बहत्तर सालको भुइँचालोले सहरप्रतिको मेरो आस्था डगमगायो। सहर पसेर गाउँ बँझ्याउनेहरू ज्यान जोगाउन गाउँ पसको बेला आफू पनि त्यही लहरमा थिएँ।  त्यही रनाहामा छपन्नसालमै छोडिसकेको गाउँमा छकट्ठा बारी किनेर फर्किएँ। पछि त्यहीँ अरू पाँचकट्ठा बारी एउटा सानो छाप्रोसहित फेला पर्‍यो, त्यो पनि थपेँ।

त्यो छाप्रोलाई अलिकति मर्मत गरेपछि चाडबाड र बिदामा गाउँ गएर केही दिन परिवार र आफन्तसँग आरामले बस्‍नका लागि मलाई पुग्यो। परिवार र बुबा आमाको चाहना पनि यही थियो। दाजुभाइ, दिदी र अधिकांश आफन्तलाई पनि ठिकै लाग्यो यो काम। अरूले के भन्लान् भन्नेतिर वास्ता नगरी आफ्नो निर्णय गर्ने मेरो बानी भएकाले दायाँबायाँ केही नहेरी घर बनाएर परिवारसँग बसेँ २०७४ को दशैँदेखि तिहारसम्म। त्यसपछि त्यो सानो घरले जग्गा र तुलफुल कुरेर बस्यो। केही समयपछि जग्गाको बिचबाट ठूलो बाटो बन्यो। बाटोले जग्गा र घरको मूल्य बढायो। मैले जग्गा किन्दै गर्दा जे कल्पेको थिएँ त्यही भयो।

हाम्रो पचहत्तर सालमै नयाँ घर बनाउने योजना थियो। तर असोजमा आमा बित्नुभयो र योजना एकवर्षलाई स्थगित भयो। त्यसपछि साँहिलो भाइको परिवारलाई एकवर्ष त्यो घरमा रहन दिइयो। यसबीच स्थायी घर गाउँमा बनाउने कि धुलिखेलमा भन्ने कुरा परिवारमा छलफल भइरहेको थियो। गाउँमा बस्ने छाप्रो छँदैछ, धुलिखेलमै बनाउनु पर्छ भन्ने तर्क हावी हुँदा नहुँदै विश्वविद्यालयमा आन्दोलन शुरू भयो। विश्वविद्यालय लामो समय बन्द भयो। विविध कारणले मलाई एक प्रकारको वितृष्णा नै भयो। मेरो वितृष्णाको असर परिवारमा पर्‍यो। हामीले अब जागिर खाउञ्जेलमात्र धुलिखेल बस्ने निर्णय गर्‍यौँ। श्रीमतीले नयाँ घरमा बसी घरजग्गा सम्हाल्दै कान्छो छोरासँग बस्ने  निधो गरिन्। म जेठोलाई पढाउँदै जागिरमा रहने भएँ।

नयाँ घरको शिलान्यास

मैले छाप्रो बनाएको बेला अलि-अलि बुज्रुग र शिक्षित ठानिने शुभचिन्तकहरूबीच बढी नै चर्चा पायो मेरो कामले। कसैका लागि यो एन्टिकरेन्ट भयो। कसैका लागि बच्चाविरोधी। भन्न नडराउनेहरूले दिमाग खुस्केको पनि भने। अहिले पनि भन्दैछन्। कसैले डाक्टर भइसकेको मान्छे गाउँ पसेको, आफ्नो हैसियतलाई नसुहाउने पाखे घर बनाएको भने।  तर यस्ता कुनै प्रश्‍न र टिप्पणीहरूले मलाई छोएनन्। प्रत्येक प्रश्‍नको सामान्य उत्तर थियो – मुस्कुराहट। उत्तरमा शब्द खर्चिनु जरूरी  थिएन। यति सानो विषयले पनि तरंग ल्याउँछ भने ठूलो विषयले के गर्ला। मैले साँच्चै जागिर छोडेर खेतीपातीमा लागेँ भने दुनियाँले के सोच्ला। यी सब तपसिलका कुरा हुन्।

