र त्यसमा सफलता मिलोस् भन्‍ने सबै पाठकहरूलाई शुभकामना।

[यो लेख “खुट्टा तान्नेहरूबाट होसियार” शीर्षकमा नेपालभूमि साप्ताहिकमा प्रकाशित छ]

Print Friendly, PDF & Email

By hkafle

I am a University teacher, with passion for literature and music.

Leave a Reply

Your email address will not be published.