प्रिय रघुजी,

मलाई बेलाबेला यस्तो लाग्छ, मौका पर्छ र सम्भव हुन्छ भने सयौं मानिसले गरिरहने कामभन्दा अलग काम गर्न सकियोस्, अलग सोच्न सकियोस्, अलग लेख्न सकियोस्। तर अलग हुने रटान लाउँदा लाउँदै अरू जतिको हुन नसकिँदो रहेछ। बरू, आफू नै हराएर जाने खतरा बढ्दो रहेछ।

यही कारण हराउने र देखा पर्ने क्रम रोकिएको छैन। केही समय गुमनाम भएर सतहमा आएको छु। कतिञ्जेललाई हो थाहा छैन।  

लेख्नलाई अलग विषय नपाएको रनाहा नटर्दै कलाकार हरिवंश आचार्यको “सट-पाइन्ट कसरी लगाउने?” भन्ने भिडियो भाइरल भयो। भिडियो हेर्दा हेर्दै कतै पढेको एउटा नाइजेरियन उखान सम्झेँ — “भ्यागुतो विनाकारण पानी बाहिर आएर टर्टराउँदैन”। वरिश्ठ कलाकारले नै यती दुःख गरेर सट-प्यान्ट लाउने कला सिकाउनुमा केही न केही दम छ। अब म कनिश्ठ लेखकसँग गोडा हजारेक शब्द छर्न एउटा पनि विषय नहोला त? त्यसपछि हात सकसकाएर लेख्न बसेँ।

तपाईंसँग किन लुकाउने, गुप्तवास शुरू भएको केही दिनपछि नै म यो भौतिक संसारबाट आफ्नो क्रमिक विलयको शोक मनाउने तरखरमा थिएँ। विश्वलाई आइपरेको संकटविरूद्धको लडाईँमा आफूलाई बिल्कुल नाकाम पाएँ। आफ्नो अस्तित्व सुकेको पतिंगरमा अल्झेको एउटा प्वाँखको बराबर लाग्यो। कुनै पनि बेला उडेर बेपत्ता हुने, वा संयोगले पतिंगरमा आगो पर्दा आफू पनि स्वाहा हुने। कुनै पल यस्तोसम्म लाग्यो, आओस् सानो झोंक्का र उडाओस् पतिंगरसंगै। त्यही क्रममा कुनै रात सुत्ने बेलामा सोच्थेँ, कतै म काफ्काको ग्रेगर साम्साको अवश्थामा त पुग्दिनँ अर्को दिन बिहान? अनि हरेक दिन बिहान आफूलाई फेरि मान्छेको रूपमा पाउँदा लाग्थ्यो, अहिलेलाई त्यो टरेको मात्र हो, नहोला भन्ने ग्यारेन्टी कसले दिन्छ र !

मलाई लाग्न थालेको थियो, सडकमा निस्केको हरेक मानिस मजस्तै बन्न लागेको ग्रेगर साम्सा, र अरू कुनै मान्छेले पाएको अर्को अवतारमात्र हो। हरेक मानिसले आफ्नो स्वत्व गुमाइसकेको तर आफू पूर्वावस्थामा रहेको नाटकमात्र गरिरहेको हो भन्ने विश्वास जागिसकेको थियो।

यसरी आफ्नो असान्दर्भिक र विसंगत अस्तित्वको चिन्तनले गाँजिरहँदा अचानक थाहा पाएँ, गुप्तवासमा सुरक्षित रहेका बहुसंख्यकले गर्न चाहेका विषयहरूभित्र आफू पनि समाहित हुन सकिने रहेछ। ममात्र प्वाँख-पतिंगर वा ग्रेगर साम्साको कल्पनामा हराएको रहेंछु। एउटा अर्को ब्रम्हाण्ड खुलिसको रहेछ। मसँग भौतिक वा सामाजिक दूरी राखे पनि आत्मीय रहन चाहने सयौँ मानिसहरू त्यो ब्रम्हाण्डमा सलबलाएका रहेछन्। मेरो प्रतिक्षा भइरहेको रहेछ। लतक्क गलिसकेको मेरो मनमा अस्तित्वबोधको झिल्को उठ्यो, ज्वाला भयो र अनि ताप र उज्यालो दुबै लिएर अरूसँगै होम्मियो। कक्षाकोठा र कार्यालयका चौघेराभित्र गरिरहेको काम हावाभरि फैलियो। म फेरि गुरु भएँ। मेरा शिष्य-शिष्याहरू कम्प्युटर र स्मार्टफोनका स्क्रिनभरि बिस्कुन लाग्न थाले। म पनि त्यहाँ छिरेँ। देखिएँ, हराएँ, देखिएँ।  डिग्री लिने आतुरीसँग सम्झौता नहुने देखियो। संसारलाई अनाहक अड्न दिन नचाहने मानिसहरू पो बढी रहेछन् यहाँ।  सूचना र शिक्षाको प्रवाहमा निरन्तरता दिने जोश झन् बढेर गयो। यो कसरी हुन्छ, यो सम्भव छैन भनेर टक्टक्याउनेहरूलाई नयाँ पुस्ताको जाँगरले टक्कर दियो। बाह्रवर्षे नोटबूक वा स्लाइड लिएर हरेक ब्याचलाई भुल्याएउन पाएको स्वर्णयुग सम्झेर नोस्टालजियामा बाँच्ने, वा वर्तमान र भविष्यको लागि तयार रहने? यिनै विकल्पहरूमा खेल्नु थियो। झल्यांस्स सम्झेँ, अहिलेकै विद्यार्थीले त म पुरातनवादी भएको गुनासो गरिरहेको छ भने,  मेरो भविष्यको विद्यार्थीले मजस्तो जागिरे मेन्टालिटीबाट दीक्षा लिने सोचेकै छैन।

