दुईहजार सन्ताउन्न साल साउनको कुरा —

“हाउ मालदाइ, केयुमा भ्याकेन्सी खुल्या’ छ है। राम्रो संस्था भन्छन्,  कि ट्राइ मार्ने हो”? हातको पत्रिका देखाउँदै मेरो भूतपूर्व रूमपार्टनरले सुनायो।

रजिष्ट्रारको नाममा जारी एउटा सूचना थियो कान्तिपुरको कुनै एउटा पेजमा। फोन नम्बर पनि थियो।

उसबेलाको कुरा, मोबाइल सोबाइल हुने कुरै थिएन। खुर्र कीर्तिपुर नयाँबजारको पाँगा दोबाटो गएर एक फोन हानिहालेँ। नम्बर याद गरेको थिइनँ। एस. टी. डी. कल पो परेछ।

उताबाट आव्हान भयो, “धुलिखेलै आएर एप्लिकेशन् दिनुपर्छ”।

भोलिपल्ट बाघभैरब स्कूलमा प्रिन्सिपल लाक्पा सेर्पासँग सल्लाह र एकदिनको बिदा दुबै मागेँ। उनले भने, “जानोस्, यही हो मौका। केयुमा भइहाल्यो भने त भाग्य खुलीगो नि” भोजपुरे लवजमा उनले मेरो बाटो खोलिदिए।

अब चाहिँ लाग्न थाल्यो, ए गाँठे राम्रै ठाउँ पो हो कि क्या हो, केयु !

तैपनि एक्लै हिँड्न जाँगर चलेन। तीन वर्षअघि पनौतीको बाह्रवर्षे मेला आउँदा जाँदा बसको हुटमा चढेको सम्झेँ। बिना साथी त यत्रो बाटो के गइ भो र। श्रीमती भन्दै थिइन्, “यस्ता अल्छेले के जागिर खोजी खाने हो कोनि”। तैँ हिड्न भन्न पनि सकिनँ। लाक्पा गुरुले जोईपोइ दुबैलाई बिदा बक्सिने कुरै थिएन। साथी पोषराजलाई भनेँ, “धुलिखेल घुम्न जाने हो कान्छा?” उसले तुरुन्त “जाउँ न त  हउ, नयाँ ठाउँ” भन्यो।

भोलिपल्ट कीर्तिपुरबाट दुई लाठे खाना खाएर बाटो लाग्यौँ।

पुरानो बसपार्कबाट मिनिबस चढेर अढाइ घण्टा उँघेपछि अट्ठाईस किलो भन्ने  ठाउँमा खलाँसीले उतार्‍यो। कोटेश्‍वरसम्मको कोलाहालपछि देख्‍न पाइने सबै सौन्दर्य देख्‍न भ्याइएन, भाते निद्राको कारण। अचम्मको नाम ‘अट्ठाईस किलो’। गोडादुएक घरभन्दा अरू केही थिएन त्यहाँ। न त्यहाँ अट्ठाईस पुर्‍याउने केही थियो, न कुनै किलो। “के नाम हो यस्तो?” साथीलाई सोधेँ। “अरे यार, नाममेँ क्या रखा है, अपने काम पर चलो,” साथीले पनि झापाली हिन्दीमा हपार्‍यो।

त्यहाँबाट ८०० मीटर दक्षिणतिर केयु छ भनेर देखाउने एउटा बोर्ड थियो। सडक तरेर दक्षिण लागेपछि अचम्म पनि लाग्दै गयो। हामीभन्दा पछाडि अग्लो पहाड  थियो।  भिरालो पाखाभरि थमपिनले खिलेर राखेजस्ता पुराना काँचो इट्टाका घरहरू  छरिएका थिए। दाहिनेपट्टि माथि जङ्गलको भान गराउने बाक्ला रूखहरूभित्र लगभग  हराइसकेका झिंगटीका छानाहरू। तल सडक छेउ दुबैतिर बाक्लो भदौरे मकैबारी। देब्रेतिर परसम्म फैलिएको विशाल धानखेत। अलि पर कुहिरोभित्र हराइरहेको धुलिखेल बजार। अगाडि बढिरहँदा विश्‍वास नै लागेन कि त्यो बाटो कुनै  प्रसिद्ध विश्‍वविद्यालयको मूलढोकासम्म पुग्दैथियो।

