सामान्यतया: कसैको बारेमा लेख्दा वा बोल्दा आफूले राम्रोसँग चिनिसकेको मानिस नै छानिन्छ । मचाहिँ अलिकति अलग परिस्थितिमा छु । म यहाँ आफूले गहिरो संगत गरेर चिनेको भन्दा मलाई चिन्न र बुझ्न खोजिरहेको व्यक्तिको बारेमा लेख्दैछु ।
यो पुस्तकको मूलपात्र डा. इन्दुल केसीसँग लामो संगत भएको भए मलाई उहाँको बारेमा लेख्न केही दुविधा हुनेथियो होला । उहाँका नराम्रा पक्षहरू जानीजानी लुकाएर सकारात्मक पक्षमात्र उजागर गर्ने अनि प्रशंसाको ओइरोमात्र लगाउने मानसिक दवाव हुनेथियो होला । तर मलाई उहाँसँग खुलेर संगत गरिनसकेको गतिलो सुविधा छ । यही सुविधाका कारण मैले केही लेखिदिने अनुरोध स्वीकार गरेको हुँ । ममा केही कुरा लुकाउने दवाव छैन । बरू लेख्ने विषयको अभाव छ, तर नजानेर जानेको नाटक गर्ने वाध्यता छैन ।
म आफूले संगत नगरेको मानिसको बारेमा अरूबाट सुनेकै आधारमा कुनै ठोस अभिमत बनाउँदिनँ । मसँग संगत नगरेकाले सुनेका आधारमा मेरो बदख्वाइँ गरेको भए मेरो लागि त्यो पनि गलत हो । कोही मानिसको आलोचना त उसलाई राम्ररी चिनिसकेपछि गर्नुपर्छ । सकेसम्म प्रशंसा र आलोचना दुबै गहिरो संगत गरेपछिमात्र गरे उत्तम हुन्छ ।
अनि, मलाई नै बुझ्न चाहने मानिसको बारेमा लेख्दा पनि म सन्तुलित हुनुपर्छ । किन डा. केसीले मसँग संगत गर्न चाहनुहुन्छ? किन उहाँ आफ्नो बारेको कृतिमा मेरो लेखलाई स्थान दिन चाहनुहुन्छ? म विश्वस्त छु, उहाँले प्रशंसाको फेहरिस्त लेखियोस् भन्ने आशा गर्नुभएको छैन । मसँग अनुरोध गर्दा नै भन्नुभएको छ, ‘गाली लेखे पनि लेख्नुस्, तर लेख्न चाहिँ लेख्नुस्’ । मैले पाएको सुविधा यही हो – स्वतन्त्र अभिव्यक्ति । त्यसैले मलाई लेख्न मिल्ने जे लेखे पनि स्वतन्त्रता छ ।
म उहाँले मलाई लेखाउनु पर्ने कारणको अनुमानमात्र गर्न सक्छु । पहिलो, हामी दुबै जना साहित्यमा रूची राख्छौँ । मेरो बुझाइमा एउटा कविको अर्को कविसँगको सम्बन्ध खैनी खानेहरूबीचको सम्बन्ध जस्तै हुन्छ । जसरी भिडभाडमा एउटाले खैनी निकाल्यो भने अपरिचित अम्मली पनि वर्षौँदेखि चिनेको साथी जस्तो गरी हात थाप्न आउँछ नि, त्यसरी नै हामी दुबै जना पनि नजिकिएका हौँला । दोश्रो, हामी दुबै जना शब्दयात्रा प्रकाशनका हितैषीहरू हौं । अझ भनौँ शब्दयात्रा समुदायका अप्रत्यक्ष सहयात्रीहरू हौं । हामी बढी नजिकिने क्रममा हुनु यही सहयात्राको कारणले हो । अनि तेश्रो कारण, हामी दुबै आफू र आफू बाँच्ने समाजको बारेमा खुलमखुल्ला बोल्न सक्ने क्षमता राख्ने मान्छे हौं । मैले पनि पहिलो भेटको त्यही खुलापनका कारण डा. केसीलाई मन पराएको हुँ ।
म यत्तिचाहिँ भन्न सक्छु, डा. केसी धेरै सिद्धहस्त व्यक्तिहरूले मानेको एक अग्रज हुनुहुन्छ । सामान्य मानिसका असामान्य गुणहरू उहाँसँग छन् । असामान्य मानिसका सामान्य गुणहरू पनि उहाँसँग छन् । मानव निहीत गुण-दोषहरूको संग्रह हो उहाँ, यसमा शंका छैन । मैले माथि भनेजस्तै उहाँलाई बढी नचिनेको हुनाले गुण-दोषहरूको बारेमा बढी लेख्ने सामर्थ्य छैन मसँग । तर मैले चिन्न पाएको, उहाँसंग संगत सुरू भएको प्रसंगचाहिँ लेख्नै पर्छ ।
