मेरो परिवार पुस्तौंदेखि वहुजातीय समाजमा बसोबास गर्दै आएको हो। हजुरबा, हजुरामा, बुबा, काका र फुपूहरू नेवार, तामाङ, राई, गुरूङ्ग र दलितहरूसँग हुर्कनु भएको हो। हजुरबाका जजमानहरू तिनै जातका मानिसहरू थिए। उहाँ वान्तवा र चाम्लिङ राईहरूको भाषा पनि बोल्न सक्नुहुन्थ्यो। बुबा तामाङ भाषा बोल्नुहुन्छ। उहाँका राई, नेवार र धिमाल मितहरू छन्। आमा लिम्बू गाउँमा हुर्कनु भएको हो। लिम्बू भाषा जान्‍नुहुन्छ। लिम्बूनी र मगरनी मितिनीहरू छन्।

हामी कहिले जनजातीसँग त कहिले आदिवासीसँग मिलेर बस्यौँ। अहिले पनि मेरो मूलघर (मोरङ्ग) को छिमेकमा तामाङ, नेवार र गिरी थरका परिवारहरू छन्। हामी छोराछोरीहरू टाढा-टाढा रहेको स्थितिमा बुबा-आमालाई तिनै छिमेकीहरूको आड र भरोसा छ। मेरो ससुराली घर (ग्वालडुब्बा, झापा) वरिपरि थारू, राजवंशी र राईहरू छन्। म बसेको ठाउँ धुलिखेलमा थापा, खत्री र केसीहरूको वाहुल्यता छ। यहाँ मगर, दलित र नेवारहरू पनि छन्। मेरो आवास मगरहरूको सानो बस्तीसँग जोडिएको छ। मलाई लाग्छ उनीहरू मेरो परिवारलाई बाहुन भएको कारणले भन्दा पनि बढी पहुँच र पैसावाल भएको भ्रममा अलग देख्छन्। त्यही भ्रम पालिरहेका हुनाले म उनीहरूलाई आफूभन्दा अलग देख्छु। तर यहाँका अधिकांश घरमुलीहरू र म एउटै स्थानमा काम गर्छौँ। कामको प्रकृति र तह फरक भए पनि स्थान साझा भएको कारणले हामी उस्तै हौँ भन्‍ने भावना सबैमा छ जस्तो लाग्छ। केहीका छोराछोरीहरूलाई मैले पढाएको छु। यही कारणले पनि म यो समाजको लागि अलग पात्र होइन भन्‍ने विश्‍वास गर्छु।

मेरा दुई भाइहरू दुबईमा काम गर्छन्। त्यहाँ मोरङको बाहुन, पाल्पाको मगर, धनुषाको महतो, बर्दियाको थारू, भक्तपुरको खत्री, काभ्रेको कपाली र संखुवासभाको परियार एउटै भाँडाको भात खाएर बस्छन्। दु:ख सुख साट्छन्। देशमा भएको राजनीतिक अनिश्‍चितता र अशान्तिको खबरमा सबै उत्तिकै पिडावोध गर्छन् र राष्‍ट्रिय राजनीतिक मेलमिलाप पछिका सुखद सम्भावनाहरूमा उस्तै सोच र सपनाको अनुभव गर्छन्। एउटा साथी नेपाल फर्किँदा सकेसम्म अरूको सामान बोकेर ल्याउँछ र भरसक सबैका आफन्तसँग भेटेर जान्छ। त्यसैगरी अमेरिका घुम्न गएको झापालीलाई न्युयोर्कको सबवेमा पोखराको भट्टचनलाई भेट्दा जति सुखानुभुति हुन्छ, फ्लोरिडा युभर्सिटी लाइब्रेरीमा जनकपुरको यादवसँग चिनजान हुँदा उतिनै अपनत्व महसुस हुन्छ। यो कुरा म आफैँले पनि अनुभव गरेको हुँ।

दिदी र हामी भाइहरू मगर, राई र दलितहरूको संगतमा हुर्कियौँ। दिदीले लिम्बूकी छोरीसँग मीत लाउनु भएको थियो। हाम्रा मितबा लामो समयसम्म प्रधानपञ्‍च थिए। बुबाले उनलाई धेरै पटक चुनावमा सघाउनु भयो। दिदीकी एउटी क्षेत्रीकी छोरी पनि मितिनी थिइन्। क्षेत्री परिवारले हामी केटाकेटीहरूलाईचाहिँ राम्रै गर्थ्यो तर राजनीतिक रूपमा मितबाउले हाम्रा बुबालाई हदैसम्म दु:ख दिएका थिए।