यसरी, प्रविधिको उत्कर्षमा भूगोल हराउँछ भनेर पढेको-पढाएको सिद्धान्त मेरो लागि सत्य सावित भयो।

त्यही बीचमा मेरो देशको नक्शाले हराएको भूगोल खोजेर पश्चिमतिर एउटा धर्को थप्यो। मेरो भूगोल हराउने हाइपोथेसिस फेरि एकपटक गजमजियो। देशभित्र र बाहिर भूगोल थर्कियो। गैर-भौगोलिक ब्रम्हाण्डमा भूगोलवादको बाढी आयो। तर मैले त्यही ब्रम्हाण्डमा जमिरहेको मेरो गुरूकुलबाट निस्केर भाषणबाजी शुरू गरिनँ। म महाव्याधीको अगाडि जति निरीह थिएँ, भूगोलवादीहरूका अगाडि पनि उत्तिकै निरीह रहेँ, रहन चाहेँ। यसमा मलाई न प्रतिगमन न पछौटेपन महसुस भयो। भूगोलवादको मूलधारमा खरो उत्रिन नसकेकोमा ग्लानि पनि भएन। लाग्यो, शायद समयले मेरा चित्तमा नयाँ आवरण भिराइसके छ। त्यसलाई कुनै वाद वा सूचनाले छिचोलेर मेरो संवेगहरूको थैलो फुटाउन हम्मेसी नसक्ने भएछ।

हिजोआज म आफूलाई नयाँ लागेका विषयहरूमै घोत्लिरहेको छु। अहिले स्पर्श र गन्धमा आधारित अन्तरवैयक्तिक सम्बन्ध पुनः परिभाषित भएको विषयमा चिन्तन गर्दैछु। कक्षा कोठामा डुलीडुली विद्यार्थीहरूलाई हेरेर पढाएको अनुभवको धङधङे बाँकी नै छ। तर फेरि ती दिनहरू आउँछन् भनेर वैकल्पिक बाटाहरूप्रति उदासिन रहँदा रहँदै अनलाइन प्रविधिनै केही समयको लागि मूलधार पद्दति हो भनेर आत्मसात गर्नुपर्ने भएको छ। आँखा र कानको बढी प्रयोग भएकै छ। स्वाद त खासै पठनपाठनको अंश नै थिएन। यत्ति हो, व्यस्तताका बीच समय निकालेर साथीभाइसँग चिया-कफी पिउँदा बन्ने सामाजिक सम्बन्धको अवसर चाहिँ छुटेको छ। विश्वविद्यालय वरपर पाक्ने वहु-स्वादी खानेकुराहरू विद्यार्थीहरूले मिस गरेका होलान्। मैले पनि गरेको छु।  हातले वा शरिरले छुनुको सट्टा मनले मनलाई छुने कुरा बढी महत्वपूर्ण भएको छ।  साँच्चै भनौँ, ‘छुनु’ मा लगाइएको प्रतिवन्धका कारण छुने चाहना त झन् बढेको छ।

टाढा हुँदैमा मान्छे नजिक भएको आभाष हराउँदो रहेनछ।  आवाज, फोटो वा भिडियोमै सफा सुग्घर चिटिक्क परेर नगन्हाउने गरी बसेको हो भन्ने विश्वास दिलाउनु पर्ने दिन आएको छ।  साधारण अवश्थामा पनि छुनै घिन लाग्दो र सँगै बस्न दिगमिग लाग्ने हुलिया लिएर बसेको छनकमात्र पाउँदा पनि शिक्षकले अल्छी गरिरहेको भनेर विद्यार्थीले बुझ्दो रहेछ। भौतिक कक्षाकोठामा भन्दा बढी मेहेनत र होशियारी देखाउनु पर्ने भएकोले पेशाको माया रहुञ्जेल पेशाबाट असान्दर्भिक हुने स्थिति हटेको छ।

