[प्रस्तुत लेख मोरङ्ग टाँडीका भूतपूर्व विद्यार्थीहरूको प्रकाशनकालिका कुञ्ज  (वर्ष १, अङ्क १, २०६८)  मा  “अप्ठेरो अंग्रेजीको सजिलो यात्रा” शीर्षकमा प्रकाशित छ]

कालिका मा. वि. बाट प्रवेशिका सकेको दुई दशकभन्दा बढी र टाँडी छोडेको नै एक दशक भइसकेकोले त्यहाँका अधिकांश वासिन्दाहरूका लागि म परिचित नाम नहुन सक्छु। तर मोरङ्ग जिल्लाको उत्तरपूर्व क्षेत्रमा कालिका मा. वि. राम्रो विद्यालयको रूपमा स्थापित भइरहेको कालखण्ड (चालीसको दशक) को म पनि एउटा स्मरणयोग्य पात्र थिएँ भन्‍ने ठान्दछु।  स्कुल छोडेपछि पहिलो पटक आफ्नो मीठो अतीत र शैक्षिक यात्राका बारेमा यो लेख पस्कने अवसर मिलेको छ । अनुभवका केही उपयोगी पक्षहरू नयाँ पुस्तालाई सुनाउनु यो लेखको प्रमुख उद्देश्य हो । यसक्रममा पढ्दा सामान्य लाग्ने तर कालिका मा. वि. को इतिहासको आंशिक चित्रण हुने खालका नितान्त व्यक्तिगत सन्दर्भहरू पनि जोडिएर आएका छन् ।

मेरो जन्म तत्कालिन टाँडी गाउँ पञ्‍चायतको वार्ड नं. ५ (हालको वार्ड नं. ८) धरधरेमा २०२९ सालमा भएको हो। म बुबा-आमाको तेस्रो सन्तान र माहिलो छोरो हुँ। म पाँच वर्षको हुँदासम्म हाम्रो गाउँमा स्कुल बनेको थिएन। मेरा दिदी, दाजु र छिमेकका भानिज दाइहरू त्यतिबेला टाढाको सफेवा स्कुल पढ्न जान्थे रे। २०३४ सालमा हाम्रो परिवार झापा जिल्लाको फूलबारी भन्‍ने ठाउँमा बसाइँ सर्‍यो। दिदी र दाजुलाई पछ्‍याउँदै म पनि पहिलो पटक एकदिन त्यहाँको कक्षाकोठामा छिरेको थिएँ र दिनभर छक्‍क पर्दै बसेको थिएँ। हामी फूलबारीमा नौ महिना  बसेर फेरि टाँडी फर्कंदा ‘धवेन स्कुल’ (कालिका प्रा. वि.) बनिसकेको हुँदा त्यहाँ भर्ना भएँ। यसप्रकार २०३५ सालबाट मेरो औपचारिक शिक्षा-यात्रा सुरू भयो ।

कक्षा एकमा पर्याप्‍त डेस्क बेन्च थिएनन्। अधिकांश समय सुकुलमा बसेर बित्यो। दिनहरू पट्‍यार लाग्दा थिए। गुरूहरूले लौरो देखाएर थर्काएका भरमा अनेकौँ कुराहरू भट्‍याएर दिन बित्थे। स्कुल जानु भनेको घर छाड्नु, भोकभोकै दिन काट्नु वा निद्रा लाग्दा सुत्‍न नपाउनुजस्तो वाध्यता भएकोले सजायँ बराबर लाग्थ्यो। पछि कक्षा दुईमा पुग्दा बस्नका लागि खाँदिएर भए पनि डेस्क बेन्चको प्रयोग गर्न पाइयो। समय मिलाएर खेल्न र रमाइलो गर्न सिक्दै गएकोले स्कुल जाँदा नरमाइलो लाग्न छाड्‍यो। कक्षा तीन, चार र पाँचमा हुँदा भने गुरूहरूले “आज हाफ्-छुट्टी” भन्दै कहिले रतनपुरतिरबाट त कहिले कैँदले, कालिदह र हातिमारातिरबाट काँचो सालको तख्ता स्कुलको नाममा बोकाउनु हुन्थ्यो। यसो गराउनु उहाँहरूको रहर त पक्‍कै थिएन होला, तर खास वाध्यताचाहिँ के थियो मैले अहिलेसम्म बुझ्न सकेको छैन। स्कुलको कोठा थप्ने बेलामा विद्यार्थीले ढुङ्गा र माटो किन बोक्नु परेको र डकर्मीलाई किन सघाउनु परेको भन्‍ने कुराको खुल्दुली मलाई अहिले पनि लागिरहन्छ। पालैपालो कक्षाकोठा लिप्नु र बढार्नु, बर्खे बिदा सकिँदैपिच्छे ग्राउण्डको खरेटो उखेल्नु, गाउँले र गाईवस्तुका गोवर फ्याँक्नु अनिवार्य कामहरू हुन्थे। त्यसैगरी राजा र रानीका जन्मोत्सव, प्रजातन्त्र र संविधान दिवसहरूमा भोकै तिर्खै गल्लीगल्ली आफूलाई फेद-टुप्पो अर्थ नलाग्ने जयजयकार घाँटी सुकुञ्‍जेल चिच्याउँदै हिड्नु पर्थ्यो, र पछि गुरुहरूले हावामा हुर्याएका राता गोल-मिठाई धुलोबाट कुस्ती खेलेर टिप्दै मुख र पेटको चिलाइ मेटाउनु पर्थ्यो। तिर्खा लाग्दा पानी खान देवीथानसम्म धाउनु, दिसा-पिसाब गर्न खोल्सातिर दगुर्नु, तीखा ढुङ्गा र चोके नै चोके भएको “खेलमैदान” मा खेलेर रगताम्य हुनु आदि सुन्दा कथाजस्ता लाग्ने अहिलेका भाइबहिनीहरूले कल्पनै नगरेका कुराहरू सहँदै, आत्मसात गर्दै हामी हुर्कियौँ।

