आदरणीय हेडसर,

आफू विद्यालय पढ्दा ‘श्रीमान् प्रधानाध्यापकज्यू’ भनेर तपाईँको जस्तो कुर्सीमा बस्ने व्यक्तिलाई सम्बोधन गरेको मलाई सम्झना छ ।  विद्यालय छोडेपछि भने मेरो व्यवसायिक संगत नै बढी प्रिन्सिपल, भाइस प्रिन्सिपल, चिफ, कोअर्डिनेटर, हेड, डीन, भीसी, रजिष्ट्रारजस्ता पदधारी मानिसहरूसँगमात्र रह्यो ।  अहिले भने ‘प्रधानाध्यापक’ भन्ने शब्द नै अलि पछौटे भएजस्तो लागेकोले बोलचालकै आधुनिक लवजमा सम्बोधन गरेको छु ।

तपाईंसँग खासै गफगाफ हुन पाएको छैन किनभने हाम्रो भेटघाट हुने परिवेशहरू अत्यन्त कम छन् । तपाईँले हुर्काएर पठाएका बच्चाहरूलाई सम्हाल्ने ठाउँमा म आफूले काम गरेको पनि दुई दशक हुन लाग्यो ।  अहिले आएरमात्र मलाई थोरै बुद्धि पसेको हो कि तपाईँसँग मैले निरन्तर संवाद गरिरहनु पर्ने रहेछ ।  हिजोआज वालवालिकाहरू कुन वातावरणमा कसरी हुर्किदैछन् र हामीकहाँ आइपुग्नेहरूमा समाज, देश र भविष्यप्रति विकसित भएको चेतना कस्तो हुन्छ भन्ने मैले थाहा पाउनु नै पर्ने रहेछ । यो पत्रबाट हाम्रो संवादको शुरूवात भयो भनी बुझिदिनुहुनेछ भन्ने अपेक्षा राखेको छु ।  यसमा मैले अनुभवसँग जोडिएको सानो सन्दर्भभन्दा केही बढी लेखेको छैन । तपाईँको परिवेशसँग मेल खान गएमा संयोगमात्र नहोला ।  मेल नखाए तपाईँकै पेशा र कार्यक्षेत्रसँग सम्बन्धित विषय उठान भएकाले आफ्नो अलग अभिमत पठाई मेरो ज्ञानको क्षितिजलाई फराकिलो बनाइदिनुहुने नै छ ।

म अरू धेरै शिक्षित मानिसहरूजस्तै शहरमा बसोबास गर्छु । तर आफू गाउँघरतिर जाँदा भ्याएसम्म कहिले सरकारी विद्यालय त कहिले बोर्डिंग स्कूलतिर छिर्ने गरेको छु ।  आफ्नो ठाउँका पढेलेखेका अग्रज र हुर्कँदै गरेका केटाकेटी एकै थलोमा भेट्न पाइने हुनाले छोटै समयका लागि भए पनि चिया पसल, सरकारी कार्यालय वा उपभोक्ता समितिहरूका जमघटभन्दा पाठशालाहरू नै रोज्ने गरेको छु ।  वास्तवमा, परिचित व्यक्तित्वहरू कार्यरत यस्तो ठाउँमा पुग्दा एकै बसाइमा भूत, वर्तमान र भविष्यको भरपूर समीक्षा हुन पाउँछ ।

यसपाली गाउँतिर जाँदा एउटा नाम चलेको पुरानो माद्यमिक विद्यालय पुगेँ ।  त्यो विद्यालय पुगेरअरू परिचित अनुहार भेट्न नपाउँदै त्यहाँका हेडसरसँग जम्काभेट भयो । सञ्‍चो–विसञ्‍चोको सोधपुछ लगत्तै भनिहाल्नु भो, “लौ भाइ, तिमी हाम्रो ठाउँको पहिलो पीएचडीधारी व्यक्ति, हाम्रो लागि ठूलो मान्छे, आज हाम्रा शिष्यहरूलाई पनि प्रवचन दिनुपर्‍यो”। आग्रह आकस्मिक भए पनि असहज थिएन । म तयार भएँ ।  मलाई मूलतः आफ्नो पेशागत अनुभव सुनाउनाका साथसाथै सरकारी स्कूलमा पढेर पनि प्रगति गरिन्छ अनि नेपालमा पनि प्रशस्त अवसरहरू छन्  भन्ने विषयमा विद्यार्थीहरूसँग अन्तर्क्रिया गर्न भनियो ।

