प्यारो छोरा,

म अहिले धुलिखेलस्थित काठमाडौँ बिश्वविद्यालयको एउटा कोठामा बसेर यो पत्र लेख्दैछु। तिमी अर्को कोठामा आफ्नै धुनमा छौ। म आफू तिमीजत्रो हुँदा र उच्चशिक्षाका लागि विश्वविद्यालय प्रवेश गर्न लाग्ने ताकाका अनुभुतिहरू स्मरण गर्ने कोशिस गरिरहेको छु। कल्पिरहेको छु, जतिबेला म आफ्नो गन्तव्य खोज्दैथिएँ, त्यतिबेला यो विश्वविद्यालय स्थापित हुँदै थियो। म तिमीजत्रो हुँदा यसका संस्थापकहरू मजस्ता युवाहरूलाई आकर्षण गर्न यही परिसरमा दिनरात पसिना बगाउँदै थिए।

त्यसबेलाको मेरो पुस्ताका लागि खुलेको यो संस्थामा पढ्ने मैले कल्पना पनि गरेको थिइनँ। जतिबेला गुणस्तरीय शिक्षाका लागि विदेशिन खोज्ने युवाहरूलाई स्वदेशमै शिक्षा दिन यो विश्वविद्यालय बामे सर्दै थियो, म आफ्ना पेवा अदुवा र कुखुरा बेचेर जम्मा भएको पैसा लिएर नजिकको शहरमास्थित सामुदायिक क्याम्पसमा आईए पढ्न गाउँ छोड्दैथिएँ।

स्नातकोत्तर सकेपछि कर्मथलो खोज्दै काठमाडौँबाट बाहिर निस्किँदा ३०–३५ किलोमीटर पूर्व उसबेलाको उम्दा यो विश्वविद्यालमै अल्झिएँ। त्यो तिमी जन्मनुभन्दा एकवर्ष अघि थियो। त्यसपछि म यही ठाउँमा छु। हरेक वर्ष १८–१९ वर्षका किशोर–किशोरीहरूलाई स्वागत गर्दै पूरा उन्नाइस वर्ष बिताइसक्दा मलाई कहिल्यै महसुस भएको थिएन कि यस संस्थामा भर्ना गर्न चाहने हजारौँको भिडमा एकदिन तिमी पनि हुनेछौ। त्यो यही साल परेको छ। अरू बेला खासै महत्व नदिई म हेर्ने गर्थें त्यो युवाहरूको भिडलाई। यसपालि मेरो दृष्टिकोण फेरिएको छ, अनुभव अलग भएको छ। सधैंभरी पराइहरूको ठानिएको हूलमा मेरो आफ्नो सन्तान अरूका सन्तानसँगै उभिएको, घस्रिएको, चेपिएको अनि उत्रिएको पाउँदा म सबै आमाबुबाको भावनालाई महसुस गर्न थालेको छु। हजारौंको भिड अचानक आफ्नाहरूको नै लागिरहेको छ।

त्यो भिड देशलाई र देशभित्रकै एउटा विश्वविद्यालयलाई विश्वास गरी भर्नानिहित संघर्ष पूरा गरेर आएका किशोर–किशोरीहरूको भिड हो। उनीहरूको सपनाका साझेदार हामी अध्यापक तथा कर्मचारीहरूलाई फेरि एक पटक आत्मविश्वास बढेको छ। लागिरहेको छ, नेपाल र नेपालीको मिहेनतप्रति आस्था अझै बाँकी छ यो देशमा। गुणस्तरीय गन्तव्यको खोजी देशभित्रै पनि भइरहेको छ।

