तीन देशभक्त

“उफ्, कति फोहोर, कति गर्मी, अनि कस्तो महंगी! बित्थामा नेपाल पसेँछु।”

हामी चढेको टाटा सुमो फिक्कल नपुगुञ्‍जेल त्यो ठिटो थै-थै गरिरह्यो। आफूले फोन गरेका र उसलाई गर्नेहरू सबैसँग यही भनिरह्यो, मोबाइलमा।

मलेशियाबाट फर्केको रे। उता होटल चलाउँछ रे। दशैँ मान्न मात्र आको रे। एकै दिनमा पन्ध्रहजार चुना लाग्यो रे। यस्तै हो भने दुईदिनमै उडिदिन्छ रे।

फिक्कलबाट एउटी साह्रै गफाडी सामाजिक कार्यकर्ता गाडीमा चढी र देशभक्ति र विकासका गफ लगाई। पछाडिको सिटमा बसेको त्यो गनगने केटो चूप लागेर सुनिरह्यो।

महिलासँगै बस्ने सज्जनले सहि थापिरह्यो। अनि आफ्नो बोल्ने पालोमा भन्न भ्याइहाल्यो, “नेपालमा जागिरै खानु परेपछि लोकसेवामा खानू। लोकसेवा पास गर्ने मान्छे भनेको एकदम ट्यालेन्ट मान्छे हो, पद मुखिया वा खरिदारकै किन नहोस्।”

इलाम बजार पुगुञ्‍जेल ती दुईका देशभक्ति, समाज सेवा र सुशासनका गफले सबैलाई मख्ख पार्‍यो। गनगने केटो कुन ठाउँमा उत्रिएछ पत्तै भएन।

इलाम बजारमा गाडी रोकिएको ठिक अगाडि ठूलो होर्डिङ्ग बोर्डमा इ-डिभी खुलेको विज्ञापन थियो।

गाडीबाट उत्रिँदै हाम्री देशभक्त सहयात्रीले भनिहाली, “अहो, डिभी खुलेछ। यसपाली त नभरी भा’छैन”।

“भर्नुस्, भर्नुस्, म्याडम्। यो डिभी भनेको तपाईँहरूजस्ता जल्दाबल्दा युवाहरूले भर्ने हो। हाम्रो त उमेर गइसक्यो क्यारे।” सज्जनले आफ्नो बाटो लाग्दै भन्यो।

भेट्न नपाएको पाठक

म एउटा पुरानो घरको सानो कोठामा एक्लै बसेको छु। मेरो कोठाको सामुन्ने अर्को पुरानो घर छ। त्यो घरको पहिलो तल्लामा दुईटा ठुल्ठुला कोठा भएको स्पष्ट देखिन्छ।

देब्रेपट्टिको कोठाको बाहिर लेखिएको छ ‘राम्रो पुस्तक कस्तो हुन्छ’ र दाहिनेपट्टिको मा छ, ‘पुस्तक कस्तो हुनु पर्छ’। त्यो घरमा पुस्तकालय भएको कुरा स्पष्‍ट हुन्छ। अनि पहिलो शीर्षकले सिर्जनाका र दोश्रोले समालोचनाका पुस्तकहरूको संग्रह रहेको जनाएको छ।

मलाई त्यहाँ जान मन लाग्छ, र जान्छु। पुस्तकालय भएको तल्लामा जान काठको भर्‍याङ्ग चढ्नु पर्दोरहेछ।

भर्‍याङ्गको फेदमा घरबेटी बुढाबुढी आगो तापेर बसेका भेटिन्छन्। म उनीहरूलाई देखेर छक्क पर्छु, उनीहरू मलाई देखेर। उनीहरू त वर्षौँदेखि चिनेका लेखक-लेखिका दम्पति पो रहेछन्। यसरी अचानक भेट हुँदा हामी धेरै खुसी हुन्छौँ।

गजबको कुरा त उनीहरूसँग मेरो Midlife Montage पनि रहेछ, जुन छिट्टै माथिका दुई संग्रहमध्ये एकातिर जाँदै रहेछ।

“तपाईँको किताब कता राख्‍ने भन्ने निर्णय गर्नलाई हामीले हाम्रो नियमित पाठकलाई बोलाएका छौँ” उनीहरू भन्छन्।

“ओहो, रमाइलो कुरा। यहाँहरूको पाठकलाई भेट्न पाए त हुन्थ्यो” म भन्छु।

यस्तो रमाइलो बातचित हुँदाहुँदै मेरो मोबाइलले बिहान ५ बजेको घण्टी बजाउँछ। त्यो पाठकलाई भेट्नै नपाई सपना टुट्छ।

सानेको म्याथसर

सानेः हाम्रो म्याथसरले पढाको त पटक्कै बुझिँदैन।

ठुलेः किन, कसरी पढाउनुहुन्छ र ?

सानेः क्लासमा ढिलो-ढिलो आउनुहुन्छ। एउटा हिसाब फटाफट बोर्डमा गर्नुहुन्छ, अनि बाँकी तिमेरू गर है भनेर निस्किनु हुन्छ। कहिलेकाहिँ त ढोकैबाट आज मलाई टाउको दुख्या छ, तिमेरू आफैँ पढ भन्दै घरतिर लाग्नुहुन्छ” ।

ठुलेः त्यसपछि तिमीहरू चैँ के गर्छौ त?

सानेः के गर्नु नि, हामी पनि सरको पछि-पछि लाग्छौँ ।

ठुलेः लौ, किन नि?

सानेः सर सरासर आफ्नो पसलमा गएर चटपटे बनाउन थाल्नुहुन्छ। हामी पनि पछि-पछि जान्छौँ र सरको चटपटे किनेर खान्छौँ।

ठुलेः यस्तो स्कूलमा चैँ पढ्न पा’ पो !

Print Friendly, PDF & Email

By hkafle

I am a University teacher, with passion for literature and music.

Leave a Reply

Your email address will not be published.