कक्षामा ७०-८० जना माद्यमिक तहका विद्यार्थीहरू थिए ।  शुरूमै उनीहरूले नयाँ मान्छेले केही न केही नयाँ कुरा गर्छ भनेर अत्यन्त चासो देखाएको पाइनँ ।  मेरो त्यहाँका अरूको भन्दा पनि सामान्य हाउभाउ र उतैको लवज भएका कारण नयाँपन नलागेको पनि होला । मैले पनि आफूलाई नाटकीय रूपमा कुनै अर्कै ग्रहबाट टप्केको जीवजस्तो गरी प्रस्तुत गरिनँ । आफ्नै छरछिमेकमा त्यसो गर्नु आवश्यक पनि थिएन । जति जना बच्चाहरूले चाख माने त्यतिलाई चाहिँ मेरो प्रस्तुतिले फाइदा भयो होला भन्ने अडकल काटेँ ।

दिइएका विषयहरूमा धेरथोर बोलेर इमान्दारीपूर्वक मैले आफ्नो कर्तब्य पूरा गरेँ । कक्षाकोठा आफ्नो ‘कम्फोर्ट जोन’ भएकोले एकदुई घन्टा विना तयारी बोल्नु सामान्य नै भइसकेको छ ।  ‘करियर’ सम्बन्धी बोल्नुपर्ने आग्रह भएकोले आफ्नो बारेमा थोरै बोलेर म सिधै विषयमा प्रवेश गरेको थिएँ यो प्रश्‍नबाट, “तिमीहरूमध्ये कतिजना पछि गएर शिक्षक बन्न चाहन्छौ?” मेरो जिज्ञासामा कसैले हात उठाएनन् ।  विद्यार्थीहरूको अनुहारमा प्रश्न नबुझेको विष्मयभाव पनि थिएन । दश र एघार कक्षाका विद्यार्थीहरूमा यसमा सुझबुझ नहुने कुरा पनि भएन । मैले केहीलाई एक एक गर्दै त्यही प्रश्न सोधेँ । उनीहरूले पनि शिक्षक हुने चाहना राखेनन् ।  मैले उनीहरूलाई भनेँ, “तिमीहरू शिक्षण पेशामा जान चाहदैनौ, त्यो तिम्रो अधिकारको कुरा हो, म सम्मान गर्छु ।  म आफू शिक्षक भएको कारणले मेरो पेशा अरूलाई मन पर्नुपर्छ भन्ने ढिपी पनि गर्दिनँ । तर यो प्रश्न तिम्रा लागि, जसको उत्तर तिमीले मननमात्र गरे पुग्छः ‘न तिमीहरू शिक्षक बन्दैछौ, न त तिमीजस्ता अरू । न तिम्रा आफ्नै गुरूजनका छोराछोरी नै शिक्षक बनेका होलान् । अब तिम्रा आफ्ना बालबच्चालाई चाहिँ कसले पढाउँछ त पछि? तिम्रो पुस्ताले शिक्षण पेशा नअंगाल्दा तिमीभन्दा पछिको पुस्ताले पढ्न-लेख्नै नपाउने त होइन?’

‘खोइ त्यसबारेमा त कहिल्यै सोचेकै छैन’ । यही थियो सबैको जवाफ, व्यक्त गरे पनि नगरे पनि ।

मैले सरकारी विद्यालयहरूमा भेट्ने गरेका अधिकांश शिक्षक साथीहरूको भनाइ अनुसार कमजोर आर्थिक स्थितिका, विविध कारणले अशान्त वा भाँडिएका श्रमिक परिवारका बच्चाहरू  सरकारी स्कूलमा आउँछन् ।  पढेर जीवनमा के नै हुन्छ र, जति पढे पनि आखिरमा जीवन चलाउन खाडी क्षेत्र नै जानुपर्ने  वा देशभित्र नै श्रमिक बन्नु पर्ने होला भन्ने अनिश्चितताको भावले उनीहरूको मन सुरू देखिनै खिन्न हुन्छ रे ।  यस्ता बच्चाहरूले भरिएको कक्षामा छिर्न र पढाउन जाँगर चल्दैन रे शिक्षकहरूलाई पनि । यसपाली पुगेको विद्यालयका सरहरूले पनि यही विषय उठाउनुभयो ।  हुन त राजनीति र नेताबाहेक समाजको अधोगतिको दोषजति आफूभन्दा अगाडि र पछाडिको पुस्तालाई थोपर्ने मेरो पुस्ताका मानिसहरूको यो गुनासोलाई गम्भीर रूपमा नलिए पनि हुन्छ । तर सिकाइ, सिक्ने थलो र सिकाउनेहरूप्रतिको यो कथित वितृष्णा राम्रो सङ्केतचाहिँ हुँदै होइन ।