समयसँग नचली धरै रहेन। आफ्नो वरपर विभिन्न खालका हल्लीखल्ली शुरू भए पनि मलाई आफ्नो सुर छोड्नु छैन।  म दिनमा कति सोच्छु, पढ्छु र बोल्छु भन्ने कुराको हिसाब राखेको छैन। पहिलेभन्दा बढी गुञ्जिएको, सुनिएको र फैलिएको छु जस्तो लाग्छ। प्रविधिको कारण हरेक कक्षाको पुनर्मूल्याङकन आफैँ गर्न पाएको छु। एउटा किशोरमा भन्दा बढी आफूलाई अब्बल बनाउने जोश बढेको छ। केही नयाँ सिपहरू सिकेको छु, सिक्दैछु।

म प्रष्ट छु, अधिकांश समय अलप भएर मैले केही बिगारेको छैन। बेलायती उपन्यासकार जर्ज इलियटको एउटा उपन्यासमा पढेको थिएँ, ‘चुपचाप आफ्नो काम गरेर बस्ने मानिसहरूका कारण नै समाज शान्त र बस्न लायक हुन्छ’। यसको मतलब हरेक मानिस नेता, अभिनेता वा सार्वजनिक नायक हुने दौडधूपमा लाग्यो भने खेतीपाती, कलाकृति, शिक्षा-दीक्षा, धर्मकर्म, वालवालिकाको लालनपालन लगायतका आधारभूत कामहरू कसले गरि देला? राजनीति, नेतागिरी, ठेक्केदारीजस्ता कामहरू पनि गर्नुपर्छ, तर हरेक व्यक्ति त्यता लाग्यो भने हरेक टोल-छिमेक वा संस्था रडाकोको केन्द्र नबने के हुन्छ होला सम्झौँ त। लौ भनौँ रडाको पनि नहोला रे, तर शान्त र उत्पादनशील समाजका लागि गरिनु पर्ने नैसर्गिक कर्महरूको निरन्तरता होला त?

चुपचाप काम गरे पनि अबका दिन मजस्ताका लागि सजिला छैनन् भन्ने ठानेको छु। हामीकहाँ आउन तयार बसेको विद्यार्थी त जसोतसो आउला नै। तर अन्यत्र उड्ने सपना बोकेको विद्यार्थी पनि पखेटाहरू थचक्क पारेर हाम्रोतिर घस्रिन सक्छ। उसको छनोट गलत थिएन भन्ने स्थापित गर्नु हाम्रो लागि चुनौती हुनेछ।

हजारौँ किशोर-किशोरीहरूलाई पढाइसकेपछि, सयौँसँग नजिकबाट संगत गरेपछि, आफ्नै बच्चाहरू हुर्किरहेको देखेपछि, मैले बुझेको छु कि सरकार होस् वा समाज, संस्था होस् वा व्यक्ति, अहिलेको पुस्ताका लागि त्यो बिल्कुल नयाँ स्मार्टफोन वा ल्यापटपको अपरेटिङ्ग सिस्टमजस्तो अद्यावधिक हुनुपर्छ। सहज चलेन, ढिलो चल्यो वा अपडेट भएन भने आजको बच्चाले कि त त्यसलाई फर्म्याट गर्छ, कि फ्याक्ट्री सेटिङमा लैजान्छ।

यही कारण म यो गैर-भौगोलिक माहोलबाट बाहिर निस्किन सकिरहेको छैन। आफ्नो सहजको भूगोलमात्र समातेर बसेको भए साँच्चै नै अजंगको कीरो बनिसक्थेँ होला यी तीन महिनामा। ढिलै भए पनि समयसँग दौडिन कोशिश गर्ने बानी लाग्यो। भविष्यले कर्मशील हात र मनहरू मागिरहेको छ। आफू कति र कहिलेसम्म योग्य रहन सकिन्छ, हेर्दै जाउँला। तर आफूले गर्नुपर्ने र गर्नसक्ने योगदानमा चुक्नु हुँदैन भन्ने हेक्का राखेको छु।

अब तपाईँ  र म फर्म्याटिङसँगै उड्ने पुरानो एप्लिकेशन रहेर बस्ने कि फ्याक्ट्री सेटिङको आधारभूत सिस्टम भएर बस्ने? यही कुरा समयले हामीलाई सोधिरहेको छ। मेरो पत्रको सार यही हो, रघुजी। जवाफको प्रतिक्षामा रहनेछु।

[परिसम्वाद डट कम मा प्रकाशित]

Print Friendly, PDF & Email

By hkafle

I am a University teacher, with passion for literature and music.

Leave a Reply

Your email address will not be published.