केहीबेर हिँडेर एउटा घुम्ती दोबाटोमा पुगेपछि पो देखियो,  सिधै अगाडि  पश्‍चिम-दक्षिण दिशामा गर्वसाथ उभिएको अग्लो घर र त्यसपछाडि रूखहरूबीच देखिने अरू घरहरू। रा…म, रा…म भन्दै लगभग सुनसान बाटो अंग्रेजीमा काठमान्डु  युनिभर्सिटी लेखेको त्यो अग्लो राम्रो घरसम्म हिड्यौँ।  त्यहाँ पुग्नै  लाग्दा सानातिना गाउँले पुराना घरहरू फेला परे। मूल गेटको केही वर अर्को  घुम्तीदेखि लहरै बडेमानका बसहरू राखिएका थिए। सबैमा नेपाली वा अंग्रेजीमा विश्‍वविद्यालयको नाम र रूट नम्बर थियो। त्यो अग्लो घर पुग्नलाई एउटा  हिलाम्मे भिरालो बाटो छिचोल्नु पर्थ्यो।

माथिको रूप भने हामीले कल्पना नगरेको थियो।

ढुङ्गेसिँढी चढेर पुगिने त्यो ठूलो घर केयुको मुख्य प्रशासनिक भवन रहेछ। हामी त्यहाँ पुग्दा करीब तीन बजेको हुँदो हो। भवन वरपर, बाहिर-भित्र खासै  मान्छे देखिँदैनथे। साथी कान्छाले भन्यो, “हन, विद्यार्थी त देखिँदैनन् त”। “विद्यार्थी छोड्, पहिले निवेदन हाल्ने ठाउँ खोज्” मैले भनेँ। छिटो छिटो काम नगरे नगराए कीर्तिपुर फर्किँदा मध्यरात हुने पक्का थियो।

रिसेप्शनबाट सम्मुखको कोठा देखाइदिए, निवेदन बुझाउने। त्यहाँ गयौँ। ठूलो  कोठामा एउटामात्र टेबल राखेर एकजना नरम बोली भएका कर्मचारी बसेका रहेछन्। उनले निवेदन लिए र कागजपत्र चेकजाँच गर्नका लागि तेश्रो तल्लामा प्रशासकीय अधिकृतकोमा जान भने। तेश्रो तल्ला पुग्यौँ। ढोका ढोकामा हेर्‍यौँ। कतै कुनैमा  पनि नेम प्लेट थिएन। पूर्वपट्टिको एउटा ठूलो कोठा खुल्ला थियो। सरासर भित्र गयौँ। उत्तरपट्टिको कुनामा एउटा टेबल थियो। त्यही टेबलको एकछेउमा कम्प्युटर  थियो। कम्प्युटरमा घोरिँदै थिए एक भद्र कर्मचारी।

“प्रशासकीय अधिकृत यहाँ नै हुनुहुन्छ?” मैले परैबाट सोधेँ।

“म त होइन, तर के काम थियो होला?” उनले सोधे।

“टिचिङ्ग एसिष्‍टेण्‍टको लागि निवेदन हाल्न आको। यो डकुमेण्ट चेक गर्नुपर्छ रे”।

उनले कागजपत्र मागे, मैले दिएँ।  उनले मुख र हात दुबै खाली राखेनन्। बोल्दै, कागज हेर्दै, गर्नुपर्ने ठाउँमा सही गर्दैगए।

अनि हामी निस्किने बेलामा प्वाक्‍क भनिहाले, “आउन त आउनुभो, दु:ख चैँ पाउनुभो, तर खै जागिर पो होला कि नहोला”।

“किन र?  मैले विश्मय नमानी सोधेँ। यो एउटा प्रतिस्पर्धा न थियो। निवेदन हाल्दै जागिर पाइन्छ भनेर कसले निवेदन हालेको हुन्थ्यो र।

उनको भनाइ चैँ मलाई पटक्‍कै मन परेको थिएन।

“यहाँ कस्ता कस्ता फस्ट डिभिजन होल्डर हस्तीहरू आइसकेका छन्”।

चुरो यही रहेछ।

मलाई असह्य नहुने कुरै थिएन। टियुले उनन्साठी दसमलव दुई पाँचमा  झुण्ड्याइदिएको घाउ यो मान्छेले कोट्याइदिएको महसुस भयो। तेरो जागिर कल्लाई चाहिया छ र भनेर झगडा गरेर हिँडु कि जस्तो लाग्यो। तर कान्छाले चिमोट्यो।

सम्हालिएर भनेँ, “मेरो ब्याचका कोही यहाँ आका छैनन्, मलाई थाहा छ। मभन्दा अगाडिको फस्ट डिभिजन पनि कहाँ छ, मलाई थाहा छ। तपाईँले गफ दिनुभो  जस्तो लाग्यो”।