यी सबै साना बालबच्चाले गर्नै पर्ने काम र झेल्नै पर्ने वाध्यता अवश्य थिएनन् होला। विद्यार्थीलाई त्यस प्रकारको कार्यमा संलग्न गराएकोमा अहिले भए अभिभावकहरूले कस्तो हंगामा मच्चाउँथे। त्यति बेला  गाउँलेहरूले नै श्रमदान गरी गरी स्कुल, बाटोघाटो आदि बनाउँथे। बच्चाको काम पनि अभिभावकको होस्टेमा हैँसे मिलाउनु बराबर थियो। वास्तवमा कालिका स्कुल र गाउँका बच्चा सँगसँगै हुर्किएका हौँ भन्दा अत्युक्ति हुँदैन। मेरो पुस्ता कालिका प्रा.वि., कालिका नि.मा.वि., कालिका प्र.मा.वि. अनि अन्त्यमा कालिका मा.वि.का सबै चरणहरू देख्दै अगाडि बढेको हो। गारावाले घरदेखि काठको घरहुँदै सिमेन्टीको घरमासम्म बसेर पढेर स्कुल छोडियो।

मेरो जस्तो परिवेशमा हुर्केकाहरूले भविश्यमा यो या त्यो बन्छु भनी बेलैमा निर्धारित गरेका हुँदैनन्। उनीहरू जीवनलाई आफ्नो गतिमा छोडिदिन्छन्। लक्ष आफैँ भेटिन्छन् र भेटिएका पटक पटक मेटिन्छन्। सीमित नौला परिवेश र सम्भावनाहरूसँग जीवन चलाउनु पर्ने हुन्छ। मैले पनि कुनै उत्कट सपना र दरिलो योजना बिना नै अहिले आफूलाई प्राध्यापक, लेखक, समालोचक, अनुसन्धाता र राम्रो वक्‍ताका रुपमा स्थापित हुने बाटोमा पाएको छु। चालीसको हाराहारीमा पुग्दा मात्र लक्ष स्थापित हुनु औसत शिक्षित नेपालीहरूको विशेषता नै हो भन्‍नु अतिशयोक्ति नहोला।

म आफ्नो समयको अलि अलि नाम चलेकै ठिटो थिएँ। चार कक्षादेखि सधैं प्रथम हुँदै प्रवेशिका परीक्षामा पनि प्रथम श्रेणी ल्याएको राम्रो विद्यार्थीको रूपमा पुरानो पुस्ताले मलाई चिनेको हुनुपर्छ। मैले कालिका मा. वि. को चौथो (२०४५) समूहबाट प्रवेशिका उत्तीर्ण गरेको हुँ। मेरो समयमा प्रथम श्रेणी ठूलै उपलव्धि मानिन्थ्यो, र यो श्रेणीमा उत्तीर्ण विद्यार्थी सिधै विज्ञान पढ्न जान्छ भन्‍ने मान्यता समाजमा थियो। तर मैले विविध कारणवश विज्ञान पढिनँ र तत्काल क्याम्पसमा भर्ना हुने अवसर पनि पाइनँ। प्रवेशिकापछि एक वर्ष घरमा बसेर २०४७ सालमा मानविकी तर्फ अंग्रेजी, गणित र अर्थशास्त्र मूल विषय बनाई दमक क्याम्पसमा प्रवीणता प्रमाणपत्र तहको पढाइ सुरु गरेँ। त्यतिबेला अंग्रेजी र गणित लिनु “विज्ञान पढे बराबर” हुन्छ भन्‍ने चलन थियो र त्यही बराबरीमा पुग्ने हौसलाका साथ यी दुई विषय लिएँ। अर्थशास्त्रचाहिँ कक्षा दससम्म पढेको विषय भएको हुनाले सजिलो होला भनेर मात्र लिएको थिएँ।