म हमेशा सोच्ने गर्छु, हाम्रो समाजले मिहेनती, जिम्मेवार र बुद्धिमान् युवाहरूको तयारीमा ध्यान पुर्‍याएकै छैन। अध्ययनमा लापरबाही गर्ने र आफूप्रति जिम्मेवार नरहने एक–दुई बच्चाहरू भेटेको आधारमा भन्ने गरेको छु, आजका घरपरिवार नै सन्तानहरुप्रति जिम्मेवार छैनन्। अझ आजकलका बच्चाहरू विश्वविद्यालय स्तरको शिक्षाका लागि पूर्ण तयार पनि छैनन्।

अहिले लाग्दैछ, मेरो सोचाइ ठीक थिएन वा अपूर्ण थियो । मेरो विद्यार्थी मेरो घर र छिमेकमा हुर्किएको छ, हुर्कंदै छ वा हुर्किंदो रहेछ । म आफूले पूर्ण जिम्मेवार भएको दावी गर्ने क्रममा अरूलाई कम जिम्मेवार ठानिरहेको रहेंछु । तर अहिले सोच्दैछु, के मैले मेरो छोरालाई मेरै कक्षाका लागि तयार गरेको छु ? के उसले खोजेको असल शिक्षकहरूको चरित्रको कसीमा म आफैँ खरो उत्रिनेछु ? के मेरा सहकार्मीहरु उत्रिनेछन ?

लगभग दुई दशकको अवधिमा कतिले प्रशंसा गरे, कतिले गाली, कतिले माया। थाहा छैन कसको खातामा के पर्‍यो, कसले के नाम राख्यो, कसरी कुरा काटियो। मेरो यतिञ्जेलको सुखद अनुभव यत्ति हो कि छुटपुट व्यंग्यबाहेक आफूप्रति लक्ष्यित कुनै दुखित बनाइहाल्ने टिप्पणीहरू सुन्न पाइनँ। सुन्नै नपाएकोले सुध्रिन पनि पाइनँ होला। तर आफूसँग संगत नगरेकाहरूको व्यंग्य र टिप्पणीलाई त मैले वेवास्ता नै गरिदिएको छु। जीवनमा अनावश्यक तनावबाट बच्ने एउटा उपाय यो पनि रहेछ।

तर छोरा, आजसम्म मैले नसुनेको नराम्रो टिप्पणी तिमीले भिडबाट सुन्नेछौ होला। तिमीलाई नमज्जा लाग्दो हो। अनि लाग्दो हो, मेरो बाबा अध्यापक नै नभइदिएको भए नि हुन्थ्यो नि। अथवा, बाबाले काम गर्ने ठाउँमा पढ्न नआएकै भए नि हुन्थ्यो होला। तर त्यसलाई एउटा बाबुको बारेमा गरिएको नराम्रो कुरा छोराले सुनेको रूपमा नलिनू। त्यसलाई एउटा भिडको पात्रको बारेमा त्यही भिडको अर्को पात्रले सुनेको रूपमा लिनू। मैले त तिम्रा बारेमा गरिएका राम्रा–नराम्रा औपचारिक टिप्पणीहरू तिमी स्कूल जान थालेदेखि सुनेको छु। अब पनि सुन्नेछु। नयाँ कुरा, हामीले एक अर्काका कुरा सुनेर एक अर्कालाई सुनाउनु पर्नेछ।

म शिक्षक भएर तिम्रो कक्षामा आएँ भने तिमीले मेरो कहिल्यै नदेखेको रूप देख्नेछौ। मेरा सहकर्मीहरूलाई पनि नयाँ रूपमा हेर्नेछौ। यत्तिका वर्ष अंकल र आन्टी भनिएका मानिसहरू अचानक सर र म्याम बन्नेछन्। तिमीले उनीहरूलाई दिएको श्रद्धा कि त घट्ने छ कि झन् प्रगाढ भएर जानेछ। आवासगृहमा हुर्किने क्रममा यत्तिका वर्ष खेलेका–हिँडेका खुड्किला र बाटाहरूबाट तिमी आफ्ना कक्षाकोठा, पुस्तकालय र प्रयोगशाला जान थाल्नेछौ। समग्र वातावरण अचानक नौलो र औपचारिक लाग्नेछ।