“पछि इन्टरभ्युमा बोलाइ हाल्लान् नि। त्यतिबेला थाहा भैहाल्छ नि, सर। नबोलाए झन प्रष्‍ट भैहाल्ने भो”। कर्मचारी ‍महोदयले कम्प्युटरतिर फर्किँदै  भने।

“इन्टरभ्युमा बोलाउने र इन्टरभ्यु लिने तपाईँले नै चैँ हैन रै छ, त्यसो भए”।

यो भन्दा बढी बोल्न वेकार ठानेर कागजपत्र उठाएर हिड्यौँ। सिँढीबाट तल झर्दै गर्दा कान्छालाई भनेँ, “म एप्लिकेशन हाल्दिनँ, यार। एक त यति टाढा। अनि यस्ता मान्छे”।

“हुन त हो माइला। तर यत्रो बाटो हिँडेर आएपछि आको काम पूरा गरेर गए राम्रो। बोलाए आउनू, इन्टरभ्यु दिनू। नबोलाए पनि दुई-चार पेज फोटोकपी खर्च  भाको त हो नि। फेरि यो एउटा मान्छेले भन्दैमा हुन्छ र? के था, जागिर खानै पो लेख्या छ कि! बोलाइ हाले पनि आउने नआउने निर्णय गर्ने आफूले हो क्यार। अनि तँलाई टाढा चैँ काँबाट भाको नि, मधुमल्ला कि कीर्तिपुर? कीर्तिपुरमा बाको घर छ र ! जागिर पाए यतै सरे भैगो नि”।

कान्छाको कुरो ठिकै लाग्यो।

कागजपत्र बुझाउँदा तलका नरम कर्मचारीसँग गुनासो पोखेँ, “तपाईँका हाकिम  हुन् कि को हुन् कुन्नि, इन्टरभ्यु नै नलिई जागिर हुँदैन भने त !”

उनले मलाई पुलुक्क हेरे, अनि मुस्काउँदै भने, “तपाईँ अर्कै ठाउँमा पुग्नु भएछ”।

निवेदन दर्ता गराएर हिड्यौँ। ठूलो घरबाट निस्किँदा भोकले ढल्नै लागेका थियौँ।

बाटोभरि केयु आउने नआउने तर्कना गर्दै अट्ठाईस किलो पुग्यौँ।  त्यहाँ  भएको एउटा टुकुरे होटलमा पसेर खाजा माग्यौँ। अण्डा चाउचाउ बन्छ भन्यो। बनाउन लगायौँ, हतार हतार खायौँ, गाडी चढेर बाटो लाग्यौँ।

कीर्तिपूर पुग्दा रातको आठ बजिसेकेको थियो। कोठा पुग्दा केयुमा जागिर खाने आशा, योजना र रहर पनि मरिसकेको अवस्था थियो।

साढे अठार वर्ष बितेछन्। उसबेला बाघ वा चितुवासँग जम्काभेट हुने चेतावनीहरू झलझली सम्झिँदै घाम झुल्किनु अघि र अस्ताउनु पछि त्यो बाटोबाट हिँड्नु ठूलै पराक्रम मानिथ्यो।

भैगो, कसले पत्याओस् अहिले! त्यो दिन काभ्रे नफर्कने बाचा गरेर कीर्तिपुर फर्केको आफूले यही ठाउँमा कपाल फुलाइसकेँ। भरखर पूरा भएको कालोपत्रे सडक, सडकका दुईतिर उम्रेका भवनहरू र तीसँगै बढेको व्यापारिक चहलपहल, घरैघरले छोपेको धानखेत, यी सबै हेर्दा लाग्छ अब पुरानोमा अट्ठाईस किलो भन्ने नाममात्र बाँकी छ। शायद नयाँ नाममात्र जुर्न बाँकी छ।

(नेपालभूमी साप्ताहिक, ५ चैत्र २०७५)

 

Print Friendly, PDF & Email

By hkafle

I am a University teacher, with passion for literature and music.

5 thoughts on “खै, जागिर पो होला कि नहोला”
  1. सरको बाको घर कीर्तिपुरमा हुँदो हो त, सर कता हुनुहुनेथ्यो? ती कल्पना पनि पढ्न पाए हुने!

  2. मज्जाकाे स‌ंस्मरण! पढ्दा मन प्रफुल्ल !

Leave a Reply

Your email address will not be published. Required fields are marked *