मैले गणितलाई प्रमाणपत्र तह र अर्थशास्त्रलाई स्नातक तहपछि छाडिदिएँ। मेरो रुचि अंग्रेजीतिर बढ्‍यो। आफ्नो शिक्षा “विज्ञान बराबर” भयो कि भएन भनेर चिन्‍ता गर्नु नै बेकार रहेछ। क्याम्पस गएको पहिलो हप्‍तामै त्यस कुराको महसुस भएको थियो। मलाई साहित्य, कला, संस्कृति, इतिहास जस्ता विषयप्रति सानैदेखि विशेष अभिरुचि थियो। अंग्रेजी साहित्यको पढाइले अंग्रेजी भाषा र यसमा निहित सिर्जनात्मक अभिव्यक्तिका विविध शैलीहरू सिक्दै गएँ। त्यसका अतिरिक्त अन्य विधाहरूलाई अझ बढी बुझ्न र आफ्नो ज्ञानको क्षितिजलाई फराकिलो पार्नका लागि अंग्रेजीले धेरै सहयोग गर्‍यो। अंग्रेजी जीवनका लागि भनेर बढी सिक्ने र अभ्यास गर्ने गरेँ। अहिले अंग्रेजी मेरो लागि एउटा गहन विधा र विज्ञान बनेको छ। मेरो निरन्तर अध्ययन र प्राज्ञिक अनुसन्धानको मूलधार भएको छ। मैले अनिवार्य जान्‍नु पर्ने अन्य विधाहरू र मेरा दैनिक सिर्जनाका क्रियाकलापहरू पनि यही मूलधारमा समाहित हुने गरेका छन्।

यसै प्रसङ्गमा अंग्रेजीप्रति विशेष अभिरुचि राख्‍ने र पछि गएर यसलाई अध्ययनको प्रमुख विधाको रुपमा ग्रहण गर्ने योजना बनाइरहेका भाइबहिनीहरूका लागि आफूले बुझेका सिकाइ र दक्षताका केही पक्षहरूको बारेमा चर्चा गरिहालौँ।

अंग्रेजी सिक्ने औपचारिक स्थापित पद्धतिहरू मध्ये सुनाइ, बोलाइ, पढाइ र लेखाइ (listening, speaking, reading and writing) सँग सम्बन्धित विविध क्रियाकलापहरूको लामो व्याख्यान किताबहरूमा पाइन्छ। सहर बजारका भाषा सिकाउने केन्द्रहरूमा झन रहरलाग्दो तरिकाले तिनीहरूको वर्णन गरिन्छ। हाम्रा गाउँघरका कतिपय विद्यालयहरूमा भने यी पद्धतिहरूको भरपर्दो प्रयोग हुन पाउँदैन। ती विद्यालयका विद्यार्थीहरूले अंग्रेजी सिक्ने क्रममा कक्षाकोठामा शिक्षकको बोली बाहेक अरु के नै सुन्‍न पाउँछन् र, अनि सुनेको कुरा अंग्रेजीमा नै कहाँ हुन्छ र। अंग्रेजीमा बोल्दै सिक्दै गर्ने भन्‍ने पनि लागु नहुने कुरा हो। बोल्नका लागि भाषाको पूर्वज्ञान र बोल्ने वातावरण चाहिन्छ जुन विद्यार्थीहरूले पाएका हुँदैनन्। पढेर सिक्नका लागि निर्धारित पाठ्यपुस्तक छिचोल्नु नै ठूलो कुरा हुन्छ। त्यो पनि गाउँघरका विद्यार्थीले खासै गर्न सक्दैनन्। भाषा सिकाउने अन्य सामग्री या त दुर्लभ छन्, या ती सामग्री प्रयोग गराउने पद्धतिको पूरा ज्ञानको अभाव छ। अगाडिका तीन आधारभूत क्रियाकलाप (सुनाइ, बोलाइ, पढाइ) नै नगरीकन फटाफट लेख्‍न जान्‍ने कुरै भएन।