तर, निम्न वर्गका परिवारमा पनि शिक्षाप्रतिको चेतना रहेछ त ।  उनीहरूमा शिक्षाको शक्तिप्रति विश्वास नभए किन बनिबुतो गरेर बच्चाहरू स्कूल पठाउँथे । अझ आयस्तर अलिकति माथि हुने वित्तिकै निजी विद्यालयहरूमा भर्ना गरिदिने इच्छा पनि कहिल्यै मरेको हुँदैन । आफूले दुःख पाए पनि बच्चाहरू पढीलेखी सुखी बनून् भन्ने चाहना हरेक आमाबुबामा छँदैछ । तर शिक्षकहरू नै किन भन्दैछन्  बच्चाहरूमा पढाइप्रति जाँगर छैन? कि शिक्षक आफैँमा उनीहरूलाई पढाउने जाँगर मरेको छ ?  शिक्षाप्रति त्यत्ति धेरै प्रेरणा भएका बाबुआमाका बच्चाहरूमा प्रेरणा किन छैन? त्यस्तो प्रेरणा भर्ने काम विद्यालय र शिक्षकको होइन र?  घर र विद्यालयका बीचमा त्यस्तो के तत्व छ जसले बच्चाहरूलाई सिकाइप्रति निराश बनाउँछ? विद्यालय शिक्षाप्रति निशर्त तयार र प्रेरित बच्चाहरूमात्र अपेक्षा गर्ने तर निराश विद्यार्थीहरूप्रति निराश नै बन्ने अधिकार शिक्षकलाई छ त?  व्यक्तिगत चाहना एकातिर, तर त्यसका कारण पेशागत कर्तब्यलाई नै गौण बनाइदिने स्वतन्त्रता शिक्षकलाई समाजले दिएको छ र?

भगवानको मूर्तिमा भगवानको अनुहार कस्तो हुनुपर्छ भन्ने सन्दर्भमा गफगाफ हुँदा प्रसंगवश मैले मेरा अग्रज शिक्षकहरूलाई सोधेको थिएँ, “भिमनीधि तिवारीको कथा ‘अमरपुत्र’ पढ्नु भएको छ नि?  भगवानको मूर्तिसँग कसको अनुहार मिल्छ भन्ने बडो जीवन्त चित्रण छ त्यहाँ”।  “पढाइ लेखाइको त कुरै छोडौँ भाइ,  वर्षौं भइसक्यो नगरेको । आजकल त इः यो पढ्ने बानी छ”। एकजनाले यही भन्दै मोबाइल फोन निकालेर देखाए ।  अर्का एक सज्जनले त्यही भेटमा भनेका थिए, “आजकलका बच्चाहरू पटक्कै ध्यान दिँदैनन्, हामीलाई बिल्कुल गन्दैनन् । पढाएको कुरा कहाँ पुग्छ पुग्छ, अनि कसरी जाँगर चलोस् । तिम्रो विश्वविद्यालयमा पनि यस्तै हुन्छ”?

यस्तो जिज्ञासामा मेरो उत्तर सरल छ । शायद आजकलका बच्चाहरू हामीभन्दा स्मार्ट छन्, वा भएको महसुस गर्छन् ।  मलाई लाग्छ हामीभन्दा बढी अध्ययनशील र बाठा मानिसहरूले सिर्जना गरेका सूचना र ज्ञानको श्रोतमा हाम्रो भन्दा छिटो र व्यापक पहुँच छ उनीहरूको । यही कारण उनीहरू हामीलाई गन्दैनन् ।  त्यसमाथि उनीहरूको र हाम्रो सूचनाको श्रोत र श्रोतमा पुग्ने माध्यम पनि एउटै भएपछि उनले हामीलाई अलग ठान्ने सम्भावना कम हुन्छ ।  शिक्षक ज्ञान र बानी-वेहोरा दुबैमा आम मानिसभन्दा अलग हुनुपर्छ होइन र?

विश्वविद्यालयका विद्यार्थीहरूमा पनि शिक्षकलाई नगन्ने प्रवृत्ति हुन्छ । र त्यो कहिलेकाहीँ मान्य पनि लाग्छ ।  शिक्षक आफूभन्दा स्मार्ट र प्रतिभाशाली होस् भन्ने उनीहरूमा चाहना हुन्छ ।  उनीहरू त्यत्तिकै शिक्षकलाई नगन्ने वा नटेर्ने आँट गर्दैनन् ।  अधिकांश शिक्षकहरू आफूलाई अध्ययनशील राख्छन्, र केही न केही विषयमा अनुसन्धानरत रहन्छन् । वास्तवमा नयाँ पुस्तासँग तालमेल राख्‍न नसक्ने व्यक्ति विश्वविद्यालयमा धेरै पछाडि पर्छ । लेख्नु पढ्नु हाम्रो लागि नैसर्गिक छ । हाम्रो तहका शिक्षकको काम नै ज्ञान सिर्जना गर्ने र प्रसारण अनि प्रचारमाम पनि लाग्ने हो । हाम्रो सिर्जना नै विद्यालय तहमा पुग्ने हो ।  हामीले नयाँ काम गरेमात्र तपाईँहरूले पढाउने पाठ्यवस्तु र पाठ्यपुस्तक पनि अध्यावधिक हुन्छन् ।  यसरी तपाईंको र हाम्रो काम पनि जोडिएको हुन्छ ।