म सार्वजनिक कार्यक्रमहरूमा कमै उपश्थित हुन रुचाउने मानिस हुँ । उपश्थित नै भइहाले पनि दर्शक दीर्घामा रहन सजिलो लाग्छ । आजकलको चलन अनुसार उपश्थिति जनाएर निस्किन पाइने, वा विना कुनै भूमिका थकाइ मार्न र सुस्ताउन पाउने अवसर पनि हो दर्शक हुनु । अनि दर्शकमात्र हुनुपर्ने कार्यक्रममा कुनै निहुँ निकालेर नगइदिए पनि हुन्छ । म पनि त्यस्तो अवसरमा रमाउने सामान्य नागरिक हुँ ।
मलाई यदाकदा कसैले मञ्चासिन गराएर ठूलो मान्छेजस्तो पनि बनाइदिहाल्छ । यस्तो मौकामा, समकक्षीहरूसँग नारिनुभन्दा आफूभन्दा जेष्ठ व्यक्तिहरूसँग मञ्चमा बस्न रमाइलो लाग्छ । म यस यसप्रकारको वाध्यतालाई दुर्लभ अवसरको रूपमा लिने गर्छु । एउटा शिक्षकको रूपमा आफूभन्दा कम उमेरका युवाहरूको संगतले समय कट्छ । म जस्ता अधबैँसेहरूको आफ्ना उमेरका सँग त जिन्दगी नै चलेको हुन्छ । उनीहरूसँगको अभेद्य आग्रह-पूर्वाग्रहको नियमित आदानप्रदानले जीवन लगभग खल्लिएको हुन्छ । अग्रजहरूसँग भेट हुनु चाहिँ विशेष हुन्छ । उनीहरूको सोच लगभग स्पष्ट हुन्छ, साना नानीहरूको जस्तो ।
यसर्थ, शब्दयात्रा प्रकाशनले विशेष भूमिकाका लागि निम्तो दिँदा म मिलेसम्म जाने गर्छु । अझ बूढापाकाहरूको जमघट हुने थाहा पाएँ भने म मिलाएरै जाने गर्छु ।
२०७५ भदौ अन्तिमतिर आयोजित कर्मयोद्धासँग शब्द संवाद’ कार्यक्रममा सभापतित्वको लागि निम्ता आयो । कार्यक्रमको बक्ता हुनुहुन्थ्यो डा. इन्दुल केसी । मैले कहिल्यै नभेटेको रहेँछु । माफ गर्नुहोला, नाम पनि नसुनेको रहेँछु । मैले उहाँको विवरण लिएरमात्र कार्यक्रममा जाने निधो गरिनँ । मलाई विश्वास थियो, कार्यक्रममा आउने कर्मयोद्धा पक्कै पनि मैलेभन्दा बढी कर्म गरिसक्नु भएको पाको व्यक्ति हुनुहुन्छ। उहाँका जति रहस्यहरू मेरा लागि खुल्नु थिए, उहाँको प्रस्तुति मै खुलुन् भनेर धैर्य भएर बसेँ ।
प्रशासनिक जीवन, प्राकृतिक चिकित्सा, योग साधना, साहित्य रचना लगायत जीवनका अनेक आयामहरू वहाँले खुलस्त पार्दै लग्नु भयो । बानी र वाणी दुबैमा स्वाभाविक सरलता र अभिमान शून्यता झल्किने व्यक्तित्वले मलाई स्वत: प्रभावित पार्यो । अधिकांश वक्ताहरू आफूले घुमेका देश र गरेका कामको फेहरिस्त सुनाएर श्रोताको समय र जाँगर खाइदिने गर्छन् । डा. केसी भने आफ्नो अनुभवको ऐनामा श्रोतालाई आफ्नै जीवन खोज्न प्रेरित गर्दै हुनुहुन्थ्यो ।
अन्त्यमा मैले पनि बोल्नु थियो, मूल बक्ताको भनाइहरूको सार खिच्दै । कक्षाकोठामा घन्टौँ बोल्न सक्ने भए पनि सार्वजनिक कार्यक्रमहरूमा खासै खुल्न सक्तिनँ म । तर डा. केसीको सरल प्रस्तुतिले सरलता रुचाउने मलाई ठूलो सुविधा मिल्यो । मैले कनीकुथी केही बोल्नु थिएन । विश्वविद्यालयको सह-प्राध्यापकमा निहित वौद्धिकता ओकल्नु थिएन । म त बस्ता-बस्तै एउटा विद्यार्थीजस्तो भइसकेको थिएँ । उहाँको जीवनको पाठशालाबाट छोटो समयमा जे सिकेँ त्यही बोलिदिएँ । खुसीसाथ, गर्वसाथ ।
डा. केसीको प्रस्तुतिबाट प्रेरित मेरो मन्तब्यको सार यस्तो थियो ।