दिदीले मगरसँग “भागी बिहे” गर्नुभयो। हाम्रो परिवारले स्विकार्‍यो। भाञ्‍जाभाञ्‍जी हामीसँगै हुर्किए। दाजु र भाइहरूका अधिकांश साथीहरू मगर, लिम्बू, राई र दलितहरू नै छन्। दाजुलाई पूर्वको मगर भाषा राम्रोसँग आउँछ। म धेरै राई परिवारहरूसँग अहिले पनि नजिक छु। मगरका छोराहरू मेरा वालसखाहरू थिए। विद्यालयस्तरीय वा “वीरेन्द्र शिल्ड”का लागि हुने खेलकुद प्रतियोगिताहरूमा राई, मगर, क्षेत्री, दलितहरू र अब्बल मानिएका बाहुनहरूले भाग लिन्थे। बाहुनहरू र पढाइमा राम्रा अरू जातकाहरू हाँजिरीजवाफ र वादविवाद प्रतियोगिताहरूका लागि चुनिन्थे। सबै थरिले आफ्नो क्षमता अनुसार राम्रो गरेर स्कूल र गाउँको इज्जत राख्थे। यो मेरो पुस्ताका सबै जातका नेपालीहरूले देखेको र भोगेको कुरा हो।

मैले जातको कारण हैन विकृत सामाजिक र राजनीतिक पूर्वाग्रह पालेका सीमित लाउकेहरूका कारण साधारण मानिसले दु:ख पाएको देखेको छु र त्यस्तै विकृतिको परिणाम भोगेको पनि छु। दुइहजार बयालीस सालतिर हाम्रो ऐलानी खेत कब्जा गरियो। कब्जा गर्ने मान्छे त्यस ठाउँको चल्तापुर्जा लिम्बू थियो। गराउने मेरो क्षेत्री मितबाउ र सहयोग गर्ने नजिकका आफन्त बाहुनहरू। हाम्रो परिवार यसरी संकटमा पर्दा सहयोग गरे दलित, राई र मगरहरूले, जो राजनीतिक रूपले तटश्थ थिए। लुटिने कारण जात थिएन त्यहाँको स्थानीय राजनीति थियो। बुबा पञ्‍चायती परिभाषाको “अराष्ट्रिय तत्व” भएको र हामीलाई पुलिस लगाएर सजिलै पेल्न सकिने हुनाले पञ्‍चायतको हिमायती लिम्बू नेताको लागि पञ्‍चायतकै हिमायती क्षेत्री र बाहुनहरूले त्यो काम गरे, गराए। हाम्रा आफन्तहरूले लिम्बू र क्षेत्रीलाई खुसी पारेर आफ्नो काम लिने स्वार्थमा हामीलाई रूवाए। आफ्नो काम बनेपछि लिम्बू र क्षेत्री दुवैले उनीहरूलाई पनि लात मारे। आफन्त बाहुनहरू हाम्रो नजरबाट सदाका लागि गिरे। अहिले आफन्तका रूपमा राम्रै व्यबहार देखाउनु परे पनि जीवनपर्यन्त ती पिडकहरूलाई हामीले भुल्नेछैनौँ र माफ पनि गर्नेछैनौँ। उनीहरू मध्ये दोश्रो पुस्ताका एकाधको बाहेक कसैको जीवन हाम्रोभन्दा खासै राम्रो छैन। धेरै जसो जहाँ थिए त्यहीँ छन्।  कब्जा गर्ने मान्छे द्वन्द्वकालको भाटे कारवाहीमा हातखुट्टा भाँचिएपछि यतै राजधानीमा आएर बाँकी दिन गन्दैछ रे। गराउने मान्छे पनि पञ्चायतकालको तामझाम, शक्ति र शौकत सकिएपछि दिनमा एकचोटि डाको छोड्दै एक्लो जीवन बाँच्दैछ, मेरो मूलघर छिमेकमै । हामीलाई दु:खमा साथ दिने दलित, राई र मगरहरू अविस्मरणीय छन्, रहनेछन्। उनीहरू र उनका भावी सन्ततीहरूको जीवन फलोस् फुलोस् मेरो कामना छ।

हाम्रो गाउँमा सबैभन्दा धेरै झडप पञ्‍चायतवादी लिम्बूहरू र प्रजातन्त्रवादी राईहरूबिच हुन्थ्यो। मेला बजारतिर तरूनी तन्‍नेरीहरूबिचको तानातान, गाउँ स्तरका खेलकुदहरूमा हुने हानाहान वा जाँड-रक्सीले माते पछिको पागलपन गाउँलेहरूबिचका द्वन्द्वका अरू कारणहरू हुन्थे। तर झगडामा जातभन्दा पनि परिस्थिति र ठाउँको पहिचान जोडिएको हुन्थ्यो। “शत्रु” गाउँको जो कोहीले जुनसुकै बेला पनि कुटाइ खानसक्थ्यो।

