किन हो किन म बढी अप्टिमिस्टिक छु
भविष्य पर्खेर बसेको यो देशप्रति
त्यही पर्खाइमा समाहित यी देशवासीप्रति

यदि रोग हो भने अप्टिमिज्म
जुन ठाउँमा छ उपचार यसको
त्यहीँ पठाइदेऊ यो रोगीलाई ।

प्रिय रघुजी,

हिजोआज यो सपनाको सहरबाट टाढा विपनाका गाउँबस्तीहरू घुम्न जाँदा मलाई यस्तै कविताहरू फुर्छन्।  मन र हात सकसकाएर आउँछन्,  अनि लेखिहाल्छु।  कसैलाई मन परोस् कि नपरोस् सार्वजनिक गरिहाल्छु। मन नपरेको भए पनि गलत लेखिस् कसैले भनेको छैन। शायद मेरा कवितामा अभिव्यक्त वास्तविकता र सम्भावना दुबैलाई गलत प्रमाणित गर्ने समय र साहस मेरा साथीभाइहरूसँग छैन। देश र यसको भविष्यको बारेमा तिता-मिठा कुरा गर्दा कसैको चित्त दुखे दुखोस् भन्ने पनि लाग्छ। किन देशको र देशमै रहन चाहनेका लागि केही गरौं भन्नेको चाहिं चित्त हुँदैन र? म प्रष्ट छु, घोचाई नपुगी सोचाई नबदलिने हाम्रो जाती र समाजमा केही छुच्चा कुरा नगरी हुँदै हुँदैन।

हामीबीच पत्राचार नभएको धेरै भयो हगि?  कोभिड १९ को संकटले जुराएको वार्तालाप संकट टरेपछि संकटमा परेको महसुस भएर यो पत्र लेख्ने जमर्को गरेको छु। हिजोआज म खूब डुलुवा भएको छु  रे । यसै भन्छन् मेरो दिनचर्याको चियो चर्चो गर्न मन पराउनेहरू। ठीकै हो, म काम गर्ने विश्वविद्यालयको सामुदायिक संलग्नता कार्यक्रम अन्तर्गतका भ्रमणहरूमा देशका विभिन्न ठाउँका शिक्षक र विद्यालयका अगुवाहरूसँग साक्षात्कार गर्ने मौका मिलिरहेको छ। यस्ता भ्रमणका बेला यदा-कदा म शिक्षक तालीमका सत्रहरू पनि चलाउन पाउँछु।  आफू शिक्षक भएकै कारणले मात्र नभएर प्रतिवद्ध शिक्षकहरूको संख्या कायम राख्ने साथै बढाउनुपर्ने आवश्यकताको हुट्हुटीले पनि म मेरा हरेक तालीम तथा अभिमुखीकरणका सत्रहरूमा शिक्षकहरूलाई एक मौलिक खालको प्रेरणा दिने कोशिश गर्ने गर्छु।

रघुजी, अन्यत्र शिक्षक बन्न नचाहने ब्यक्तिले प्रष्टरूपले भनेको सुनेको छु “म शिक्षक बन्न सक्तिनँ, म शिक्षक बन्न जन्मेको होइन। मजस्तो विशेष क्षमता नभएको मानिस शिक्षक बन्नु हुँदैन। बिना अध्ययन, तालीम, मिहेनत र धैर्यता शिक्षक बनिँदैन”। यता भने हामीले सुन्ने गरेको यस्तो छ, “म शिक्षक बन्दिनँ। म शिक्षक बन्न जन्मेको होइन। म जस्तो विशेष क्षमता भएको मानिस शिक्षक बन्ने होइन”।  म विद्यालयका अगुवाहरूसँग पनि भनिरहन्छु, राम्रोसँग तयार नगरी कसैलाई कक्षाकोठामा नपठाइदिनुस्। बन्न लागेको शिक्षक लघुताभाषको कारण वा अयोग्य ठहरिने डरले कक्षाकोठाबाट सदाका लागि बाहिरिन सक्छ।