यसरी हेर्दा हाम्रा पालादेखि अहिलेसम्म पनि गाउँका विद्यालयहरूमा अंग्रेजी सिक्ने र सिकाउने परम्परामा सुधार आएको देखिँदैन। त्यही वातावरणमा हुर्केर सिकेकाहरूले लिएको अनुभव र सिक्न अपनाएको स्वतस्फुर्त प्रक्रिया नै सायद सबै ग्रामीण परिवेशका विद्यार्थीहरूले अपनाउनु पर्ने पद्धति हुन सक्छ। मेरो आफ्नो अनुभव र बुझाइको आधारमा अंग्रेजी सिक्न चाहनेहरूका लागि सल्लाहस्वरूप केही बुँदाहरू राख्‍न चाहन्छु।

चाहना:

अंग्रेजी सिक्ने पहिलो कसी सिक्ने मानिसको चाहना हो। चाहना नभई यो भाषा सिकिँदैन। विद्यालयस्तरमा एउटा तहमा सबै विद्यार्थीहरूले अंग्रेजी विषयको लागि एउटै पाठ्‍यक्रम र पाठ्‍यपुस्तक प्रयोग गर्छन्, तर उनीहरूको सिकाइ र ज्ञानको स्तर एउटै हुँदैन। व्यक्तिपिच्छेको सिकाइप्रतिको चाहना फरक हुने भएकाले यस्तो भएको हो। भाषाप्रति चाहना जगाउन पारिवारिक वातावरण, शिक्षक र विविध शैक्षणिक क्रियाकलापहरूको भूमिका ठूलो हुन्छ। यो सँगसँगै अंग्रेजी भाषा आवश्यकता हो कि होइन भन्‍ने कुराले महत्व राख्छ।

आवश्यकता:

अंग्रेजी आवश्यक भाषा हो, तर सबैका लागि यस्तो नहुन सक्छ। यो नसिकी जीवन नचल्ने पनि होइन। तर उच्च शिक्षा, वैज्ञानिक अनुसन्धान, परराष्‍ट्र मामिला, वैदेशिक रोजगारी, अन्तर्राष्‍ट्रीय व्यापार र पर्यटनजस्ता क्षेत्रहरूमा विशिष्‍टता हासिल गर्न चाहने सबैका लागि यो अत्यावश्यक हुन्छ। रहर लागेर मात्र सिकेको भन्दा कर लागेर सिकेको दिगो हुन्छ। त्यसमाथि भाषा जीविकोपार्जनका लागि अत्यावश्यक बन्यो भने मात्र सिकाइप्रति सिकारु पनि इमान्दार हुन सक्छ। मैले आफ्नो उच्चशिक्षालाई जीवनको प्रमुख प्राज्ञिक र व्यवसायिक दिशानिर्देशका लागि अँगाल्ने अठोट लिएकोले अंग्रेजी मेरो लागि आवश्यकता बन्यो र यसको अध्ययन र प्रयोगले निरन्तरता पनि पायो।

अवसर:

भाषा सिक्न औपचारिक र अनौपचारिक दुवै खालका अवसरहरू मिल्नु पर्छ। कक्षाकोठामा शिक्षकबाट वा निर्धारित पाठ्यसामग्रीहरूबाट सिक्नु औपचारिक अवसर हो। दैनिक भेटघाट र कामका सिलसिलामा आवश्यकतावश सुन्‍ने, बोल्ने, लेख्‍ने परिस्थिति चाहिँ अनौपचारिक अवसर हो। स्कुल र कलेजका पाठ्यक्रमले औपचारिक अवसर दिन सक्ने प्रावधान भएता पनि सिकाइ र अभ्यास यथेष्‍टरुपमा नहुने हुनाले विद्यार्थीहरूले अंग्रेजी राम्रोसँग सिक्न पाउँदैनन्।विश्‍वविद्यालय तहमा मानविकी (humanities) संकायतर्फ अंग्रेजी साहित्य वा शिक्षा (education) संकायतर्फ अंग्रेजी शिक्षण लाई मूल विषय बनाउनेहरूको अध्ययन तुलनात्मकरुपले सघन हुन्छ। यस्तो अध्ययनको अवसर नै नेपालको सन्दर्भमा सबैभन्दा भरपर्दो औपचारिक अवसर मानिन्छ। यी दुई अवसरहरूबाहेक विज्ञान संकाय रोज्नेहरूले केही हदसम्म अंग्रेजी माध्यममा पढ्ने र लेख्‍ने गर्नुपर्ने हुनाले उनीहरूले थोरै भए पनि सिक्ने अवसर पाउँछन्।