म त बरू उहिल्यै सहरबाट गाउँ छिरेको थिएँ।  कीर्तिपुरबाट बनेपा आउँदा बनेपा लगभग गाउँजस्तै थियो। भौतिक संरचनाहरू सहरियाजस्ता हुन-हुन खोज्दै थिए, तर समाजको समग्र सोच काठमाडौँ सहरको भन्दा अलग थियो। बनेपा छोडेर अहिलेसम्म बसोबास गरिरहेको धुलिखेलको भ्याण्डोल वा नजिकको बखुण्डोल त झन् खाटी गाउँ थियो र अहिलेसम्म उस्तै-उस्तै छ । धुलिखेल पनि धेरै ठूलो सहर बनिसकेको छैन।  

सहर बस्नु र सुविधासम्पन्न ठाउँमा बस्नु फरक कुरा हुन्।  म सुविधासम्पन्न ठाउँमा बसेको छु। मैले पढेको र टाढाबाट देखेको छु कि सहर बसेर मानवीय पहिचान कायम राख्‍न सकिन्न।  अनि त्यो बिनाको छट्पटीमा मचाहिँ बाँच्‍न सक्दिनँ। सामाजिक सम्बन्ध बिनाको जीवन नै यान्त्रिक बन्दछ। मैले यस्तो यान्त्रिक जीवन भोगेको छैन।  त्यही कारण मलाई गाउँको मोह बढी छ। गाउँ फर्किने योजनामा सहजता बढी महसुस हुन्छ।  धुलिखेलको पाँच-आने टुक्रामा इट्टा थुपारिहाल्ने जाँगर आएको छैन।  दुइतलाको जोरजाममा स्रोत र शक्ति खर्च गरेँ भने मैले बनाएका आधा दर्जन सुन्दर योजनाहरूमा तुषारापात हुन्छ। अहिलेसम्म यही सोचिरहेको छु।

पछि छोरा हुर्केपछि हेर्लास्,  सहरमा घर नबनाई सुख पाउँछस्? यस्तो पनि सुन्दैछु। गाउँ पस्दा सहरको बाटो बन्द हुन्छ र? म सहर बसेर गाउँ माया नमार्नेले गाउँ बसेर सहर माया मारूँला? यति हो म आफ्ना लागि अहिले अमेरिका पलायन हुनुभन्दा गाउँपस्नु ठिक, काठमाडौँ भन्दा झनै ठिक। मिक्लाजुङको कालीदह जानु भनेको धुलिखेल छोड्नु होइन। सानै हुन् तर विकल्पहरू बनाउनु पर्छ। अपठ्यारो होस् तर बाटो त चिन्नु पर्छ। यही हो मेरो आदर्श, यदि यसलाई आदर्श भन्न मिल्छ भने।

एउटामात्र गन्तब्य ताक्नु भनेको मानिस आफू सर्वथा अमर, र सदैव सफल भइरहन्छ भन्ने गलत सोचबाट प्रभावित रहनु हो। एउटामात्र गन्तब्यमा परिवारलाई डोहोर्‍याइरहनु भनेको पनि अन्यायपूर्ण अदूरदर्शिता हो। भाग्यको वा भनौँ सपनाको असीमित समुद्रमा सीमित खाजा सामलसहित सानो डुङ्गामा परिवार लिएर यात्रामा निस्केको बेला डुङ्गा बिचैमा चिप्लियो भने? म त त्यस्तो यात्रा गर्दा पनि गर्दिनँ।  विकल्पहीन साँघुरो घेरामा आफ्ना प्यारा सन्तान र श्रीमतीलाई राख्दा पनि राख्तिनँ।