सहपाठीहरूले तिमीलाई सोध्लान, आफ्नो बाबाको विषय किन नपढेको त ? तिमीलाई बाबाको विषय काम नलाग्ने वा कम काम लाग्ने पनि भन्न मिल्ने छैन किनभने मैले आफ्नो काममा देखाएको प्रतिवद्धता र आफ्नो विधाप्रतिको तन्मयता तिमीले झन् नजिकबाट देख्नेछौ। सोध्नेहरूलाई तिमीले भनिदिए हुन्छ, परिवारमा हरेक पुस्ता र सदस्यले अलग–अलग विधा समात्दा परिवारको सोच, वौद्धिकता र भविष्यको दिशामा विविधता आउँछ। कसैले पनि आफू जे हो आफ्नो सन्तानलाई त्यही बनाउने जवरजस्ती नगरोस्। विविधताले परिवारमा सम्भावनाहरू पनि बढाउँछ। यस्तै विविधता भएका परिवारहरूले बनेको समाज झन् बढी ऊर्जाशील हुनसक्छ। तिमी भनिदेऊ, मेरो परिवार अलग–अलग धारका मानिसहरूको संगम स्थल बनोस् । अलग–अलग अनुभवहरूले धनी बनोस्। मैले मन नपराएर होइन, अलग पहिचान र अलग सम्भावनाहरू खोजी गर्न बाबाको भन्दा अलग विधा रोजेको हुँ।

एउटा कुरा बुझिराख, मैले आजसम्म तिमी र तिम्रो भाइसँग देश छोडेर पलायन हुने कुरा एकपटक पनि उठाएको छैन। बरू मैले जोड दिएको छु कि तिमीहरूको आधारभूत शिक्षा–दीक्षामा माटोको स्पर्श होस्, र आफूजस्ता साधारण नेपालीहरूसँगको संसर्ग अधिक रहोस्। मैले भनेको छु, तिमी जे पढ नेपाली समाजसँग जोडिएर पढ ।

मेरो शिक्षणमा व्यवहारिक ज्ञानगुनका पक्षहरु जोडिएका छन्। मेरो कक्षा लिन पाएनौ भने पनि अरूबाट सुनौला, मैले प्रायः घरमा छलफल नगरेका विषयहरूको चर्चा गरिरहेको हुन्छु। अरू कुनै कक्षामा बोलिरहँदा मलाई पनि लाग्दो हो, यो कुरा मेरो छोराले पनि सुन्नुपर्छ। मैले जे ज्ञान अरूलाई दिइरहेको छु, जे अरूलाई सिकाइरहेको छु, उसले पनि पाउनुपर्छ र सिक्नुपर्छ। घरमा बाबु–छोरा हुनुको सामिप्य वा दूरीमा धेरै कुरा भनिदैनन्। सन्तान बढ्दै जाँदा आफ्नै सन्तानसँगको सम्बन्ध विद्यार्थीसँगको भन्दा औपचारिक बन्दै जाँदो रहेछ। तर म विश्वस्त छु, तिमीलाई पढाउने शिक्षकहरूमा दैनिक पाठबाहेक ज्ञान र वौद्धिकताको चेतना पनि उत्तिनै हुनेछ।

तिमी प्रवेश गरेको विश्वविद्यालय धेरै रंगहरू, धेरै संवेगहरू, अनि धेरै आवेगहरूको संगम हो। वास्तवमा विश्वविद्यालय भनेको यस्तै ठाउँ हो। अध्ययन र अनुशासनबाट थिचिएर, किचिएर, अनि मेरो उपस्थितिको आंशिक दबाबमा परेर उमेरजन्य स्वतन्त्रता नगुमाउनू । आफ्ना स्वाभाविक पाइला र पखेटाहरूलाई कुण्ठित नगर्नू। राम्रो–नराम्रो, ठिक–वेठिकको ज्ञान त तिमीलाई छोडिसकेका विद्यालयहरूले नै दिइसकेका छन्। परिवारले नै सिकाइसकेको छ। खाल्टोमा नपरी खाल्टाभित्रको दुःख थाहा हुँदैन। तर निरन्तर खाल्टोतिर पाइला लम्काउनु तिम्रै लागि राम्रो हुनेवाला छैन। यो कुरा तिमीलाई राम्रो थाहा छ।