अहिले जातीयताको नारा सडकमा छताछुल्ल देख्‍दा लाग्छ नेपालमा हरेक बाहुन र क्षेत्रीले हरेक जनजाती वा दलितलाई शोषण गरेको छ। मानौँ कि राजनीतिक परिभाषामा प्रत्येक जनजाती पिडित छ र बाहुन र क्षेत्री पिडक नै हो। यस्तो मैलेचाहिँ देखिनँ। बरु ठीक उल्टो भोगेँ। नभोगेको कुरा पूरा सत्य हो जस्तो पनि लाग्दैन। तर मेरो विश्‍वास नै सत्य हो भनेर स्थापित गर्ने कोशिश पनि गर्दिनँ। मलाई खुलदुली एउटा कुरामा छ – यदि जातीयता शोषणको एकमात्र आधार थियो भने जातीय पहिचानको राज्य पुन:संरचनाको माग पनि विरोधाभाषपूर्ण हुन जान्छ। जातभित्र पनि उपजातहरू छन् यहाँ। दलितले दलितलाई हेप्ने समाजमा दलितबिचको विभेद र शोषणको अन्त्य नभए छुट्टै राज्य मिल्ने वित्तिकै सुनचाँदी फल्न थालिहाल्छ भन्‍ने सोचलाई ठिक किन मान्‍ने। यही सवाल अरू जातहरूमा पनि लागू हुन्छ। जनजातीहरूबिचको मारामार पनि देखिएकै हो। क्षेत्री बाहुनहरूबिचको भेदभाव पनि भोगेकै हो। कसैले भन्ला – अपनत्वभावको विकास नभएर वा हुन नपाएर त्यसो भएको हो, अब राजनीतिक कुरा मिलेपछि सामाजिक एकता स्वत: हुन्छ। तर मानिसको वास्तविक प्रशिक्षक उसको आफ्‍नै विवेक हो। विवेक र संवेदनशीलता भएको मानिसले कुनै राजनीतिक वाक्पटुको एक घण्टाको भाषणको लहैलहैमा आफ्नो बीसौँ वर्ष पुरानो छिमेकीको घरमा अगुल्टो फाल्दैन।

हामीकहाँ ठूला बाहुन र साना बाहुन पनि छन्। राणा र शाहका दरबार वरिपरि रहेर शक्ति र सम्पत्तिमा रमेको बाहुन र दुर्गमको वहुजातीय गाउँमा रुखो-सुखो सहँदै हुर्केको बाहुनको भोक पनि मिल्दैन सोख पनि मिल्दैन। सयौँ वर्ष राज्यको उपल्लो स्थानमा रहेको काठमाडौँको थापा र धुलिखेल भ्यान्डोलमा आधा रोपनी बारीमा आलु रोपेर, गाई पालेर जीविका चलाउने थापाको पहिचान एउटै हुँदैन। डोल्पा, जाजरकोट वा अन्य दुर्गम पहाडहरूबाट भारत पलायन भएका थापाहरूको कुरै नगरौँ। पञ्‍चायत वा त्यसपछिको राजनीतिले शिक्षा, शक्ति र सम्पत्तीको पहुँच पाएको कुनै पनि गुरूङ, गुप्‍ता वा गहतराजले ती सबैबाट विमुख भएका “आफ्नै जात”काहरूलाई आफ्‍ना भाइवन्धुहरू नै ठानी उनीहरूको सामाजिक, आर्थिक उत्थानको लागि काम गरेको र आफैँले नहेपेको प्रखर उदाहरण मैले पाएको छैन। अहिलेको राजनीतिक विकासक्रममा उनीहरूको उत्थान र पहिचानको मुद्दा ठूलो हुने कुरा एकातिर, संघीय राज्य बनिसकेपछि फेरि शक्तिमा को पुग्नेछ र “तल” रहेकालाई कसरी हेरिनेछ भन्‍ने अहिले नै किटान गर्न सकिने भए पनि पर्खेर हेर्नै पर्छ।

नेपालमा विभेद भएको छ, तर समाजको जराजरासम्म असहिष्णुता छैन। अब रहन सक्ने सम्भावनालाई पनि विवेक भएको मानिसले भित्री मनले मान्‍नेवाला छैन। नेपालको सामाजिक समस्या मूल रूपमा वर्गीय हो। जातीयता वर्ग विभेदको एउटा कारण रहेको पनि हो। तर त्योभन्दा ठूलो आधार विभेदकारी राजनीति हो। विभेद राजनीतिले जन्माएको  हुनाले राजनीतिभित्रै अधिकार खोज्‍नु स्वाभाविक हो। तर राजनीतिक अधिरकारका लागि उडाइएको धुलो र हुत्याइएको हिलोले सयौँ वर्षदेखि वहुजातीय संरचनामा बनेको छरछिमेक र घरआँगनलाई बिटुल्याउन सक्ने सम्भावनालाई वेवास्ता नगरौँ।

हामी विकसित सन्सारले दिनसक्ने साधन श्रोतहरूमा पहुँच र समान अधिकारका लागि लड्दैछौँ । स-सानो भौगोलिक परिधिभित्रका सीमित वस्तुहरुको आधिपत्यका लागि गुलेली, भाला, छुरी, मुङ्ग्रो, घुएँत्रो लिएर हिँडेका उद्वत यानोमामो पक्कै होइनौँ। उच्च प्राविधिक विकासको उज्यालो युगतिर लम्कन उद्यत नेपाली समाज आदिम कबिलातन्त्रको अन्धकारतिर नधकेलियोस्।  मिलेर यही कामना गरौँ।

Print Friendly, PDF & Email

By hkafle

I am a University teacher, with passion for literature and music.

Leave a Reply

Your email address will not be published.