वास्तवमा ग्रामिण भेगका विद्यालय र त्यहाँका विद्यार्थी देख्दा मन कटक्क खान्छ। केही पढ्न लेख्न नजाने पनि कक्षा जानै पर्ने वाध्यता पनि देखेँ। काम लाग्ने ज्ञान वा जीवन चलाउने सिप नसिकी खुला संसारमा उछिट्टिएका किशोर-किशोरीले कसको र कस्तो मार्गनिर्देशनमा भविष्यको बाटो तय गर्नेहोला? बाटो देखाउने शिक्षक र पाठशालाले त देखाउन सकेकै छैन भन्छन् जान्ने सुन्नेहरू।  उनीहरू नै भन्छन्, सरकारी संरक्षणमा लगानी भएका आधारमा यो देशमा आफ्नो कामलाई न्याय गरिदिने शिक्षक र शिक्षकको कामलाई सहज गरिदिने प्रशासकहरूमात्र जागरूक भए पनि धेरै राम्रो हुन्थ्यो।  यसो हेर्दा जानी जानी काम लाग्ने गरी शिक्षा नदिएर अर्काको कामदार उत्पादनमा मात्र हामी लागिरहेका छौं जस्तो लाग्छ।

शिक्षणमा तालीम लिएकाहरू राजनीति गर्न तम्सिने अनि राजनीतिमा तालीम पाएकाहरू शैक्षिक संस्थाहरूको उत्थानको जिम्मा लिने। कता कता नमिले जस्तो लागे पनि अधिकांश स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूमा विद्यालयहरूको स्तरोन्नतिको चिन्ता भएको पाएको छु। तर स्रोत र साधन जुटाउन सके पनि शैक्षिक सुधारमा आवश्यक सकारात्मक सोच, निस्वार्थ तत्परता र निशर्त सहभागीता कताबाट बटुल्ने हो भन्ने अलमल उनिहरूमा पनि देखिन्छ।  अधिकांश शिक्षक वा तिनका अगुवाहरू तिनै जनप्रतिनिधीका प्रचारक, समर्थक वा कट्टर विरोधी भएको परिस्थितिमा सुधारका कार्यक्रमहरू नै राजनीतिका द्योतकका रूपमा खजमजिएको स्थिति पनि छ।

हालसालै हेडटिचर, शिक्षक-अभिभावक संघ र व्यवस्थापन समितिका अगुवाहरूको एउटा अभिमुखीकरण कार्यक्रममा एक अगुवाले मत राखे, “विचरा शिक्षकहरू पनि कम मारमा छन् र। चार-चार महिनासम्म पसल-पसल चाहरेर उधारो खाएपछि बल्ल तलब आउँछ। उनीहरूको समस्या पनि बुझिदिनु पर्‍यो नि। यस्तो अभावमा कसरी विद्यार्थी पढाएर बस्न सक्छन्?” ती अगुवाको गुनासो उनका र उनीजस्ताका लागि तर्कसंगत नै थियो होला। तर मलाई अलिक चित्त बुझेन। मेरो बोल्ने पालोमा मैले भनें, “सार्वजनिक विद्यालयका शिक्षक साथीहरूको समस्यामा मलाई सहानुभूति छ। तर मचाहिं उहाँहरूले पढाउनु पर्ने नानी-बाबुहरूको तर्फबाट पनि सोच्ने गर्छु। शिक्षक र उनीहरूले जिम्मा लिएका बच्चाहरूमा तुलना गर्दा को बढी सम्पन्न होला?”

देश डुल्दा देखियो बरू धेरैतिर काम गरेर अन्त्यमा शिक्षण शुरू गरेकाहरूमा पेशाप्रति सद्भाव र समर्पण हुँदो रहेछ। यस्ता व्यक्तिहरूमा कर्मलाई माया गर्ने लत बसिसकेको हुँदो रहेछ। कतै काम नलागेर वा काम नपाएर शिक्षक बनेको हुँ भनेर स्वीकार्नेहरूको चाहिँ तरिका अर्कै हुने। कक्षाकोठा आंशिक बनाएर अरू नै एजेण्डामा पूर्णकालीन सहभागी भएपछि बालबच्चाको पढाइ कता पुग्ने हो! ‘काम गर्न जाने बाटोमा स्कूल पनि पर्छ, फुर्सद मिलाएर हाँजिर-साँजिर गरेर निस्किन्छु’ भन्ने दृष्टिकोणले यस्तो सेवामुखी जागिर खाएपछि सेवाले न्याय कसरी पाउँछ, सेवाग्राहीले त झन् के पाउँछ!