दुःखको कुरा, समाजको एक तप्काले तिम्रो समग्र पुस्तालाई माटो टेक्न नपाउँदै जन्मेको माटो नै गलत थियो भनेको छ। पाइला सार्न नपाउँदै बाटो गलत थियो भनेको छ। भविष्यको कर्णधार भनेर एउटाले फुर्क्याएको छ भने अलिकति अघि बढ्न खोज्दा अर्कोले मेरो भाग खोस्यो भनेर घुर्क्याएको छ। एउटाले तिमी देशभक्त र इमान्दार बन्नुपर्छ भनेर हौस्याएको छ भने अर्कोले भूमण्डलीकरणका प्रतिफलहरूको उपभोगको वकालत गरेको छ। मेरो पुस्ताले नै तिमीलाई अहिलेसम्म विग्रिएको वर्तमान दिएर भविष्यको नायक बनाउने आदर्श सिकाइरहेको छ। तिमी यससबाट सजग रहनुपर्छ। यो विश्वविद्यालयले तिमीलाई यिनै विरोधाभाषहरू बीचबाट आफ्नो जीवनपथ खोज्न सक्षम बनाउनेछ।

तिमीले ठानेका छौ, आधुनिकता तिम्रो हातका औँलाहरूको वशमा छ र दुनियाँ स्मार्टफोन र कम्प्युटरको स्क्रीनमा उदाउने र अस्ताउने गर्छ। तिम्रो पुस्ताले सिकेको आधुनिकता र जानेको प्रविधिले अन्तरवैयक्तिक सम्बन्धमा नयाँपनमात्र ल्याएको छैन, एकप्रकारको भौडी पनि खनेको छ। त्यसलाई पुर्ने जिम्मेवारी पनि तिम्रै पुस्ताको हो। खाडल खन्दा निस्केको माटोले त्यही खाडल पुर्न पुग्दैन। सम्बन्धहरू जोगाउन सम्बन्ध बनाउँदाभन्दा बढी मिहेनत गर्नुपर्छ। तिमी भविश्यको कर्णधार त हौ नै, त्यसैले बनेको इतिहासको पनि हेक्का राख। तिम्रो कर्म हेरेरै तिमीले रचेको इतिहास बचाइदिने मानिस तयार हुनेछन्।

तिमी मैले युवा विद्यार्थीको रूपमा नछिरेको विश्वविद्यालय छिरिसकेका छौ। मैले नपढेको विधा पढ्दैछौ। मलाई लागिरहेको छ, म नै विद्यार्थी भएर आएको छु भिडमाझ। एकातिर लागिरहेको छ, मेरा सपनाहरूले नयाँ स्वरूप लिएका छन् र यसमा मैले गर्व गर्नुपर्छ। अर्कोतिर लागिरहेको छ, मेरो छोरा मेरो सहयात्री बन्दैछ, मेरो जीवनको यात्रा अझ फराकिलो हुँदैछ र मैले अझ बढी कर्म गर्नुपर्छ।

जे होस, धेरै खुसी छु। आगामी हरेक साँझ तिमी एउटा नयाँ कथा लिएर घर फर्कनेछौ। अब कथा सुन्ने पालो तिम्री आमाको र मेरो।

अर्थपूर्ण यात्राको शुभकामना !

(साभार: परिसंवाद डट कम)

Print Friendly, PDF & Email

By hkafle

I am a University teacher, with passion for literature and music.

Leave a Reply

Your email address will not be published.