शरीर भनेको दृष्टिकोण हो । दृष्टिकोणलाई बदल्न वा नियन्त्रण गर्न सकिन्छ । योगसाधना त्यही दृष्टिकोण बदल्ने उपाय हो । स्वास्थ्य चेतनाको एउटा रूप हो । शरीरका भौतिक पक्षहरूबाहेक, आधुनिकता, महत्वाकांक्षा र असीमित रहरहरूको अचाक्लीबाट बच्ने कला नै स्वास्थ्य हो । यही कलाको अभ्यासले स्वास्थ्यमा क्षय हुँदैन वा बिग्रिँदै गएको स्वास्थ्यको सुधार हुन्छ । संगीत र साहित्य साधना पनि यस्तै कला वा साधना समूहमा पर्छन् ।
मानिसको शरीरको दुष्मन शरीर नै हो । उसको मुखमा रहेको स्वादमोह शारीरिक समस्याहरूको जड हो । जीवन शरीर र स्वादबीचको द्वन्द्वमा फसेको हुन्छ । तर स्वादाशक्तिले जीवन नै निरस बन्दै जान्छ । जीवनको विरोधाभाष यही हो। हामी आधा उमेर शरीरका सम्भावनाहरू खोज्न बिताउँदारहेछौँ, अनि आधा शरीरका सीमाहरू बुझ्न। आजको मानिसले लिनुपर्ने मूल शिक्षा भनेको आफ्नो शरीर र शरीरका शत्रुहरूको पहिचानलाई चाहिने चेतना नै हो । यस्तो चेतना शत्रुहरूसँग लड्ने शक्तिमात्र होइन, जोगिने प्रतिबद्धता पनि हो।
डा. केसीको प्रस्तुतिको अर्को हप्ता शब्दसंवादमा मेरो प्रस्तुति थियो । त्यो २०७५ असोज ५ गतेको कार्यक्रम म जीवनमा भुल्न सक्तिनँ । आफ्नो विगत, वर्तमान, परिवारका र खासगरी आमा-बुबाका बारेमा मैले बोलेको थिएँ । त्यसको भोलिपल्टै आमाको स्वर्गवास भयो । मैले जीवनमा पहिलोपल्ट सार्वजनिक ठाउँमा बुबा-आमाको बारेमा खुलेर बोलेको थिएँ । त्यो प्रस्तुति मोबाइल फोनमा रेकर्ड गरेर राखेको थिएँ, लगत्तैको दशैँमा आमालाई सुनाउन । सुनाउन पाइनँ । पछि प्राविधिक त्रुटीले फोनबाट त्यो रेकर्ड पनि मेटियो । शायद लेखान्त यही थियो, आमाका बारेमा बोलेको कुरा आमाको अवसानसँगै हरायो ।
असोज ५ गतेको कार्यक्रममा डा. केसी पनि उपस्थित हुनुहुन्थ्यो । मेरो प्रस्तुतिमा उहाँका केही टिप्पणीहरू थिए, जसको सार पनि मैले भुलिसकेँ किनभने त्यसपछिका केही हप्ता मेरा लागि दुखद रहे । तर, मैले महसुस गरेको थिएँ कि कम्तीमा दुई विधामा उहाँसँग नजिक थिएँ – संगीत र साहित्य । उहाँ र काभ्रेली अग्रज गायक मच्छेश्वर सापकोटाज्यूको अनुरोधमा मैले नारायण गोपालको एउटा गीत पनि प्रस्तुत गरेको थिएँ । उहाँहरुले मन पराउनु भएको थियो ।
यिनै दुईटा भेट र प्रस्तुतिहरूपछि म डा. केसीको नजरमा परेँ होला र उहाँले मेरो खोजी गर्न थाल्नुभयो । उहाँले देखाउनु भएको आत्मीयता मेरो लागि प्रेरणादायी छ । तर मलाई लाग्छ म अझै उहाँसँग खुलेको छैन, वा खुल्न चाहेको छैन । कुनै दम्भ वा अनिच्छाले यो भएको होइन । मेरो बानी नै यस्तै हो । म आफ्नो काममा हराइहाल्छु । मलाई दुनियाँले नखोजे पनि हुन्छ भनेर एकोहोरिने लत मेरो गएको छैन, आधा जीवन बितिसक्दा पनि ।
तर मैले गुणी मानिसहरूलाई बिर्सेको हुन्नँ । म सम्बन्धलाई पानीभित्रको पदचाप जस्तो राख्न पनि चाहन्नँ । डा. केसी यसरी मैले कहिल्यै बिर्सिन नचाहेको अग्रज हुनुहुन्छ । वहाँको सरलता र मित्रवत स्वाभावको सम्मानमा यत्ति लेखेको छु । अरूले वहाँको बारेमा खुलाएका पक्षहरूको आधारमा म उहाँको बारेमा आफ्नो राय बनाउँदिनँ । मैले उहाँप्रति बनाएको अर्गानिक विश्वासका आधारमा भन्दछु, वहाँको सिर्जनशीलता र जाँगरमा आँच नआओस् ।
[ साभार: डा. इन्दुल केसी, व्यक्तित्व र कृतित्वको तेश्रो आयाम, काभ्रे, २०७५ ]