कतिपय मानिसहरू व्यक्तिको स्वतन्त्र इच्छामाथि धावा नबोल् भनेर मलाई हपार्छन्। तर मलाई लाग्छ, कुनै देशको नागरिक भएपछि, प्रत्यक्ष-परोक्ष देशको स्रोत-साधन र सेवाको उपभोग गरेपछि, म पूर्णत: स्वतन्त्र छु र मेरो इच्छा अनुसार देश, समाज र कानून चलिदिनुपर्छ भन्ने कुरा सम्भव छैन। यस्तो कतै सम्भव छैन। गाउँघरमा घुम्दा थाहा हुन्छ, यो देशले आफू उजाडिनै मिल्ने गरी धेरै नागरिकहरूलाई बसाइँ सारिसकेकोछ। कति उजाडिइसक्दा वा बाँझो वा खण्डहर भइसक्दा व्यक्तिगत स्वतन्त्रता हाँसिल हुने हो वा सुखी हुने इच्छा पूरा भइसक्ने हो।

मलाई घोक्रो सुकाएर, मन दुखाएर संसार बदल्नुचाहिँ छैन। आफ्नो सोचमा अडिग रहन चाहान्छु। यत्ति हो कसैको पलायनमा कुनै प्रकारको लगानी नगर्ने मेरो सोचको जगेर्ना गर्न सकूँ। पढ्दा गनगन गरेजस्तो लागे पनि म खासै चिन्तित भने छैन । मलाई लाग्छ यो देश एकदिन कम व्यक्तिवादी, कम महत्वाकांक्षी, बढी सहनशील र धैर्य, अनि बढी नै सेवाभाव भएका र सिमित स्रोत-साधनबाट जिन्दगी चलाउन सक्नेहरूमात्र बस्ने देश बन्नेछ।

रघुजी, तपाईं हामीजस्ता उच्चशिक्षाका गन्तब्यहरूमा विद्यार्थी कुरेर बस्नेहरू विद्यार्थी खोज्दै गाउँसहरहरूमा नपुगी धरै छैन। विदेशी शैक्षिक संस्था र तिनका जागिरेहरूका होर्डिङ् बोर्ड र पर्चाहरूले तपाईं र मैले कुनै दिन आफ्नो भनेका टोल, बस्ती र चोकहरू भरिएका छन्। हामी ठूला सहरमा ठूला संस्थाहरू चलाउने सपना देखेर बसेका छौँ। शैशवकालदेखि नै सफल र अब्बल बन्ने मन्त्र सिकेर हुर्केको नयाँ पुस्ता तपाईं, मेरो र हाम्रा कक्षाकोठाहरूको अस्तित्व रहेको थाहै नपाई आफ्नो सपनाको मोल निर्धारण गर्न तिनै होर्डिङ्ग बोर्ड र पर्चावालहरूको सान्निध्यमा पुग्ने गर्छन्। हामी चूपचाप आफ्ना कक्षाकोठाहरू दिनानुदिन रित्तिंदै गएको हेर्न वाध्य छौँ।

काठमाडौँ बाहिर जाँदा ‘अब तिम्रा विश्वविद्यालय र कलेजहरूले पनि विद्यार्थी पाउन छोडे र गाउँ-गाउँ चाहार्न आउन थाल्यौ?’ भन्ने खालका तिखा प्रश्न र व्यंग्यहरूको सामना गर्ने गरेको छु। ‘अहेलेसम्म त्यस्तो भइहालेको त छैन। तर आफ्नै देशमा उच्च शिक्षाको अवसर दिनकै लागि नेपालीका छोराछोरीले गरेको लगानी, मेहेनत र आस्था खेर नजाओस् भन्ने चिन्ता चैं छ। सात समुद्रपारिबाट हाम्रा सन्तानका सपनाहरूको मोलमोलाइ गर्न यत्तिका धेरै मिहेनत र लगानी भइरहको छ। हामी आफ्नै देशको ठूलो सहरबाट आफ्नै धरोहरहरूको प्रतिनिधित्व गर्दै आउनु कुन अनौठो विषय भयो र?  हाम्रो माटोमा हामीले रोपेको बिरूवाको संरक्षणको वकालत गर्नु हाम्रो रहर हो, अधिकार र कर्तब्य पनि हो।  जब जरा कुपोषित र रोगी हुन्छ, बिरूवा पनि सुक्दै जान्छ। बिरूवा रोगिंदै जाँदा उपचार कुन विन्दुमा चाहिएको हो थाहा त पाउनै पर्छ नि।