मैले दु:ख पाएँ, मेरा सन्तानले दु:ख गर्नु नपरोस्। मैले संघर्ष गरेँ, तर मेरा छोराछोरीले गर्नु नपरोस्। यो मेरो विचार होइन। म यस्तो सोचको विरोधी हुँ। म त भन्छु, प्रत्येक पुस्ताले आ-आफ्नो दु:ख र संघर्षको अंश लिनुपर्छ। लिन पाउनु पर्छ। नत्र समाजमा प्रगति हुँदैन। म सन्तानलाई सुख दिन बाँचेको होइन। सन्तानले लडीलडी खाउन् भनेर केही जोरजाम पनि गर्दिनँ। म मेरो सन्तुष्टिको लागि काम गर्छु। सन्तानलाई दु:ख र संघर्ष गर्दा प्रगति गर्ने विकल्प देखाउनु वा दिन सक्नु मेरो सफलता हो, अनि सन्तुष्टि पनि। मलाई उनीहरूको शरणमा बाँच्‍ने रहर पनि छैन, योजना पनि छैन। मलाई परम्पराको नाममा आत्मसमर्पण गर्नुपर्ने वाध्यता मन पर्दैन। मेरो बुबाले जानेर वा नजानी लामो समयसम्म हामी चार दाजुभाइलाई जग्गा छुट्याइदिनु भएन। यो स्वाभाविक थियो। मेरो आफ्नै थातबास छ भनेर उहाँले लिने सन्तुष्‍टिले उहाँलाई आत्मसम्मान र आत्मविश्वास दियो। म अझै मेरै खाएर बसेको छु भन्ने विश्वासले मानिसलाई बाँच्ने आत्मबल दिन्छ। म त्यही आत्मबल कायम राखी बाँच्‍न चाहन्छु।

मैले त प्राज्ञिक र गुणात्मक विकल्पहरूका साथै भौतिक, भौगोलिक विकल्प पनि दिएको हुँ। मेरो परिवार अहिलेका हरेक विकल्पहरूमा मबिना नै टिक्न सक्छ।

आशावादी हुनु मेरो अधिकार हो। देशमा विकास भएन, युवाहरू पलायन भए, राजनीति सुध्रिएन, गाउँघर झन् झन् पछि परे। यी त हामी सबैले सुनिरहेका गुनासाहरू हुन्। तर म गाउँ छिर्दा पहिलाको भन्दा कता हो कता फरक पाउँछु। पलायन भएर बाँकी रहेका, वा पलायन भएकाहरूको सानोतिनो योगदान, तंग्रिदै गरेको मात्र भए पनि सुशासनको सीमित उपस्थितिले मैले छोड्दाको भन्दा धेरै सुविधासम्पन्न छ गाउँ।  आफ्नो जन्मथलोलाई चटक्कै माया मार्नुभन्दा त अरूले खडा गरेको सुविधाको केही अंश भोग्न त्यही ठाउँमा पुग्नु गल्ति हुँदैन। वेपत्ता हुनुभन्दा उपस्थिति जनाउनु, सञ्‍चार सम्पर्कमा रहनु राम्रो। देश विदेशका जान-अन्जान मानिसहरूसँग प्राज्ञिक सञ्‍जालमा रही उनीहरूको समेत फाइदाका कामहरू गर्न सक्दा आफ्ना इष्टमित्र र आफन्तहरूसँग कसरी सकिन्नँ?

बन्दै गरेको मधुमल्ला-टाँडी सडक

गाउँमै बसेर मलाई मूर्ख भन्नेहरूका लागि पनि राम्रै जवाफ थियो मसँग। म गाउँ फर्कने बौलाहा भए, छोड्दै नछोड्ने वा छोड्नै नसकेकाहरू चाहिँ के नि ?

सहर पसेर गाउँ बिर्सिन चाहनेहरूलाई वा गाउँ नदेखेका आलोचकहरूलाई भनिरहेको छु – तिमीलाई खुल्ला आकाशको महत्व के थाहा? दुईआने महलमा वहनेभन्दा बाह्रकट्ठा बारीभित्रको दुईकोठे छाप्रोमा वहने हावा कति स्वच्छ छ !

नआउनु आएपछि बाटोको छेउमा व्यापार पनि हुने घडेरी नै लिएको भए हुने थियो नि भन्नेहरूलाई बारम्बार भनेको छु – घडेरीका लागि गाउँ छिरेको होइन, घरका लागि हो !

Print Friendly, PDF & Email

By hkafle

I am a University teacher, with passion for literature and music.

Leave a Reply

Your email address will not be published.