हाम्रो जमानामा शिक्षक दुनियाँको सबैभन्दा जान्ने व्यक्ति हो भन्ने विश्वास व्यापक थियो ।  त्यो विश्‍वास अझै पनि हटिसकेको छ जस्तो लाग्दैन ।  म यो वास्तविकता पनि भुल्दिनँ कि हाम्रो समयमा अब्बल ठानिएका हामीजस्ता अधिकांश मानिसहरू शिक्षण पेशामा छन् । शिक्षण आकर्षक पेशा, सजिलो पेशा, अन्तिम गन्तब्य वा जे भएर होस्, हाम्रो पुस्ता त्यहाँ छ । तर हामी अब्बल मानिसहरूको सक्रिय कार्यकालमा शिक्षकप्रतिको विकर्षण त्यति स्वाभाविक लाग्दैन मलाई । अहिलेको बच्चा पनि शिक्षक तुच्छ हो भन्ने कुरामा विश्वास गर्दैन होला । हुनसक्छ, उसले अहिले हामीबाट पाएभन्दा बढी नै अपेक्षा राखेको छ । घरबाट पाउने त अवसरमात्र हो, समाजसँग घुलमिल हुने मौकै मिलेको छैन । अनि विद्यालय र शिक्षककै छत्रछायाँमा जीवनका आधार वर्षहरू बिताइरहँदा हामीबाट अपेक्षाकृत मार्गदर्शन नपाउँदा हामीसँग निराश हुनु उसको लागि स्वाभाविक देखिन्छ, होइन र?

अर्को कुरा, शिक्षक बन्ने उद्देश्य नै नलिएको बच्चाले शिक्षक आदर्श र ज्ञानी व्यक्ति हो भनेर बुझेको पनि त छैन होला नि? कसले बुझायो होला र उसलाई? उसका शिक्षकले तेरो आदर्श म हुँ भनेर आश्वास्त पारेका छन् त? मेरो विचारमा शिक्षणको व्यापक र नैसर्गिक महत्वका बारेमा हिजोआज कुराकानी हुँदैन । ठूला साना सबैको ध्यान सूचना, ज्ञान र मनोरंजनका अन्य माध्यमहरूमा तानिएको छ । हाम्रो पालामा शिक्षक नै यी तीन तत्वहरूको श्रोत थियो,  अनि माध्यम पनि । अहिले छैन अनि त्यसमा गुनासो मान्नु पर्ने पनि केही छैन ।

अन्त्यमा,

देश र विदेशलाई समेत योग्य जनशक्ति तयार गर्ने हामी आफ्नै पेशाका अनुयायी र नयाँ पुस्ता तयार गर्न पछाडि परिरहेका त छैनौँ? शिक्षकको काम आफ्नो पाठ पूरा गर्नेमात्र नभएर आफ्नो आदर्शमा हिँडने अरू सयौँ मार्गदर्शकहरू हुर्काउने पनि हो भन्ने मेरो विश्वास छ ।  भविष्यका कर्णधार भनेर फुरुक्क पारिएका किशोर किशोरीहरूको भविष्य बनाउने जिम्मा लिएर बसेका मजस्ता हरूको चासो छ, त्यसको जग तपाईँ र तपाईँका सहकर्मीहरूले कसरी तयार गर्दैछन् ?

माथि उल्लेख गरिएका विद्यार्थीहरूको विचारलाई सांकेतिक मात्रै ठान्ने हो भने पनि सङ्केत राम्रो छैन भनेर हामीले बुझ्नु पर्छ । शिक्षकजस्तो समाजको मार्गदर्शक व्यक्ति तयार गर्ने कर्तब्य जति मेरो हो त्यत्ति नै तपाईँको पनि हो । यसका लागि तपाईँको र मेरो सहकार्य हुनु जरूरी देखेको छु ।  म तपाईँको अभिमतको प्रतिक्षामा रहनेछु ।

[साभारः परिसंवाद डट कम]

Print Friendly, PDF & Email

By hkafle

I am a University teacher, with passion for literature and music.

Leave a Reply

Your email address will not be published. Required fields are marked *