रघुजी, अन्त्यमा यस पत्रमार्फत शिक्षण पेशामा लागेका साथीभाइहरूलाई पनि केही सन्देशहरू पस्कन चाहन्छु। शिक्षक साथीहरू, हाम्रो पुस्ता सायद रहर र इच्छाले शिक्षण पेसामा आउनेहरूको अन्तिम पुस्ता त बनि नै सक्यो, तर शिक्षकहरूकै अन्तिम पुस्ता नबनोस्। आफ्ना नगण्य संख्याका सन्तानहरूलाई त यो पेशामा संलग्न गर्न सम्भव नहोला, तर तपाईंले पढाउँदै गरेका वा पढाइसकेका हजारौँ बालबालिका वा किशोर-किशोरीहरूमाझबाट एउटा न एउटा शिक्षक हुर्काउने प्रयत्न गरिदिनुहोस्। हाम्रो काम अन्य पेशा र मुलुकका लागिमात्र जनशक्ति तयार गर्ने होइन, आफ्नै पेशाको बिँडो थाम्ने व्यक्ति तयार गर्ने पनि हो।

डाक्टरले डाक्टर तयार गर्छ। कमजोरीमा हपार्दै, सपार्दै पेशाको लागि तयार गर्छ। इन्जिनियरले इन्जिनयर तयार गर्छ। ड्राइभरले ड्राइभर तयार गर्छ। नेताले नेता तयार गर्छ। शिक्षकले शिक्षक किन तयार नगर्ने? साथीहरू, कुनै कारण बिचैमा यो पेशा छोड्नु नै भयो भने पनि पेशाप्रति वितृष्णा जगाउने काम गरेर वा नकारात्मक अभिव्यक्ति दिएर नहिँड्नु होला। यसो गर्दा यस पेशामा प्रवेश गर्न तयार नयाँ पुस्तामा गलत प्रभाव त पर्छ नै, माया गर्नेहरूमा नै नकारात्मक सोच विकास हुन सक्छ। तपाईं वा कोही व्यक्तिलाई मन नपर्दैमा वा नफाप्दैमा शिक्षणकर्म समग्रमा त्यज्य हुँदैन। वास्तवमा कुनै पेशाबाट विमुख हुनेहरू वा त्यसका लागि अयोग्य व्यक्तिले दिएको अभिव्यक्तिले समाजमा कुनै सेवामुखी पेशाप्रति वितृष्णाको वीजारोपण गरेको हुन्छ। यो अपराध तपाईंचाहिं नगर्नुहोला।

हिजोआज प्राय: सबैतिरका बालबच्चा वा किशोर-किशोरीहरूले आफ्नो भविष्य यो देशमा देखेका छैनन् भन्ने गुनासो सुनिन्छ। आफू त १२ पास गरेर उड्ने हो भन्ने सोचले घरपरिवार र समग्र समाजमा एक अनौठो तरंग ल्याएको महसुस गरेको छु। मलाई थाहा छैन यस्तो सोच विकास हुनुमा घर-परिवारकै कति भूमिका छ। मलाई यो पनि थाहा छैन यसमा शिक्षकहरूको भूमिका कति छ। तर मलाई थाहा छ, यस्तो भावना विकास नहोस् भन्नेमा चाहिं अभिभावक र शिक्षक दुबैको खासै भूमिका चाहिं छैन।

शिक्षक भएर गलत चेतना विकास गराउने अधिकार तपाईं र मलाई छैन। तपाईं देशभक्ति नसिकाउनुस्, ठिक छ। कसैलाई राष्ट्रवादी नबनाउनुस्, त्यो पनि ठिक छ। तर यहाँ तिमीहरूको भविष्य छैन भन्दै देशप्रति वितृष्णा जगाइदिएर परदेशप्रति तृष्णा बढाउने तत्वहरूसँग प्रत्यक्ष-अप्रत्यक्ष साझेदारी गर्ने अधिकार तपाईंलाई छैन। वास्तवमा, सार्वजनिक सेवामा रहेको वा सार्वजनिक जीवनमा प्रभाव पार्ने क्षमता भएको कुनै पनि नागरिकमा माटो विरुद्ध अभिमत बनाउँदै हिँड्ने छुट छैन।

रघुजी, मेरा यी विचारहरूसँग असहमत विचारहरू प्रक्षेपित होलान् जस्तो लाग्दैन। कथम् भइहाले यो प्रष्ट हुनेछ कि हाम्रो समाज मुलुक र समाजप्रतिको समर्पणप्रति पनि असहिष्णु बन्दैछ। यसले हामी शिक्षक र अध्येताहरूले आगामी दिनहरूमा लिनुपर्ने चेत र होशियारीको अलिकति दृष्टान्त दिनेछ।

तपाईंको जवाफको पर्खाइमा,

धन्यवाद!

[साभारः परिसम्वाद डट कम, १७ जुलाई २०२५]

By hkafle

I am a professor of English Studies. I have passion for literature and music.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Time limit exceeded. Please complete the captcha once again.