नेपालको ग्रामीण परिवेशमा, त्यसमाथि पनि सरकारी विद्यालयका विद्यार्थीहरूको सवालमा, अंग्रेजी सिक्ने अनौपचारिक अवसरहरू शून्यतुल्य हुन्छन्। यदाकदा कुनै नेपाली नजान्‍ने विदेशी गाउँतिर घुम्न आउँदा एक दुईवटा वाक्य बोल्नु पर्ने बाध्यता बाहेक अंग्रेजी बोल्ने प्रयास गर्नुपर्ने अरू मौका हुँदैन। यसर्थ अनौपचारिक सिकाइको बारेमा धेरै चर्चा गरिरहनु नपर्ने मैले ठानेको छु।

लगाव र लगानी:

कुनै भाषामा पारङ्गत हुन लगाव चाहिन्छ। अंग्रेजी जस्तो अन्तर्राष्‍ट्रीय भाषाको लागि त लगाव र लगानी दुवै चाहिन्छ। लगाव भनेको सिकाइ, अभ्यास र प्रयोगको निरन्तरता हो, जुन चरणबद्ध, व्यवस्थित र प्रगतिशील हुनुपर्छ। साथै अंग्रेजीलाई भाषाभन्दा माथि एउटा विशिष्‍ट विधा अनि विविध ज्ञानको श्रोतको रुपमा ग्रहण गरेर सिक्न सक्नुपर्छ। लगानी भन्‍नाले पैसा र समय दुवै बुझिन्छ। राम्रा प्रशिक्षकहरूबाट औपचारिक रूपमा सिक्न, राम्रा कलेजमा पढ्न वा राम्रा पाठ्‍यसामग्री र सिकाइमा प्रयोग हुन सक्ने प्रविधिहरू जुटाउन आर्थिक लगानी चाहिन्छ। सामग्री जुटाइसकेपछि तिनको अध्ययन र प्रयोगमा समय दिन सक्नुपर्छ। नयाँ पुस्तक र अन्य स्रोतहरू थप्दै जान सक्नुपर्छ। आवश्यकता पर्दा अरूलाई सिकाउन वा सघाउन तत्परता र जाँगर देखाउन सक्नुपर्छ। तत्परताले अवसर सिर्जना गर्छ, अवसरबाट अनुभव र विशिष्‍टता प्राप्‍त हुन्छ।

सिर्जना:

भाषा सिकाइमा सिर्जनशिलताको उस्तै महत्व छ। छिटो, कलात्मक र दिगो रुपले सिक्नका लागि पठनीय खालका कथा, कविता, निबन्ध र नाटकहरू लेख्‍न कोसिस गर्नु आवश्यक हुन्छ। आफ्नो सिर्जना अरूलाई पढ्न दिन वा सुनाउन हिच्किचाउनु हुँदैन। अरूको मुखबाट आफ्ना कमजोर र सबल पक्षहरू सुन्‍ने बानी बसाउनु पर्छ। सिक्ने क्रममा कहिलेकाहिँ स्थापित सर्जकहरूको नक्‍कल गर्न सकिन्छ। अलिकति आत्मविश्‍वास बढेपछि रमाइला कृतिहरूको अनुवाद गर्नु पनि भाषा परिस्कारको सबल पक्ष हो। यत्ति हो, यसरी तयार भएका कामलाई शत-प्रतिशत आफ्नो हो भनी ढाँट्नु चाहिँ पटक्‍कै हुँदैन ।

अन्त्यमा,

सिकेका, बुझेका लेख्‍न सकिने कुराहरू धेरै छन्। यो छोटो लेखमा म यति नै समेट्न चाहन्छु। अन्त्यमा, कालिका मा.वि. प्रति श्रद्धापूर्ण नमस्कार छ। ज्ञानार्जनको पहिलो पाइलो टेकेर, त्यसपछि लडदै-उठ्दै, रूँदै-हाँस्दै जीवनका सुन्दर दस वर्ष विताएको त्यो परिवेश मेरो मानसपटलमा ताजा रहेको छ। साथै यो सन्सारलाई केही हदसम्म महसुस गराउन डोर्‍याउनु हुने गुरूजन र त्यस दश वर्षे यात्रामा साथ रहेका सहपाठीहरूलाई भेटुँ भेटुँ लागिरहेको बेला मलाई सम्झेर यति लेख्‍न मौका दिनुहुने कालिका कुञ्ज  प्रकाशन समूहप्रति हार्दिक आभार व्यक्त गर्दछु ।

Print Friendly, PDF & Email

By hkafle

I am a University teacher, with passion for literature and music.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Time limit exceeded. Please complete the captcha once again.